खिमराज चालिसे
भारत । भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरमा गत १० अक्टोबर २०२६ को राति दुई नेपालीमाथि प्राणघातक हमला गरी ९० हजार भारतीय रुपैयाँ लुटेर टिकाराम भुसाल फरार भएको आरोप लागेको छ।
प्राप्त जानकारीअनुसार, आफ्नै घरमा साथीहरूसँग बसेका नारायण भण्डारी र बसन्त पार्देमाथि आक्रमण भएको हो। पीडितका दाजु सुरज भण्डारीका अनुसार, केटरिङमा काम गर्ने नारायण भण्डारीले कामबाट बुझेर ल्याएको ९० हजार भारतीय रुपैयाँको लोभमा परी टिकारामले उनीहरूमाथि निर्ममतापूर्वक आक्रमण गरेका हुन्।
आक्रमणमा गम्भीर घाइते भएका नारायण भण्डारी र बसन्त पार्दे हाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे स्थानीय प्रहरीले टिकाराम भुसालविरुद्ध प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरी उनको खोजी तीव्र बनाएको जनाइएको छ। यसैबीच, पीडितका दाजु सुरज भण्डारीले फरार आरोपितको खोजी कार्यमा सहयोग गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेका छन्।
प्राप्त विवरणअनुसार, फरार आरोपित टिकाराम भुसालको स्थायी घर प्युठान जिल्लाको प्युठान नगरपालिका–८ मा रहेको र हाल उनी दाङ जिल्लाको लमही नगरपालिका–१, सन्डेब्रीमा बस्दै आएको बताइएको छ।
आरोपितलाई कतै देखेमा वा उनको अवस्थिति सम्बन्धी जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा निम्न सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ । फेलापार्नु हुने महानुभावहरूले सुरज भण्डारी: +91 8290516255, नारायण भण्डारी: +91 9847838747, जागेश्वर न्यौपाने: +91 7742939083, खिमराज चालिसे (सञ्चारकर्मी): +91 8968503050 मा फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
घटनाबारे थप जानकारी तथा फरार आरोपितको खोजीमा सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरिएको छ। आरोपितमाथि लागेको आरोपको अन्तिम पुष्टि भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट हुनेछ।






