काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार सङ्घले देशमा गम्भीर अवस्था उत्पन्न भएको भन्दै त्यसको समाधानको लागि ठोस कदम उठाउन माग गरेको छ ।
अध्यक्ष ढुण्डिराज शर्माको हस्ताक्षरमा २०८० चैत १७ गते शनिबारका दिन प्रेसवक्तव्य जारी गर्दै यस्तो विष्लेषण अगाडि सारेको हो ।
प्रेसवक्तव्यमा गम्भीर आर्थिक अवस्थाका कारण उद्योग व्यवसायी टाट पल्टिँदै गएको त्यसक्रममा कैँयौ उद्योग–व्यवसायीले आत्महत्यासमेत गरेको भन्दै यस सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
गम्भीर आर्थिक अवस्थालाई समाधान गर्न तत्कालै ठोस कदम उठाउन माग गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार सङ्घको केही समयपहिले बसेको सचिवालयको बैठकले देशमा गम्भीर आर्थिक सङ्कट तथा त्यसको उद्योगी–व्यवसायीमाथि परेको समस्याबारे छलफल गरी निम्नअनुसार निष्कर्ष निकालेको छ ।
आज देशको अर्थतन्त्र इतिहासकै सबैभन्दा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । देशका कलकारखाना, पेसा–व्यवसाय सबै चौपट भएका छन । सरकारको विदेशी मालवस्तुलाई बेरोकटोक आयात गर्न दिने दब्बु नीतिले गर्दा विदेशी मालवस्तुसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा छन् भने व्यवसायीका पसल धमाधम बन्द हुँदै गएका छन । व्यवसायीहरू सटरभाडा, व्यवसाय सञ्चालन खर्च, घरखर्च धान्न नसकेर दिनको भोक न रातको निद्राको अवस्थामा पुगेका छन । ६० प्रतिशतभन्दा व्यवसायी डिप्रेसनमा गएको अवस्था छ भने आत्महत्याको शृङ्खलाहरू बढ्दै गएका छन । “तावाबाट उम्केको माछो भुङ्ग्रोमा” भने जस्तै सङ्कटमा छटपटाइरहेका व्यवसायीहरू राज्यका विभिन्न तहका सरकारले थोपरेको करले झनै थिचिएका छन्, मिचिएका छन् । व्यवसायीहरू सङ्कटमाथि सङ्कट झेल्दै तनावको जिन्दगी बाँच्न बाध्य छन् ।
देशको राजस्व घट्दै गएको छ । राजस्वका स्रोतहरू सुक्दै गएका छन् । खर्च बढ्दै गएको छ । देशमा जम्मा ९ खर्ब राजस्व उठ्छ ।
साढे १० खर्ब सामान्य प्रशासनमा जान्छ । डेढ खर्ब त सामान्य प्रशासन खर्चमै घाटा छ भने विकास खर्च जुटाउन बेहाल अवस्था छ ।
कर, भन्सार उठाएर देश चलाउनुपरेको छ । रेमिट्यान्स प्राण धान्ने एक मात्र सहारा बन्न पुगेको छ । व्यापारघाटाले सीमा नाघेको छ ।
देशको ऋण चरमचुलीमा पुगेको हुँदा जन्मिँदै ८५ हजार ऋणको बोझ बोकेर एउटा बच्चा जन्मिएको हुन्छ । माथिदेखि तलसम्म भ्रष्टाचारको जालो चरम रूपमा फैलिएको छ । नीतिगत भ्रष्टाचारले देश आक्रान्त छ । “हलोमाथि मुङ्ग्रो” त्यसै त देशको अर्थतन्त्र थला परेको बेला सङ्घीयताको भारीले थिचेर उठ्नै नसक्ने बनाएको छ । इतिहासमै बढी युवाविद्यार्थीको विदेश पलायनले विभिन्न पेसा–व्यवसाय सुक्दै गएका छन् । कलेज बन्द हुने क्रममा छन् । देशमा चरम राष्ट्रिय सङ्कट उत्पन्न हँुदै छ । राज्य यसमा बेखबर छ । मूकदर्शक बनेको छ । अस्थिरताले देश आक्रान्त छ । मुलुकमा देशीविदेशी बिचौलियाको रजाइँ छ ।
अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ देशको विद्यमान आर्थिक सस्याको समाधानका लागि नेपाल सरकारसित आवश्यक कदम चाल्न माग गर्दछ । यदि माथिका विषयमा गम्भीर ध्यान दिइएन भने हामी सङ्घर्षमा उत्रन बाध्य हुने छौँ ।
ढुण्डिराज शर्मा
अध्यक्ष