न्युयोर्क (अमेरिका), १० कात्तिक । भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा व्यापक सुधार गर्न र भिटो अधिकारलाई सङ्कीर्ण राजनीतिक स्वार्थको साधन बन्न नदिन आग्रह गरेको छ । भारतका स्थायी प्रतिनिधि पर्वथानेनी हरिशले भिटो प्रयोग गर्दा पाँच स्थायी सदस्यले संयम अपनाउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार संयुक्त राष्ट्रसङ्घ स्थापनादेखि करिब २०० प्रस्तावमा ३३१ पटक भिटो प्रयोग भएको छ । सन् २०२२ मा भिटो प्रयोगपछि महासभामा छलफल अनिवार्य गर्ने व्यवस्था भए पनि यसको प्रयोग रोक्न प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो ।
भारतले सदस्य सङ्ख्या, क्षेत्रीय प्रतिनिधित्व, परिषद्को आकार, कार्यविधि र भिटो अधिकारसम्बन्धी पाँचै विषयमा एकसाथ सुधार गर्नुपर्नेमा जोड दिएको छ । स्पष्ट समयसीमा र लक्ष्यसहित लिखित प्रस्तावमा आधारित वार्ता तत्काल सुरु गर्न पनि आग्रह गरेको छ ।
परिषद्का निर्णयमा सहमतिको अलिखित नियमले कुनै एक सदस्यलाई निर्णय रोक्न सक्ने भन्दै भारतले अप्रत्यक्ष भिटोको अभ्यासप्रति पनि ध्यानाकर्षण गराएको छ । भारतले साझा अफ्रिकी स्थितिसँग आफ्नो धारणा मेल खाने उल्लेख गर्दै सुधारिएको परिषद्का सबै स्थायी सदस्यलाई समान अधिकार र जिम्मेवारी दिनुपर्ने बताएको छ । भिटो अधिकार कायम रहेमा सबै स्थायी सदस्यले समान रूपमा पाउनुपर्ने र छुट्टै श्रेणी बनाउँदा असमानता बढ्ने हरिशको भनाइ छ ।





