२०८३ भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा अकल्पनीय बाढी आयो । नेपालतर्फको लाङटाङ लिरुङ पर्वतमा विशाल हिमपहिरो जाँदा आएको बाढीबाट रसुवाको भोटेकोशी–त्रिशुली नदी हुँदै धादिङसम्म ठुलो जनधनको क्षति हुन पुग्यो । असोज २५ गते फेरि बुढीगण्डकी नदीमा अर्काे बाढी अयो, यद्यपि त्यसको तीव्रता र जनधनको क्षतिको आयतन सानो थियो । ठिक यही सन्दर्भमा सर्वाधिक नेपालीले मनाउने चाड बडादसैँ आइपुगेको छ । राष्ट्रिय शोकबाट सम्हालिन नपाउँदै अत्यन्तै प्रतिकूल परिस्थितिमाझ नेपाली जनताको एउटा तप्काले बडादसैँ मनाइरहेको अवस्था छ ।
गत वर्ष फागुन २१ गते जनेजी आन्दोलनका कारण अप्रत्यासित प्रकारले संसदीय निर्वाचन भएको थियो । त्यो निर्वाचनले बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्यो । त्यो सरकारले विनातयारी र व्यवस्थापन सकुम्वासी बस्तीमाथि डोजर चलायो । केही हप्ताभित्र वास्तविक सुकुम्बासीलाई व्यवस्थापना गनर्ने दाबी गरिए पनि भर्खरै समाप्त भएको बर्खायाममा उनीहरूले कष्टकर दैनिकी बिताए । उनीहरू विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् । यसैबिच रसुवाबाढीले थप मानिसलाई बेघरबार बनायो । उनीहरू पनि होल्डिङ सेन्टरमै छन् । बुढीगण्डकी बाढीले पनि केही परिवारलाई होल्डिङ सेन्टरमै पुर्याएको छ । यस्तै प्रतिकूलमाझ हामी बडादसैँ मनाइरहेका छौँ । सम्भवत: यसरी नै तिहार र छठपर्व पनि मनाइनेछ ।
बर्खायामले प्रत्येक वर्ष यातायात व्यवस्थामा गम्भीर अवरोध सिर्जना गरिरहेकै हुन्छ । त्यसमाथि रसुवा–त्रिशूली र बुढीगण्डकी बाढीले यातायात व्यवस्थाका सामु थप प्रतिकूलता थपिदिएको छ । यही बहाना बनाउँदै महँगी र कालाबजारी चरमचुलीमा पुगेको छ । देशमा इतिहासकै शक्तिशाली सरकार रहे पनि महँगी र कालावजारी रोकिएका छैनन् । गतकालका सरकारले झैँ विभिन्न दाबी अहिले पनि गरिएका छन् । व्यवहारमा उस्तै छ : खासगरी विपिन्न तप्काका जनताको दैनिकी कष्टकर छ । रेमिट्यान्सको आय नहुँदो हो त नेपाल उहिल्यै अफ्रिकामा जस्तै भोकमरीको चापमा परिसकेको हुन्थ्यो । धन्य छन्, ती प्रवासी नेपाली, जसले पठाएको रेमिट्यान्सले जनताको दैनिकी चलिरहेको छ । रेमिट्यान्सले नै राष्ट्रको विदेशी मुद्रा सञ्चिति बढाइरहेको छ । यदि रेमिट्यान्स नहुँदो हो त हामी अहिलेभन्दा भयङ्कर कठिनाइको सामना गरिरहेको हुन्थ्यौँ ।
चाडपर्वमा मानवनिर्मित कृत्रिम खुसी सिर्जना हुन्छ । यो सांस्कृतिक विषयले स्वाभाविक खुसी त्यतिखेर मात्रै प्रदान गर्न सक्दछ, जतिखेर सम्बन्धित समाजले अर्थतन्त्रको क्षेत्रबाट समृद्धि हासिल गरिरहेको हुन्छ । हाम्रो देशको विगतको तुलनात्मक अध्ययन गर्ने हो भने त्यस्तो स्थिति कहिल्यै रहेन । पक्कै पनि पछिल्लो समयमा सबै सूचनाङ्क नकारात्मक र निराशाजनक छन् भन्ने होइन, केही प्रगति भएकै छन्, त्यसका बाबजुद प्रगतिको तुलनामा महँगी, कालाबजारी, गरिबी, अव्यवस्था, बेरोजगारी ज्युँकात्युँ छन् । जनअसन्तोषको भेलमा पटकपटक राजनीतिक सत्ता र सरकार परिवर्तन हुन्छन् । पुरानोको ठाउँमा नयाँ भनिएकाहरू सत्तामा आए पनि काम गर्ने शैली र उनीहरूले अपनाउने विचार र दिशा उस्तै छन् । त्यसले गर्दा नेपाली जनताको जनजीवनमा आमूल परिवर्तन हुन सकिरहेको छैन । यस्तो लागिरहेको छ, नेपाली जनताको जनजीवनमा आमूल परिवर्तन ल्याउनका लागि फेरि अर्काे राज्यक्रान्तिको आवश्यकता छ ।
प्रत्येकपटक राजनीतिक परिवर्तन हुँदा अब आर्थिक एजेन्डा नै प्रमुख हो भन्ने गरिएको छ । वास्तविकता यो हो– राजनीतिक एजेन्डा नै क्रान्तिकारी नहुँदा आर्थिक एजेन्डाले अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिरहेको छैन । यिनै गोलचक्करमाझ हामी निरङ्कुश राणाशासन, पञ्चायती व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुगेका छौँ तर अहिलेसम्म गणतन्त्र संस्थागत हुन सकेको छैन । फलस्वरूप अर्थतन्त्रको क्षेत्रमा आशातीत सफलता प्राप्त भइरहेको छैन । यिनै प्रतिकूलतामाझ हामी छौँ । यसरी प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ बडादसैँ, तिहार र छठपर्वजस्ता चाडपर्व मनाइरहेका छौँ ।
(युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क ७, २०८३ कात्तिक ४ गते बुधबारको सम्पादकीय)





