काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) ले आइसिसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको दाबी गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार टियु क्रिकेट ग्राउन्डमा आयोजना पत्रकार सम्मेलनमा सचिव पारस खड्काले सो दाबी गरेका हुन् ।
एनपिएलले आइसिसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको उचाइ बढेको बताउँदै उनले एनपिएललाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने धारणा राखे ।
एनपिएलमा आइसिसीको एन्टीकरप्सन कोडलाई पूर्ण रूपमा लागु गरिने उनले बताए ।
सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ र अन्य नियम उल्लङ्घनका विषयमा आइसिसीको अन्तर्राष्ट्रिय कानुन तथा नियमअनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको उनको भनाइ थियो ।
एनपिएलमा प्रत्येक टिममा सात जना नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने र अधिकतम आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ ।
सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आइसिसी एसिया कन्फेरेन्स आयोजना हुने जानकारी दिए ।
सम्मेलनमा एसियाली राष्ट्रका प्रतिनिधि सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने उनले बताए ।

