अर्घाखाँची, साउन २९ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) की नेतृ तथा अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव कामरेड सकुन्तला रानाको निधन भएको छ । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी रानाको भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा २०८३ साउन २९ गते निधन भएको हो ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा २०८३ साउन २९ गते जारी श्रद्धाञ्जली वक्तव्यमा रानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।
पार्टीका अनुसार राना पार्टीकी सक्रिय सदस्य हुनुका साथै अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव तथा नेकपा (मसाल) अर्घाखाँची जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँले अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन तथा पार्टीको संगठनात्मक र राजनीतिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
पार्टीले रानालाई सादगीपूर्ण जीवनशैली, इमानदारी, जुझारुपन र कर्तव्यनिष्ठाका लागि परिचित कम्युनिस्ट नेतृका रूपमा स्मरण गरेको छ । सामाजिक परिवर्तनप्रतिको दृढ इच्छाशक्ति र कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धताका कारण उहाँ प्रतिकूल परिस्थितिमा समेत निरन्तर सक्रिय रहनुभएको पार्टीको भनाइ छ ।
रानाको निधनले अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन र नेकपा (मसाल) को आन्दोलनमा गम्भीर क्षति पुगेको पार्टीले उल्लेख गरेको छ ।
