खिमराज चालिसे, चन्डिगढ ।
भारतको पन्जाब राज्यअन्तर्गत मोहाली जिल्लाको चुन्रीखरडबाट नेपालका लागि हिँडेका २७ वर्षीय नेपाली युवक विजय खत्री लुटिएर अलपत्र परेको अवस्थामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरी स्वदेश पठाएको छ ।
कञ्चनपुर घर भएका खत्री अटोचालक र सहयात्रीबाट २०८३ कात्तिक १० गते लुटिएको जानकारी पाएपछि मूल प्रवाहले उद्धार गरी स्वदेश पठाएको हो ।
पीडित खत्रीका अनुसार उनी यात्राका लागि एउटा अटोमा यात्रा गरिरहेका थिए । गुडिरहेको अटोभित्रैका चालक र सवारीकै रूपमा भित्रै बसेका अर्का एक जना (चालकका साथी) मिलेर कुरालीखरड सडकखण्डको सुनसान जङ्गलमा पुर्याएर खत्रीको ११ हजार भारु नगद, एक झोला लत्ताकपडासमेत लुटपाट गरिएको थियो ।
लुटपाटपछि अलपत्र परेका खत्री कुरारीबाट सरकारी बसबाट चन्डिगढ सेक्टर १७ मा आई प्रहरीलाई घटनाबारे बताएका थिए तर पनि उनलाई कुनै सहयोग नमिलेको पीडित खत्री बताउँछन् । त्यसपछि उनी चन्डिगढकै सेक्टर २८ पुगेर मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको सम्पर्कमा पुगेका थिए ।
चालिसेले घटनाको विवरण सुनेपछि मानवीय सहयोग गर्दै समाजसेवी नोखिराम भण्डारीसँग नेपाल–भारत सीमासम्म पुर्याइदिन आग्रह गरेका थिए । चालिसेको आग्रहलाई स्वीकार गर्दै समाजसेवी भण्डारीले पीडित खत्रीलाई स्वर्गद्वारी ट्राभल्समार्फत नि:शुल्क पठाउने व्यवस्था मिलाएका थिए ।
बुबा मानबहादुर खत्री बिरामी परेको थाहा पाएर घर कञ्चनपुर हिँडेका पीडित खत्रीले उद्धारका लागि मूल प्रवाहलाई धन्यवाद ज्ञापन गरेका छन् ।





