लक्ष्मण बेल्बासे ##
सहिदको उच्च सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो । राज्यले राक्षस मारेको हैन, सहिद कोही पनि राक्षस थिएनन् । थिए त ऋषि दधिचिजस्तै, जसले आफ्नो प्राणको आहुति दिएर अन्याय, असत्य र राक्षस प्रवृत्तिको अन्त्यको निम्ति दधिचिभन्दा अगाडि बढेर हाड मात्र हैन, रगत पनि दिएका थिए । कसैले पनि गलत तर्कको सहारा लिएर आफ्नो अनुकूलको धारणा अरूमाथि जबर्जस्त नथोपरौँ । मिथक नै सही, देवीले विजय अन्याय र असत्यमाथि गरेकी थिइन् ।
हरेक घटना, विषयवस्तुबाट खराब कुरा फ्याँकेर र असल कुरा समाजलाई जसले दिन सक्छ । विद्वान् वा ऋषि तिनैलाई भनिन्छ, न कि मह र घ्यू घोलेर विष बनाउनेलाई । जबसम्म पूर्ण ‘नयाँ निर्माण’ को ल्याकत पुग्दैन, पुरानो भत्काएर भग्नावशेष नबनाऊँ । केराउ पनि बिरुवा बन्न जमिनमा फालेर मात्र पुग्दैन, मलिलो माटोमुनि आवश्यक तापक्रम र अनुकूल वातावरण चाहिन्छ । पूर्ण परिवर्तन तब मात्र हुन्छ, जब वस्तुगत अवस्था पनि पूर्ण तयार हुन्छ । तब परिवर्तन कसैले रोकेर रोकिँदैन । वस्तुगत अवस्था निर्माणको आधार वैज्ञानिक शिक्षा हो, कुण्ठा को अभिव्यक्ति हैन ।
परम्परागत रीतिथिति कैयौँ पुस्ताबाट अनुमोदन भएर समाजमा टिकिरहेका हुन्छन् । भौगोलिक र सामाजिक अवस्था, शिक्षाले ल्याउने बुझाइका बदलाव, समाजले आवश्यक ठानेका परिमार्जन र परिवर्तन गर्नुपर्ने विषयलाई समाज स्वयम् परिष्कृत गर्दै लगेका थुप्रै उदाहरण हामीमाझ छन, यद्यपि अहिले पप परम्परागत रीतिथितिमा प्रशस्त मात्रामा रूढीवाद छ । त्यसलाई समाप्त पारेर प्रगतिशील संस्कार, संस्कृतिको निर्माण आवश्यक छ तर त्यो काम एकै झट्कामा हुनेछैन । त्यो कार्य क्रमश: रूपान्तरणको प्रक्रियाबाट गएर पूरा हुनेछ ।
कुनै पनि देशको सार्वभौमिकता र स्वतन्त्रता खोसियो, कसैको अधिनस्थ हुन पुग्यो भने देशकै मूल्यमान्यता, धर्म, संस्कार र संस्कृतिमा बदलाव आउन सक्छ । यस्ता उदाहरण थुप्रै छन् तर पनि नामेट पार्न असम्भव नै देखिन्छ । एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका लागि आफ्ना परिचय बनेका भेषभूषा, भाषा, संस्कृति जीवनजत्तिकै मूल्यवान हुन्छन् । ती पुस्तौँदेखि परिष्कृत हुँदै अनुमोदन हुँदै स्थापित हुन्छन् ।
चीनको ‘महान्’ भनिने सांस्कृतिक क्रान्तिले पनि त्यहाँको संस्कार, संस्कृति, भेषभूषा, भाषा झन् परिष्कृत गर्दै समृद्ध बनाएको छ । आज चिनियाँ खानालगायत चिनियाँ संस्कृति विश्वव्यापी बन्दै गएको छ । त्यसैगरी हाम्रा पनि चाडपर्व, खाना पोसाक सुसंस्कृत र परिष्कृत हुँदै जान्छन् । त्यही समृद्धि र हाम्रो समृद्धि सँगै जोडिएर विश्वव्यापी हाम्रा पहिचानका आधार बन्नेछन् । समृद्धिको यात्राको एउटा सिँढी यिनी पनि हुन् । यस्ता धरोहर, जुन भूगोल, जात, धर्मबाट विकास भएका भए पनि ती कुनै जाति, धर्म, भूगोलविशेषको मात्र होइनन् । ती राष्ट्रका सम्पत्ति हुन् । ती सबैका हुन् । तिनको संरक्षण र संवद्र्धन हरेक नेपालीको कर्तव्य हो । यही राष्ट्रिय एकताको मियो पनि हो ।
पछिल्लो अवस्थामा हाम्रो राष्ट्रिय राजनीति पराधीनजस्तै हुन पुगेको छ भने राष्ट्रिय एकता कमजोर हुँदै गएको छ । यही माटो, यहीँको संस्कार र संस्कृतिमा हुर्किएर यहीको संस्कार र संस्कृतिले दिएको परिचय बोकेर यहीँको संस्कार र संस्कृतिमाथि धाबा बोल्ने तथा बाह्य संस्कृतिलाई अँगालेर यहाँका संस्कार र संस्कृतिलाई विकृत बनाउन लागिपरेको पनि पाइन्छ । ससाना राजनीतिक घटना पनि ‘पर’ कै निर्देशनमा हुन थालेको छ । यसको मूल कारण राष्ट्रिय एकता कमजोर भएरै हुने गरेको छ ।
सदियौँ पहिले भूगोलको एकीकरण भए पनि अधिकारको वितरण समान र न्यायोचित नहुँदा यसको असर राष्ट्रिय एकतामा पनि देखिएको छ । युगौँदेखि एकथरी मान्छेलाई जन्मिँदै निचा जातिको भनेर उसलाई शिक्षा, राजनीति तथा हतियार उठाउनबाट वञ्चित गरियो । निर्णय गर्ने ठाउँबाट ठाडा राखियो । त्यसैगरी राजधानीबाट टाढा दूरदराजमा बस्ने मान्छेलाई राज्यले दिने सुविधाबाट पहुँचभन्दा पर राखियो । राज्यको शक्ति र सुविधा राजधानीकेन्द्रित गर्दै जाँदा दूरदराजका जनताको अवस्था राज्यविहीनताको अवस्था बन्यो । दूरदराजसम्म राज्य जानै नचाहेजस्तै भयो । यसरी सीमान्तकृत तथा जातीय उत्पीडनमा परेका जनतामा अन्तरविरोधको बिजारोपण भयो ।
अर्कोतर्फ पुँजी तथा जमिनको असमान वितरण अर्को मूल कारण बन्न पुग्यो । जमिन जोत्नेको भएन । राज्यले पनि सरकारी सेवामा जोडिएका टाठाबाठालाई नै बिर्ताजस्तै विभिन्न माध्यमबाट जमिन जोत्नेलाई नभई कुत उठाउने बिर्तावाललाई जमिनदारको मान्यता दियो । यिनै सीमान्तकृत, जातीय उत्पीडन तथा भूमिहीन किसानले ‘यो देश हाम्रो पनि हो’ भनेर भन्ने कुनै आधार नै भेट्टाउन छोडे । यसरी समाजमा अन्तरविरोध चुलिँदै जानु स्वाभाविक थियो ।
अन्तरविरोधको आवाज जब सतहमा देखिन थाले, राज्यले यसको निराकरण वैज्ञानिक तरिकाले गर्न असफल भयो । प्रयास नभएकै पनि होइन, दासप्रथाको अन्त्य, सतिप्रथाको अन्त्य, छुवाछुत विरुद्धका कानुन निर्माण तथा भूमिको हदबन्दीजस्ता प्रगतिशील प्रयास नभएका होइनन् तर पनि कार्यान्वयनको पक्षमा यो फितलो हुन पुग्यो, जसले गर्दा आशातीत परिणाम दिन सकेन । समाजमा असमानता कायमै रह्यो, जसले गर्दा अन्तरविरोध पनि बढ्दै गयो । यसले गर्दा देशले २००७ साल, २०४६ साल, २०५२–६२ सम्मको १० वर्षे हिंसात्मक घरेलु युद्ध झेल्नुपर्यो ।
यही विभाजित नेपाली मन र बढेको अन्तरविरोधमा खेल्ने मौका बाह्य शक्तिले पनि पाए । यही विभाजित मनलाई अझै विभाजित गर्ने गरी सचेत नेपालीले कहिल्यै नमागेको सङ्घीयता जबर्जस्त चोरबाटोबाट घुसाइयो । अधिकार वितरणको नाममा जात, धर्म, भूगोल र क्षेत्रको आधारमा स्वायत्त प्रदेश निर्माण तथा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेसम्मका तयारी हुन थाले । यसरी देशकै अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकता नै जोखिममा पर्ने हो कि भन्ने त्रासको अवस्था बन्न पुग्यो । विभाजित नेपाली मन सडकमै पोखिने अवस्था बन्यो । त्यति बेलै फाटेका मन अहिले पनि पूर्ण रूपमा जोडिन सकेको छैन । बेलाबेला सडकमै पोखिन पनि पुग्दछन् ।
यिनै विभाजित मनमा विष घोल्न बाहिरबाट यहीँका वैद्य पनि तयार पारेजस्तो घटित घटनाक्रमले देखाउन थालेको छ । यही राजनीतिक र आर्थिक अवस्थाले तत्कालै देशका आधारभूत असमानता निर्मूल पक्कै हुनेछैन नै, विभाजित मन समृद्धिको बाधक बनिरहनेछ । यही व्यवस्थामा ‘समृद्ध नेपाल सुखी नेपाली’ बन्ने अवसर सबै नेपालीको झोलीसम्म समान रूपमा पुग्नैपर्नेछ । त्यसका लागि राष्ट्रिय एकताको निर्माण हुनैपर्नेछ तर विभाजित मनलाई अझ विभाजित गर्न क्याटालिस्टको काम गर्ने स्वदेशी तथा विदेशी वैद्यबाट हरेक नेपाली सचेत हुनै पर्नेछ, होइन भने यही विभाजित मन बोकेर सडकमा पोखिरहने र विभाजित मन बोकेर अनन्त यात्रा निस्कने हो भने अन्तत: देश विघटनको बाटोमा जानबाट रोक्न सक्ने शक्ति बाँकी रहने छैन । त्यसैले सामाजिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक र भौगोलिक अवस्थाको गहिरो अध्ययन र गतिलो शल्यक्रिया गरेर मात्र आगामी मार्गचित्र कोर्नु आजको आवश्यकता हो ।
हरेक जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति भएका यो देशको कुनै पनि भूगोलमा बस्ने हरेक नेपालीले नेपालको राज्यसत्तामा सम्मानजनक पहुँच पाउनुपर्दछ । राज्यको ढुकुटी भर्ने कर्ममा योगदान दिनेलाई मात्र नभएर समान वितरणमा पनि सबैको समान सहभागिता हुनैपर्दछ ।
राज्यको ढुकुटीबाट वितरण हुने सेवा, अर्थ वा अवसर समान रूपमा जनताको झोलीसम्म पुर्याउनु अर्को आजको अवश्यकता हो, जसले फाटेका मन जोड्ने रसायनको काम गर्नेछ । त्यसले राष्ट्रिय एकता मजबुत बनाउनेछ । यही बलियो राष्ट्रिय एकताले बाह्य हस्तक्षेपको चट्टानी प्रतिरोध गर्दै समृद्धिको द्वार खोल्नेछ । सबैलाई अलग कोही हैन, रङ्गीन फूलको एउटै माला नेपाल र नेपाली बनाउनेछ ।





