जुमानसिंह केसी, गौमुखी (प्युठान) ।
प्युठानको गौमुखी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा राजनीतिक अन्तरक्रियासँगै बडादशैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
२०८३ असोज ३० गते शुक्रबार गौमुखी गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको एकता, पार्टीका कमजोरी तथा जनताप्रतिको जिम्मेवारीको विषयमा आआफ्ना दलका धारणा राखेका थिए ।
राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले ठुला राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा भ्रष्टाचार, अनियमितता र राजनीतिक विकृति विरुद्ध जनतामा असन्तुष्टि बढेको बताउनुभयो ।
यस्ता कमजोरीकै कारण वैकल्पिक राजनीति शक्तिको उदय भएको उहाँको भनाइ थियो ।
उहाँले कम्युनिस्ट पार्टीहरू सर्वहारा, किसान, मजदुर तथा आम श्रमजीवी जनताको पक्षमा काम गर्ने शक्ति भएकाले आपसी मतभेद अन्त्य गरी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
कम्युनिस्ट नेताहरूमा देखिएको व्यक्तिवाद, पदमुखी प्रवृत्ति र आचरणगत कमजोरीका कारण आन्दोलन कमजोर बनेको उल्लेख गर्दै उहाँले जनताको पक्षमा काम गर्न कम्युनिस्ट शक्तिहरू मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
न्यौपानेले देशको राष्ट्रियता र सार्वभौमिकतामाथि बाह्य हस्तक्षेप बढिरहेको विषय उठाउँदै राष्ट्रियताको मुद्दामा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
वर्तमान सरकार र वैकल्पिक राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढिरहेको उहाँको भनाइ थियो ।
एमाले प्युठानका अध्यक्ष विजयविराज विष्टले बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्को शुभकामना व्यक्त गर्दै कम्युनिस्ट पार्टीबाट विगतमा भएका कमजोरीलाई स्वीकार गरी सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।
देशको वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्ट पार्टीको सक्रियतामा नेपालले ठुलाठुला उपलब्धि हासिल गरेको भन्दै नयाँ भनिनेहरूको पनि दिनगन्ती सुरु भएको भन्दै सबैलाई निरासा नभईकन अगाडि बढ्न आग्रह उहाँले आग्रह गर्नुभयो ।

नेकपा प्युठानका इन्चार्ज यज्ञबहादुर केसीले विगतमा एमाले र माओवादीबिच भएको एकता टिक्न नसकेकोमा दु:ख व्यक्त गर्नुभयो ।
उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट पार्टीहरू आफ्ना कमजोरी सुधार्दै जनताको पक्षमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन नेताहरूले आफ्नो कार्यशैली र निर्णय प्रक्रियामा सुधार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयोे ।
कार्यक्रममा एमालेका नेता ज्ञानुमाया केसी, राजमोका नेता भरत केसी, नेकपाका गोवर्धन थापालगायतका नेताहरूले पनि मन्तव्य राख्नुभएको थियो ।
उहाँहरूले वामपन्थी आन्दोलनको वर्तमान अवस्था, राजनीतिक एकताको आवश्यकता र जनताका सवालमा केन्द्रित भएर काम गर्नुपर्ने
विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाभित्र क्रियाशील तीनोटै दलका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।
एमाले गाउँपालिका समितिका अध्यक्ष जुमानसिंह जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता महावीर रानामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जुमानसिंह केसीले गर्नुभएको थियो ।

