वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसको ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको हो ।
मृतक अमेरिकी सिनेटरको नाममा राखिएको लिन्डसे ग्राहम ऐनले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि सय प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो । कार्यकारी आदेशमा उनले ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागु नगर्ने निर्णय गरेको जनाइएको छ ।
उक्त कानुनले रुसको ऊर्जा र रक्षा क्षेत्र, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा अन्य वरिष्ठ अधिकारीलाई लक्षित गरेको थियो । पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने मस्कोको ट्याङ्करको कथित छाया जहाज बेडा पनि यसको निसानामा परेको थियो ।
अमेरिकी प्रतिबन्धबाट राहत दिने बदलामा रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा राष्ट्रपति पुटिनसँग ट्रम्पले गरेको विवादास्पद सम्झौतापछि यो निर्णय आएको हो । (रासस/एएफपी)

