भक्तपुर । पठन संस्कृतिको प्रवद्र्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ ।
रोटरी क्लब अफ भक्तपुरको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा तीनदिने पुस्तक प्रदर्शनी सञ्चालन हुने भएको हो ।
प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तककक्ष राखिनेछन् साथै, पुस्तक विमोचन, साहित्य वाचन, लेखकसँग अन्तरक्रिया, चित्रकला प्रतियोगिता, प्यानल छलफललगायतका कार्यक्रम आयोजना गरिनेछन् । प्रदर्शनीमा परम्परागत नेवारी परिकारका कक्षसमेत रहनेछन् ।
रोटरी क्लब भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार पुस्तक प्रदर्शनीको उद्देश्य पुस्तकको प्रदर्शनी र बिक्रीमा मात्र सीमित नभई विद्यार्थी तथा युवा पुस्तामा पठन संस्कृतिको विकास गर्नु र पुस्तकप्रतिको रुचि बढाउनु पनि हो ।
प्रदर्शनीमा विभिन्न विद्यालय, कलेज, पुस्तकालय, शिक्षक, विद्यार्थी तथा साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ ।





