काबुल । अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषण तीव्र बनेको छ ।
आगामी वर्ष ५३ लाख महिला तथा बालबालिकालाई कुपोषणको उपचार आवश्यक पर्ने अनुमान गरिँदा सङ्कट गहिरिएको हो ।
आर्थिक अभावका कारण गम्भीर कुपोषण भएका बिरामीले समेत पर्याप्त उपचार पाउन सकेका छैनन् । काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षका सबै २० शैया भरिएका छन् ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अफगानिस्तानस्थित देशीय निर्देशक जोन एलिफका अनुसार आगामी केही महिनामा करिब एक करोड ९० लाख मानिस अर्थात् देशको जनसङ्ख्याको झन्डै ४० प्रतिशतले जीवन जोखिममा पार्ने तीव्र भोकमरीको सामना गर्नुपर्नेछ । उहाँले तीव्र कुपोषण अभूतपूर्व स्तरमा पुगेको बताए । आगामी वर्ष पाँच वर्षमुनिका बालबालिका र महिलासहित ५३ लाख मानिसलाई उपचार आवश्यक पर्ने अनुमान छ । यो सन् २०२२ को तुलनामा १३ लाख बढी हो ।
बिहीबार सार्वजनिक एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) को पछिल्लो तथ्याङ्कले बालबालिका विशेष जोखिममा रहेको देखाएको छ । विकासशील शरीरलाई बढी पोषण आवश्यक पर्ने भएकाले पर्याप्त खाना नपाउँदा उनीहरू कुपोषणबाट बढी प्रभावित हुने गरेका छन् ।
चार दशक लामो युद्ध, पाकिस्तानसँगको सीमानाका लामो समय बन्द हुँदा व्यापारमा परेको असर, सन् २०२३ यता इरान र पाकिस्तानबाट पाँच लाखभन्दा बढी अफगान शरणार्थीको जबर्जस्ती फिर्ती तथा खडेरी, बाढी र भूकम्पजस्ता बिपद्ले सङ्कट थप जटिल बनाएका छन् । गरिबीका कारण लाखौँ मानिस पौष्टिक खाना किन्न असमर्थ छन् । मध्यपूर्वको द्वन्द्वले पनि खाद्यान्नको मूल्य बढाएको छ ।
एलिफका अनुसार गरिबले उपभोग गर्ने आधारभूत खाद्यवस्तुको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको छ । यसले विपन्न परिवारलाई बजारबाट खाद्यान्न किन्नसमेत कठिन बनाएको उनले बताए ।
सङ्कटको अर्को प्रमुख कारण अन्तर्राष्ट्रिय सहायता कटौती हो । सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सहायता एकाएक घट्दा लाखौँ मानिस गरिबी र भोकमरीमा धकेलिएका थिए । अमेरिकी सहयोग रोकिएपछि डब्लुएफपीजस्ता संस्थाको खाद्य सहायता कार्यक्रमसमेत प्रभावित भएका छन् । एलिफका अनुसार अहिले डब्लुएफपीले सन् २०२२ मा प्राप्त गरेको रकमको १२ प्रतिशत मात्र पाएको छ ।
‘हामीले स्वास्थ्य केन्द्रबाट गम्भीर कुपोषण भएका सातमध्ये छ जना महिला र बालबालिकालाई फर्काउनुपरेको छ । उनीहरूका बालबालिकाको जीवन बचाउन आवश्यक खाना हामीसँग छैन’ एलिफले भने । उनले अफगान बालबालिकाको पीडाप्रति अन्तर्राष्ट्रिय समुदाय पर्याप्त संवेदनशील नभएको भन्दै चिन्ता व्यक्त गरे ।
इन्दिरा गान्धी अस्पतालका आन्तरिक चिकित्सा विभाग प्रमुख डा. मोहम्मद आरिफ हसनजाईका अनुसार कहिलेकाहीँ बिरामीको सङ्ख्या शैयाभन्दा बढी हुँदा दुई बालबालिकालाई एउटै शैयामा राख्नुपर्छ । हालको सहयोगले २० शैयाको गम्भीर कुपोषण उपचार कक्ष मात्र सञ्चालन गर्न सकिएको छ । थप स्रोत उपलब्ध भए ६० देखि १०० जनासम्म बिरामीलाई उपचार दिन सकिने उनले बताए ।
‘स्वास्थ्य सहायता किन घटाइएको हो भन्नेमा म चिन्तित छु । राजनीतिक अवस्थाका कारण बिरामीले कुपोषण भोग्नुपर्ने र ज्यानसमेत गुमाउनुपर्ने हो ?’ उनले प्रश्न गर्दै स्वास्थ्य सेवा राजनीतिबाट अलग रहनुपर्ने बताए । (रासस/एपी)

