काठमाडौँ । भारत पुरेर अर्थमन्त्री स्वर्णिम वाग्लेले कम्युनिस्ट विरोधी अभिव्यक्ति दिएका छन् । ‘मुनरो डक्ट्रिन’ का समर्थक वाग्लेले नयाँदिल्लीमा आयोजित एनडिटिभी वल्र्ड समिट–२०२६ मा मन्तव्य राख्दै सो अभिव्यक्ति दिएका हुन् ।
२०८३ कात्तिक ६ गते शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले भने– ‘नेपालमा कुनै समय राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो तर त्यो युग अब सकिएको छ ।’
नेपालमा भारतको माइक्रो म्यानेजमेन्ट, सीमा अतिक्रमण, असमान सन्धिसम्झौताको विरोधमा आवाज उठाउँदा भारत पक्षधरले ‘भारत विरोधी राष्ट्रवादको संज्ञा’ दिने गरेका छन् । यस्तो आवाजको नेतृत्व विभिन्न कम्युनिस्ट समूहले गर्ने गरेकोमा मन्त्री वाग्लेले यतातर्फ सङ्केत गरेका हुन् ।
उनले नेपाल र भारतबिचको सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै बालेन्द्र सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्याउन चाहेको बताए ।
‘भारत र नेपालबिचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन् तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौँ’ एनडिटिभीकी पद्मजा जोशीसँगको कुराकानी गर्दै उनले भने– ‘नेपाल र भारतबिचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन ।
उनले नेपाल र भारतबिच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको दाबी गरे ।
नेपालको नयाँ नेतृत्व अर्थात् बालेन्द्र सरकारले भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहेको उनको जिकिर थियो ।
मन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह सन् २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने सङ्केतसमेत गरे । बालेन्द्रको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने उनको दाबी थियो ।
उनले नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उल्लेख गर्दै व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने भनाइ राखे ।
मन्त्री वाग्ले तिनै व्यक्ति हुन्, जसले नेपालको संसद्माा नै ‘मुनरो डक्ट्रिन’ को प्रसङ्ग उठाउँदै भारतको ‘इन्ट्रेस्ट’ नेपालले पूरा गर्नुपर्ने बताउँदै आएका छन् ।
उनीसँग अर्को प्रसङ्ग पनि जोडिएको छ । यसअघिको प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन भारतसँग कुराकानी गर्न यिनै मन्त्री वाग्लेलाई खटाइएको थियो भन्ने कुरा रास्वपाका पुराना नेता मुकुल ढकालले बताएका थिए ।
राजनीतिक विश्लेषकहरू भन्छन्, मन्त्री वाग्लेका अभिव्यक्तिको सीमा त्यही हो । उनीबाट कुनै पनि देशको साम्राज्यवादको विरोधका अभिव्यक्ति आउन सक्दैन ।





