खिमबहादुर विक, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
० राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय पार्टीस्कुलमा भाग लिन आउनुभएका खिमबहादुर विकलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
:: नमस्कार ।
० आरामै हुनुहुन्छ ?
: नमस्कार, ठिकै छु ।
० अहिले तपाईं कता प्युठानबाट आउनुभयो कि प्रवासबाट ?
:: म राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय प्रशिक्षणमा भाग लिन प्युठानबाट आएको हुँ । मलाई प्युठानको पार्टी कमिटीले पठाएको हो ।
० प्रशिक्षण कस्तो भइरहेको छ र कस्तो लागिरहेको छ ?
:: यो प्रशिक्षण उच्चस्तरीय छ । विशेष गरेर समाजवाद हुँदै साम्यवादी राज्यव्यवस्थाको परिकल्पना गर्ने हामी कम्युनिस्ट कार्यकर्ताका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ । यहाँ प्रस्तुत भएका विषयले मलाई धेरै प्रस्ट बनाएको छ । लामो समयदेखि अध्ययन गर्दै र व्यवहारमा लागु गर्दै आएका थुप्रै विषयमा थप स्पष्ट हुने अवसर मिलेको छ । आगामी दिनमा पार्टीको आन्दोलन र क्रान्तिमा अघि बढ्न यसले हामीलाई साहस र हौसला प्रदान गरेको छ ।
अहिलेसम्म २०–२२ ओटा महत्त्वपूर्ण विषय अत्यन्तै सरल र बोधगम्य तरिकाले प्रस्तुत गरिएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि मात्र नभई सिङ्गो संसारलाई वर्गीय शोषणबाट मुक्त गराउने दिशामा प्रशिक्षकहरूले अत्यन्तै मिहिनेत गरेर प्रशिक्षण दिनुभएको महसुस गरेको छु ।
० अहिलेसम्मको प्रशिक्षणमा मुख्यतया कुन विषयमा बढी जोड दिइएको महसुस गर्नुभयो ?
:: मुख्य कुरा त दृष्टिकोण नै हो । जबसम्म दृष्टिकोण सही हुँदैन, तबसम्म हामीले कुनै पनि विषयको सही फैसला गर्न सक्दैनौँ । वर्गविहीन समाज निर्माणमा अघि बढेका कार्यकर्ताका लागि माक्र्सवादी दर्शन र दृष्टिकोण नै सबैभन्दा महत्त्वपूर्ण विषय हो ।
कार्यकर्ताको दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी साँचोमा ढालेर हेर्न क्लियर भएपछि मात्र अन्य कुरामा प्रवेश गर्न सकिन्छ । प्रशिक्षणमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, पर्यावरण, आइकोर, समाजवाद, सङ्गठन र पार्टीबिचको अन्तरसम्बन्ध, सङ्गठन सञ्चालन, जनवर्गीय मोर्चा र पार्टीमाझको अन्तरसम्बन्धलगायत राष्ट्रियता र जनजीविकासँग जोडिएका थुप्रै विषय समेटिएका छन् । यी सबै महत्त्वपूर्ण भए पनि दर्शन र सही दृष्टिकोण नै निर्णायक चिज भएकाले मलाई यो बढी महत्त्वपूर्ण लाग्यो ।
० प्रशिक्षण दिने पार्टीभित्रकै नेताहरू हुनुहुन्छ कि बाहिरबाट पनि विज्ञहरू आउनुभएको छ ?
:: प्रशिक्षण मूलत: हाम्रा पार्टीभित्रकै वरिष्ठ प्रशिक्षकले दिनुभएको छ । यसबिचमा स्वास्थ्यसम्बन्धी विषयमा मुटुरोग विज्ञ डा. सुमन्त बञ्जाडेले पनि एउटा क्लास लिनुभयो, जुन हाम्रा लागि धेरै उपयोगी थियो ।
पार्टीभित्रका साथीहरूका अलावा विशेष गरेर महामन्त्री मोहनविक्रम सिंह ९२ वर्षको उमेरमा पनि हामीभन्दा फुर्तिलो र जोसिलो भएर निरन्तर खटिनुभएको छ । उहाँले दिनमा दुईतीनोटा सम्म क्लास सञ्चालन गरिरहनु भएको छ । कुल मिलाएर अत्यन्तै अनुशासित र सानदार रूपमा पार्टीका विज्ञ प्रशिक्षकबाट प्रशिक्षण चलिरहेको छ ।
० व्यावहारिक प्रशिक्षण भनेको कस्तो हो ?
:: मैले अहिलेसम्म धेरै क्लासमा भाग लिएको छु तर यो व्यावहारिक क्लास मलाई अत्यन्तै महत्त्वपूर्ण लाग्यो । यसमा दुईतर्फी विचार आदानप्रदान हुन्छ । प्रस्तुत विषयमा प्रशिक्षार्थीले आफ्ना राय, योजना र प्रस्तुत हुने तरिकाबारे धारणा राख्न पाउँछन् ।
राष्ट्रिय जनमोर्चाको स्कुल विभागले सैद्धान्तिक क्लाससँगै चार/पाँच दिनको जुन व्यावहारिक क्लास तय गर्यो, यो नभई नहुने क्लास रहेछ । एकहोरो सुनेर वा लेखेर मात्र हुँदैन, सबै कुरा व्यवहारमा नै लागु हुने हो । हामीले यो व्यावहारिक क्लासको राम्रो सदुपयोग गर्न पायौँ ।
० व्यावहारिक प्रशिक्षणमार्फत आफूले नबुझेका कुरा वा व्यावहारिक अप्ठ्यारा व्यक्त गर्न पाउनुभएको छ ?
:: हो । जस्तै महामन्त्रीजीले कुनै विषय प्रस्तुत गर्नुभयो भने त्यसपछि हामीलाई पाँच मिनेटको समय दिइन्छ । सङ्गठन सञ्चालन वा विस्तारमा आएका बाधाअड्चन, हामीमा हुनुपर्ने कला, ज्ञान र हाम्रा कर्तव्यबारे हामीले आफ्ना व्यावहारिक अनुभव र धारणा राख्छौँ । त्यसपछि प्रशिक्षकले त्यसको निष्कर्ष दिनुहुन्छ । यसले गर्दा यो पक्ष अत्यन्तै लाभदायक र महत्त्वपूर्ण हुछ ।
० तपाईं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समय कार्यरत हुनुहुन्थ्यो । प्रवासको सङ्गठन र प्रशिक्षणको अनुभवका आधारमा यहाँको प्रशिक्षणमा के फरक पाउनुभयो ?
:: म लामो समयसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध रहेँ । केही समय अघिसम्म म मध्यदक्षिण क्षेत्रीय समितिको अध्यक्ष नै थिएँ ।
स्वदेश र प्रवासमा हुने प्रशिक्षण मूलत: सैद्धान्तिक रूपले एउटै हुन्छन् किनकि दुवै नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको नीतिसिद्धान्तमा आधारित छन् तर कार्यक्षेत्रको भिन्नताले गर्दा केही फरक हुन्छ । प्रवासमा मजदुर वर्गको बाहुल्य छ । भारतभरि छरिएर रहेका लाखौँ नेपालीलाई सचेत गराउँदै राष्ट्रियता, जनतन्त्र र उनीहरूका समस्या समाधानमा मूल प्रवाहले काम गर्छ । त्यहाँ कोठी, चौकीदार, अफिस तथा मजदुरका भिन्न प्रकारका समस्या हुने भएकाले सोहीअनुसार प्रशिक्षण दिइन्छ । स्वदेशमा भने यहाँको माटो, किसान र स्थानीय राजनीतिक परिवेशसँग जोडिएका विषय बढी हुन्छन् ।
० प्रवासबाट बिदा भएर स्वदेशमै काम गर्न आउँदा यहाँ र प्रवासमा सङ्गठन निर्माण गर्ने तरिकामा कत्तिको भिन्नता पाउनुभयो ?
:: ठुलो भिन्नता छ । भारतमा पुँजीवादको विकास भएकाले मजदुर वर्गको बिचमा सङ्गठन गरिन्छ । स्वदेशमा पुँजीवादको पर्याप्त विकास नभएकाले मजदुर वर्ग सीमित छ र धेरैजसो क्षेत्र किसान तथा अन्य तहसँग जोडिएको छ ।
भारतमा नोकरीबाट बचेको समय दिनुपर्ने, भाषा र संस्कृति नमिल्नेजस्ता आफ्नै अप्ठ्यारा छन् । नेपालमा भने भौगोलिक विकटता, चेतनाको स्तर, राजनीतिक तरलता र प्रतिक्रियावादी शक्तिको नकारात्मक प्रचार मुख्य चुनौती हुन्, साथै हामीसँग पर्याप्त साधनस्रोत, आर्थिक स्रोत र पूर्णकालीन कार्यकर्ताको कमीले पनि कठिनाइ हुन्छ ।
अहिले प्रविधि र एल्गोरिदमको दुरूपयोग गरी युवालाई भड्काउने र वामपन्थी आन्दोलनलाई कमजोर पार्ने साम्राज्यवादी खेल भइरहेको छ । राजनीतिप्रति घृणा फैलाउने काम गरिएको छ । यस्तो संवेदनशील र गम्भीर राजनीतिक परिस्थितिमा सम्पूर्ण देशभक्त, प्रजातान्त्रिक र वामपन्थी शक्ति एकजुट भएर राष्ट्रियता र जनजीविकाको रक्षाका लागि जुर्मुुराउनुपर्ने आवश्यकता छ ।
० प्रशिक्षण लिएर फर्किएपछि प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्नेबारे केही योजना बनाउनुभएको छ ?
:: थुप्रै योजना बनेका छन् । हामी सधैँ पार्टीसङ्गठनकै काममा खटिने कार्यकर्ता हौँ । यो प्रशिक्षणले मलाई नयाँ ऊर्जा दिएको छ ।
मौलिक सुझबुझ प्रयोग गरिएन भने चाहेजस्तो सङ्गठन बनाउन सकिँदैन भन्ने कुरा महामन्त्रीको क्लासबाट अझ प्रस्ट भयो । पार्टीको अनुशासन, नीतिकार्यक्रम र सिद्धान्तको परिधिभित्र रहेर मैले आफ्नो गाउँ र जिल्लामा काम गर्ने योजना बनाउनेछु । प्युठान फर्किएपछि राष्ट्रिय जनमोर्चा जिल्ला कमिटीसँग सरसल्लाह गरी सङ्गठनलाई थप चुस्तदुरुस्त र व्यापक बनाउने तथा पार्टी नीतिलाई जनतामाझ पुर्याउने कार्यमा लाग्नेछु ।
० अन्त्यमा युगदर्शन मिडियामार्फत केही भन्न चाहनुहुन्छ ?
:: सर्वप्रथम युगदर्शन मिडिया प्रालिका सम्पादक प्रकाश थापामगरजी र युगदर्शन मिडियालाई मेरा विचार राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।