– महेश रिजाल
भालुबाङ, आश्विन २५ । राजपुर गाउँपालिका–५ स्थित महतिनी खोलामा आश्विन २१ गते अपराह्न आएको भीषण बाढीले स्थानीय किसानका खेतमा पाकेको धानबाली नष्ट गर्नुका साथै व्यापक क्षति पुर्याएको छ।
महतिनी खोलाको दक्षिण–पश्चिमतर्फबाट बग्ने पण्डितबासे खोलामा आएको बाढीले धार परिवर्तन गर्दा स्थानीय कमला बुढाको १५ कठ्ठा र चैती पुनको १० कठ्ठा खेतमा काटेर सुकाउन राखिएको धानबालीमा क्षति पुर्याएको छ।
त्यसैगरी, चमारे खोलामा आएको भीषण बाढीका कारण नीलम रोकाको १२ कठ्ठा, कृष्ण बुढाको १२ कठ्ठा र मनकुमार रानाको १० कठ्ठा खाली जग्गामा बाढी पसेर क्षति पुगेको छ। पण्डितबासे खोलामा आएको बाढीले मनकुमार रानाको जमिनमा समेत क्षति पुर्याएको छ भने राजु रोकाको मोटरसमेत बगाएको छ।
पूर्व–दक्षिणबाट बग्ने चमारे खोलामा आएको भीषण बाढीले स्याले सिँचाइ कुलोको बाँध नाघेर धार परिवर्तन गर्दा स्थानीय डिलबहादुर बुढाको १० कठ्ठा र गन्जु बुढाको १० कठ्ठा खेतमा लगाइएको पाकेको धानबाली बगाएको छ। त्यस्तै, सोही खोलाको बाढीले राजु रोकाको पाँच कठ्ठा र टेकबहादुर बुढाको १५ कठ्ठा खेतबारीमा लगाइएको पाकेको धानबाली नष्ट गरी क्षति पुर्याएको छ।
यसैगरी, सोही दिन परेको अविरल वर्षाका कारण झुप्पा खाडा खोलामा आएको भीषण बाढीले स्थानीय ओखबिर घर्तीको १५ कठ्ठा, चन्द्रसिंह घर्तीको १५ कठ्ठा, मोहन गिरीको १२ कठ्ठा, कमानसिंह भण्डारीको दुई कठ्ठा, सीता गिरीको सात कठ्ठा, पूर्णबहादुर बुढाको १० कठ्ठा, देवबहादुर बुढाको १० कठ्ठा, रामसरी रोकाको १० कठ्ठा र माघुराम चौधरीको एक बिघा क्षेत्रफलमा लगाइएको पाकेको धानबाली नष्ट गरेको छ।

बाढीले कृषि क्षेत्रमा मात्र नभई सडक तथा विद्युत् संरचनामा समेत क्षति पुर्याएको छ। गाउँसम्म पुग्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत जङ्रहवादेखि महतिनी खोलासम्मको करिब १५ किलोमिटर क्षेत्रमा रहेको बगर तथा ग्राभेल सडक महतिनी खोला र कोरिया खोलामा आएको बाढीले ध्वस्त बनाएको छ।
त्यसैगरी, चङ्गुवादेखि महतिनी खोलासम्म करिब १५ किलोमिटर दूरीमा विस्तार गरिएको विद्युत् लाइनका पोलहरू ढलेर क्षति पुगेको छ।
बाढीका कारण किसानलाई पाकेको धानबाली भित्र्याउनसमेत समस्या भएको छ। खेतमा काट्न बाँकी रहेको धान र काटेर सुकाउन राखिएको धान उठाउन नसकिएको स्थानीय अवस्थाले देखाएको छ। सडक क्षतिग्रस्त हुँदा तथा जेसीबीको अभावमा थ्रेसर मेसिन खेतसम्म पुर्याउन कठिनाइ भएपछि किसानहरू थप समस्यामा परेका छन्।
यसैबीच, सोही दिन आएको भीषण बाढीका कारण जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको आवागमनमा समेत समस्या भएको छ। विद्यालयको प्राङ्गणनजिकै रहेको जाबुनको सुकेको रूख जरैदेखि ढलेर बाटो अवरुद्ध भएपछि विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ भएको छ।


