वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेससचिव केटी जचारिया नियुक्त भएको एक साताभन्दा कम समयमै शुक्रबार पदमुक्त भएकी छिन् । आफूलाई वकिलका रूपमा प्रस्तुत गरेको विषयमा विवाद चर्किएपछि उनको कार्यकाल छोटिएको हो ।
४१ वर्षीया जचारियाले मङ्गलवार पहिलो पत्रकार सम्मेलन गरेकी थिइन् । १५ मिनेटभन्दा कम समय चलेको सम्मेलनमा उनले ट्रम्पका उपलब्धिबारे विवरण पढेकी थिइन् भने पत्रकारका तीनोटा प्रश्नको मात्र जबाफ दिएकी थिइन् ।
सम्मेलनको प्रस्तुतिलाई लिएर आलोचना भएपछि ट्रम्पले समेत उहाँलाई पदमा रहन पुनर्विचार गर्न सुझाव दिएका थिए ।
जचारियाले टेलिभिजन अन्तर्वार्ता र सामाजिक सञ्जालमा आफूलाई वकिलका रूपमा चिनाएकी थिइन् । क्यालिफोर्निया विश्वविद्यालयबाट कानुनमा स्नातक गर्नुभएकी उनले अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेकी थिइनन् । उनले बिहीबार परीक्षा असफल भएको स्वीकारिन् । ट्रम्प समर्थक सञ्चारमाध्यममा विवाद साम्य पार्न दिएको अन्तर्वार्ताले पनि आलोचना रोक्न सकेन ।
उनले कानुनमा स्नातक गरेको आधारमा आफूलाई वकिल भन्न मिल्ने आश्वासन धेरै व्यक्तिले दिएको बताइन् । फक्स न्युजका प्रस्तोता सिन ह्यानिटीले पुन: बार परीक्षा दिनुभएको छ कि छैन भनेर सोध्दा उहाँले नदिएको जबाफ दिइन् ।
चीनबारे गरेको टिप्पणीले पनि जचारिया विवादमा परिन् । दक्षिणपन्थी प्रभावशाली व्यक्तित्व ज्याक पोसोबिकसँगको अन्तर्वार्तामा उनले चीनसँग उचित शौचालयसमेत नभएको टिप्पणी गरेकी थिइन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले त्यसको प्रतिक्रियामा उनलाई चीनको भ्रमण अझ धेरैपटक गर्न सुझाव दिएका थिए ।
जचारियाले ट्रम्पकी पूर्व प्रेससचिव क्यारोलिन लेभिटको स्थान लिएकी थिइन् । ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसका सञ्चार निर्देशक एन्थोनी स्कारामुचीको कार्यकाल ११ दिन मात्र रहेको थियो । उनले सामाजिक सञ्जालमा आफ्नो कीर्तिमान तोडिन सक्ने टिप्पणी गरेकी थिइन् । (रासस/एएफपी)

