काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीविपरीत चिकित्सक तथा कर्मचारीको काज सरुवा गरेको छ। मन्त्री निशा मेहताले दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्ने दाबी गरे पनि पछिल्लो सरुवामा दरबन्दी नै नभएका ठाउँमा चिकित्सक पठाइएको छ।
मन्त्री मेहताले स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको निर्देशकबाट डा. मदन उपाध्यायलाई हटाएर वीर अस्पतालमा पठाउँदै भरतपुर अस्पतालका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ओम अर्याललाई महाशाखाको निर्देशक बनाएकी छन्। दुवै सरुवा सम्बन्धित दरबन्दीविपरीत छन्।
यसैगरी, आपूर्ति व्यवस्थापन शाखाको खरिद प्रमुखमा दया पन्तलाई ल्याइएको छ। पन्त यसअघि पनि उक्त शाखामा कार्यरत थिए। उनको कार्यकालमा स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रक्रियामा मिलेमतो र व्यापारीको स्वार्थअनुकूल स्पेशिफिकेसन बनाइएको आरोपमा विवाद भएको थियो।
यसअघि उनलाई व्यवस्थापन महाशाखाबाट राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको थियो। अहिले पुनः खरिद शाखामै ल्याइएपछि स्वास्थ्य उपकरण खरिदमा विवादित पृष्ठभूमि भएका व्यक्तिलाई जिम्मेवारी दिइएको भन्दै मन्त्रालयको निर्णयमाथि प्रश्न उठेको छ।
परिवार कल्याण महाशाखाको निर्देशकमा पब्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूहको ११औँ तहको दरबन्दी हुने व्यवस्था भए पनि अर्थोपेडिक सर्जन डा. अर्याललाई जिम्मेवारी दिइएको छ। त्यस्तै, ट्रमा सेन्टरमा दरबन्दी रहेका डा. उपाध्यायलाई वीर अस्पतालमा पठाइएको छ।