बार्सिलोना । मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन् ।
स्पेनी अधिकारीले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए तर सरकारी समाचार संस्था इएफईलगायतका सञ्चारमाध्यमले पछि मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको जनाए ।
रेल सञ्जाल सञ्चालक संस्था एडिआइएफका अनुसार दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो । घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसियाबिचको रेल सेवा स्थगित गरिएको छ ।
कास्टिलाला मान्चा क्षेत्रकी प्रवक्ता एस्थर पाडिलाले बताएअनुसार राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी सहर सेभिलतर्फ गइरहेका दुई रेलबिच दुर्घटना भएको हो । रोकिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किँदा दुई डिब्बा लिकबाट बाहिरिएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
उर्दा र लस येबेनेस सहरबिच खेतबारीले घेरिएको समथर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसका धातुका टुक्रा र अन्य सामग्री घटनास्थलमा छरिएका छन् ।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले बताएअनुसार उद्धारकर्मीहरू सबैभन्दा बढी क्षति पुगेका दुई डिब्बामा फसेका यात्रुको उद्धार र शव निकाल्न केन्द्रित छन् । घाइतेलाई आसपासका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिइन् ।
‘ठक्कर निकै तीव्र थियो । त्यसैले यो ठुलो त्रासदी हुने अनुमान गरेका छौँ’ गार्सियाले भनिन् ।
दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी रेल सङ्लग्न थिए । प्रारम्भिक विवरणअनुसार रेनफेको रेलले इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।
रेनफेको रेलमा तीन सय ९७ र इरियोको रेलमा एक सय ४७ यात्रु सवार थिए । इटालेली स्वामित्वको इरियोले विज्ञप्ति जारी गर्दै आफ्ना सुरक्षा प्रोटोकल सक्रिय पारेको र सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
यसअघि जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो ।
सन् २०१३ मा ८० जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि त्यो घटना स्पेनको सबैभन्दा घातक रेल दुर्घटना बनेको थियो । जनवरीको दुर्घटनाले देशको व्यापक उच्च गतिको रेल सेवाप्रतिको विश्वासमा समेत धक्का पुर्याएको थियो । (रासस/एपी)





