इफोटाका (मेडागास्कर) । जलवायु परिवर्तन, लामो खडेरी र अन्तर्राष्ट्रिय सहायता कटौतीका कारण भोकमरीको चपेटामा परेको दक्षिणी मेडागास्करमा एल निनोको सम्भावित प्रभावले सङ्कट थप गहिरिने चिन्ता बढेको छ ।
कुपोषणबाट प्रभावित बालबालिका खाद्य सहायताको प्रतीक्षामा छन् भने आगामी महिनामा खडेरी बढ्ने चेतावनी दिइएको छ ।
इफोटाका सहरस्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को केन्द्रमा दर्जनौँ बालबालिका खानाका लागि पर्खिरहेका थिए । सन् २०२१–२२ को भोकमरीपछि स्थापना गरिएको उक्त केन्द्रमा पिठोको लिटो पकाइँदै थियो । संयुक्त राष्ट्र सङ्घले त्यसअघिको भोकमरीलाई जलवायु परिवर्तनसँग सम्बन्धित विश्वकै पहिलो सङ्कट भनेको थियो । त्यही बेला कुपोषित दुई वर्षीय बालकको मृत्युको खबर पाएपछि एक कर्मचारी भावविह्वल भएका थिए ।
विश्व मौसम विज्ञान सङ्गठनले अक्टोबरदेखि सुरु हुने एलनिनोका कारण दक्षिणी अफ्रिकामा खडेरीको जोखिम बढ्ने चेतावनी दिएको छ ।
अभिलेखमा सबैभन्दा शक्तिशालीमध्ये पर्ने अनुमान गरिएको यस मौसमी घटनाले ब्राजिलदेखि भारतसम्मका देशलाई पनि प्रभावित गर्न सक्छ । मेडागास्करमा भने अन्तर्राष्ट्रिय सहायता कटौती र मध्यपूर्वको युद्धका कारण बढेको महँगीले खाद्य सङ्कट थप गम्भीर बनाएको छ ।
काठका झुपडी र जस्तापाताका घरहरू रहेको इफोटाका सन् २०२१–२२ को ‘केरे’ अर्थात् भोकमरीको प्रमुख केन्द्र थियो । त्यतिबेला आसपासका क्षेत्रमा बस्ने करिब ३० हजार मानिस खाद्यान्न अभावबाट प्रभावित भएका थिए । बाँच्नका लागि उनीहरूले क्याक्टसका टुक्रा र जनावरको छाला उमालेर खानुपरेको थियो ।
डब्लुएफपीकी देशीय निर्देशक तानिया गुसेन्सका अनुसार मेडागास्करमा जलवायुसम्बन्धी बिपद् उल्लेख्य रूपमा बढेको छ । उनले पछिल्लो २० वर्षमा ३५ चक्रवात, आठ बाढी र पाँच गम्भीर खडेरी आएको बताए । जलवायुसम्बन्धी घटनाको सङ्ख्या तीन गुणाले बढेकाले देशको अवस्था अत्यन्त संवेदनशील बनेको उनको भनाइ छ ।
तटीय गाउँ मनिन्द्राका ४६ वर्षीय किसान जेम्स सिरिमालाजाका अनुसार सामान्यतया सेप्टेम्बरको अन्त्यदेखि वर्षा सुरु हुनुपर्ने भए पनि यस वर्ष पानी परेको छैन । सम्भावित सङ्कटलाई ध्यानमा राख्दै बालअधिकारसम्बन्धी संस्था सेभ द चिल्ड्रेनले मेडागास्करका लागि आफ्नो नियमित बजेट दोब्बर बनाएको देशीय प्रतिनिधि तातियाना दासीले बताए ।
संयुक्त राष्ट्र सङ्घको सहयोगमा खाद्य सुरक्षाको अवस्था मापन गर्ने एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) को अनुमानअनुसार आगामी अप्रिलसम्म मेडागास्करको दक्षिणी क्षेत्रमा पाँच वर्षमुनिका करिब दुई लाख ७० हजार बालबालिका अर्थात् ३९ प्रतिशत तीव्र कुपोषणबाट प्रभावित हुनेछन् ।
अमेरिका, इजरायल र इरानबिचको द्वन्द्वले तेल तथा मलको मूल्य बढाउँदा खाद्य सङ्कट थप चर्किने चेतावनी आइपिसीले जुलाईमा दिएको थियो । यसको असर यातायात, सिँचाइका लागि पानी तान्ने उपकरण, मल, माछा मार्ने इन्धन र कृषि सामग्रीको मूल्यमा पर्नेछ । मेडागास्करमा वार्षिक खाद्य मुद्रास्फीति जनवरीको ६.८ प्रतिशतबाट बढेर जुलाईमा १०.४ प्रतिशत पुगेको छ ।
इफोटाकाबाट चारपाङ्ग्रे गाडीमा करिब एक घण्टाको दुरीमा रहेको अम्बोसरी–अट्सिमो अस्पतालमा यस वर्ष स्वास्थ्य जटिलताका कारण कुपोषित छ बालबालिकाको मृत्यु भएको अभिलेख छ । सन् २०२२ मा भोकमरी मे महिनाको बाली भित्र्याउने समयसम्म कायम रहँदा १५ बालबालिकाको मृत्यु भएको थियो ।
अस्पतालको भित्तामा रहेको अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को चिह्नले अन्तर्राष्ट्रिय सहायता घटेको अवस्थाको सम्झना गराउँछ । सन् २०२५ मा विघटन गरिएको उक्त अमेरिकी निकायको सहयोगबाट मेडिसिन्स दू मोन्डमार्फत बिरामीलाई अस्पताल पुर्याउने र स्वास्थ्यकर्मीलाई तालिम दिने काम हुँदै आएको थियो । एक अधिकारीका अनुसार उक्त सहयोग दुई महिनाअघि नै समाप्त भएको थियो ।
डब्लुएफपीले मेडागास्करमा करिब ३७ लाख मानिस खाद्य असुरक्षाको सङ्कटपूर्ण अवस्थामा पुग्ने अनुमान गरेको छ । गुसेन्सका अनुसार यो सङ्कट सन् २०२१–२०२२ को भोकमरीभन्दा पनि गम्भीर हुन सक्छ । यस वर्ष सात लाख २० हजार मानिसलाई सहयोग गर्ने लक्ष्य राखिए पनि आवश्यक रकमको आधा मात्र जुटेको उनले बताए ।
डब्लुएफपीको कार्यालयमा कुपोषणको उपचार गराइरहेका नातिलाई काखमा राखेकी ५१ वर्षीया इभा रजाफिन्द्रजाकाले सामुदायिक पानीको स्रोत टाढा भएकाले आफ्नो बालीमा सिँचाइ गर्न नसकेको बताइन् । सौर्य पम्प भएका किसानले भने पानी तान्न सक्ने उनको भनाइ थियो ।
गाईवस्तु गोठ फर्काइएपछि २५ वर्षीय किसान मन्जोमारो एन्ड्रियान्टेनाइना बालुवामा धस्सिएको काठको पाङ्ग्रायुक्त गाडामा सौर्य प्यानल बोकेर लैजान सङ्घर्ष गरेका थिए । अघिल्लो दिन मात्र प्यानल प्राप्त गर्नुभएका उनले ती सामग्री छाडे फेरि नपाउने चिन्ता व्यक्त गर्नुभयो ।
विश्व बैङ्कका अनुसार सन् २०२३ मा सौर्य ऊर्जाबाट चल्ने पम्पसहितको इनार खन्न दुई लाखभन्दा बढी एरियरी अर्थात् करिब ४५० अमेरिकी डलर खर्च लाग्थ्यो । यो रकम उक्त क्षेत्रका अधिकांश मानिसका लागि जुटाउन कठिन छ । त्यहाँका ९० प्रतिशतभन्दा बढी बासिन्दा दैनिक २.१५ अमेरिकी डलरको गरिबीको रेखामुनि जीवन बिताइरहेका छन् ।
‘पहिले गर्मी बढ्दा वर्षा नहुने चिन्ता लाग्थ्यो’ एन्ड्रियान्टेनाइनाले भने– ‘अहिले भने जमिनमुनिबाट पानी तान्न सकूँ भनेर घाम लाग्ने प्रतीक्षा गर्छु ।’ (रासस/एएफपी)

