दुर्गानाथ खरेल ##
ऋग्वेदको रचना इसापूर्व १५०० भन्दा पहिले भएको अनुमान छ । ऋग्वेदिक सभ्यता करिब १००० वर्षको मान्दा ऋग्वेदको रचना इसापूर्व २५००–१५०० को अवधिमा भएको थियो भन्ने निष्कर्ष निस्कन्छ । ऋग्वेदको रचनापछि अथर्ववेद र ब्राह्मण ग्रन्थको रचना भएको हो । त्यसैले त्यो अवधि करिब ५०० वर्ष मानिन्छ । धर्मसूत्रहरू इसापूर्व ४०० देखि सन १०० सम्मको अवधिमा गरिएको हुनुपर्छ । सप्तसिन्धु क्षेत्र पूर्ववैदिक समाज र सभ्यताको क्षेत्र हो । उत्तरवैदिक समाज र सभ्यताको भूगोल सिन्धु घाँटीक्षेत्र हो ।
ऋग्वेदलाई आफ्नो पवित्र ग्रन्थ मान्ने, संस्कृत भाषा बोल्ने र इन्द्र, अग्नि, बरुण, सूर्य, सविता, उषा, अश्विनीकुमार आदि देवताको पूजा गर्नेहरूले आफूलाई आर्य भन्दथे । विद्वान्हरूले सप्तसिन्धु वा त्यसको आसपासको क्षेत्रलाई आर्यको आदिस्थलको रूपमा मान्नुपर्ने अपुष्ट तर्क गरेका छन् ।
इसापूर्व ३००० तिर सिन्धुघाँटीमा नगर सभ्यताको विकास भएको थियो । त्यहाँ लेखनकलालगायत सभ्यताका अन्य कलाको समेत विकास भइसकेको थियो । सिन्धुघाँटीको प्रागैतिहासिक सभ्यता आर्यको आगमनबाट नष्ट भयो । आर्यले इसापूर्व १७५० तिर सिन्धुघाँटीमा प्रवेश गरेर त्यहाँको सभ्यतामा हमला गर्दै ध्वस्त पारेका थिए ।
ऋग्वेदको रचना पहिले मौखिक रूपमा भएको धेरै पुस्तासम्म मौखिक रूपमा नै हस्तान्तरण भएर चौधौँ शताब्दीको उत्तराद्र्धमा मात्र लिपिबद्ध भएको मानिएको छ । त्यसको मौखिक रचनाको समयमा नै आर्यले सप्तसिन्धु क्षेत्रमा आफ्नो प्रभाव जमाइसकेका थिए । आर्य र अनार्यबिच लामो समयसम्म कठोर सङ्घर्ष भएको थियो । सप्तसिन्धु क्षेत्र भनेको सात नदीद्वारा सिञ्चित क्षेत्र हो । यमुना नदी सप्तसिन्धुका सीमान्त नदी थिए ।
गङ्गा प्रदेशमा आर्य ऋग्वेदकालभन्दा पछि मात्र आइपुगेका थिए । इसापूर्व ३००० मा वैदिक युग सुरु भएको थियो । त्यो सजिलै अनुमान गर्न सकिन्छ । इसापूर्व १५०० भन्दा पहिलेको पूर्ववैदिक सभ्यता र त्यो भन्दा पछिको उत्तर वैदिक सभ्यता हो ।
वैदिक आर्य घुमन्ते अवस्थमा थिए । सप्तसिन्धु प्रदेशमा आएपछि स्थायी बस्ती र फाँटमा स्थायी रूपले खेती गर्न थाले । उत्तरवैदिक कालमा नगरको विकास गरे । राजधानी नगर व्यवस्थित रूपमा बनाइएका थिए । एउटा गाउँसमाजको एउटा स्वतन्त एकाइजस्तो हुन्थ्यो । गाउँको अगुवालाई ग्रामपति भनिन्थ्यो । घरमा काठका खम्बा, ढुङ्गामाटोको पर्खाल र खरले छाएको बनाइएका हुन्थे ।
उपनिषद्कालमा घर शाला र महाशाला हुन्थ्ये । व्यवस्थित घरमा पशुसमेतलाई छुट्याएको हुन्थ्यो । पशुधन नै आर्यको मुख्य सम्पत्ति हुन्थ्यो । पशुधनमा मुख्य गाई र त्यसपछि घोडा थिए । पशुधन थिए र पशुपालन पेसा थियो । ऋग्वेदिक आर्यका अन्नमा जौ, धान र गहुँ मुख्य थिए । उत्तरवैदिक कालमा विभिन्न खालका धान, दलहन, जौ, गहुँ, कोदोसमेतको खेती गरिन्थ्यो । वैदिककालमा व्यापार पनि हुन्थ्यो । व्यापार वस्तुविनिमयमा आधारित थियो । ऋग्वैदिक कालमा लेखनकला विकास भएको थिएन । यातायातका मुख्य साधन हात्ती, घोडा र रथ थिए ।
पूर्ववैदिक कालमा समाज एकल आर्यजातीय थियो भने उत्तरवैदिक समाज गोरावर्णका आर्य र काला वर्णका अनार्यको थियो । आर्य र अनार्यबिच धेरैपटक युद्ध भएको र हजारौँको सङ्ख्यामा अनार्यहरू मारिएको सन्दर्भ ऋग्वेदमा पाइन्छ । सयौँ वर्षसम्म लडाइँ भइरहेको अवस्था थियो । उत्तरवैदिक कालमा कृषि कर्मको व्यापकता र दासप्रथाको प्रचलनले समाज विभिन्न वर्गमा विभाजन भइसकेको थियो ।
पूर्ववैदिककालमा आर्यबिच विभेद र असमानता नरहेको बुझिन्छ । जातिप्रथाको आधारमा गरिने छुवाछुत तथा उचानिचाजस्तो चरम भेदभावपूर्ण व्यवहार इसापूर्व ६००–३०० मा सुरु भएको र इसापूर्व ४००–१०० मा विकास भएको मानिन्छ । परिवार वैदिक समाजको राजनीतिको आधारभूत एकाइ थियो । संयुक्त परिवार हुन्थे । विभिन्न खण्ड भएका ठुला घर हुन्थे । परिवारको स्वरूप पुरुषप्रधान हुन्थ्यो । गृहपति भनिने परिवारका नेता सबैभन्दा जेठा पुरुष हुन्थे । ऋग्वैदिक कालको उत्तरार्धमा समाजमा स्थिर वैवाहिक सम्बन्ध र परिवार समाजको प्रमुख आर्थिक आधार बन्दै गएको थियो । अतिथिलाई सम्मान गर्ने हिन्दुहरूको चलन वैदिककालदेखि चल्दै आएको थियो ।
पूर्वीय आर्यले पनि वैदिककालमा गाईको मासु खाने गर्दथे । महिलाले कपाल कोरेर चुल्ठो पार्ने र पुरुषले दाह्रीजुँगा, कपाल खौरेर टुप्पी पाल्ने त्यतिखेरदेखिकै चलन थियो ।
वेदलाई लिपिबद्ध गर्ने काम चौधौँ शताब्दीमा भएको हो । आफूसँग भएको ज्ञान मौखिक रूपले अरूलाई दिने काम पूर्ववैदिक कालको शिक्षा थियो । उत्तरवैदिक कालमा गुरुकुलीय शिक्षाको आधार तयार भएको थियो । वैदिक साहित्यको अन्तिम ग्रन्थ उपनिषद्को रचनाकालमा गुरुकुलीय शिक्षा पद्धतिको प्रारम्भ र विकास भएको थियो ।
ऋग्वेदकालदेखि ज्वरो, क्षयरोग, कमलपित्त, हृदयरोग आदि जानकारी र उपचारका बारेमा चर्चा भएको थियो । उत्तरवैदिक कालमा तन्त्रमन्त्र, टुनामुना, धामीझाँक्री, बोस्की आदि अन्धविश्वासको भ्रुण तयार भएको थियो । वैदिककालमा नै जुवा खेल्ने र सुरापान गरेर मस्त हुने गरेको पाइन्छ ।
आफ्नो गोत्र र परिवारमा विवाह नगर्ने चलन इसापूर्व ६०० वर्षभन्दा पुरानो होइन । ऋग्वैदिक कालको उत्तरार्धतिर समाजमा एकनिष्ठ विवाह सुरु भइसकेको थियो । १६–१७ वर्ष पुगेकी युवती ब्रह्मचार्य अवस्थामा रहेर अध्ययन पूरा गर्ने र आफै वर छानेर विवाह गर्ने चलन थियो । इसापूर्व चौथो शताब्दीपछि महिनावारी सुरु हुनुभन्दा पहिल्यै विवाह गरिदिने कुरा धर्मसूत्रमा उल्लेख छ । सन् ३००–६०० मा आएर सुरु भएको बालविवाहको कुप्रथा आधुनिक कालभन्दा पहिलेसम्म चलिरहेको छ ।
वैदिककालमा सतिप्रथा थिएन, इसापूर्व ३०० तिर मात्र सुरु भएको अनुमान छ । महाभारत कालमा सति जाने र नजाने दुवै प्रथा थियो । वैदिककाल, बुद्धको समय र धर्मसूत्रको समयसम्म हिन्दु समाजमा विधवाको सम्मानजनक स्थान थियो । मनुले विधवाले विवाह गर्ने कुरामा कडा रोक लगाए । त्यसपछि समाजमा विधवाले विवाह गर्ने कुरा हराउँदै गयो ।
अलौकिक शक्तिप्रति गरिने आस्था, विश्वास र आदरभाव युक्त व्यवहारको कुलयोग धर्म हो । धर्मको मुख्य चारित्रिक विशेषता मानव मस्तिष्कमा बाह्य शक्तिको भ्रमपूर्ण प्रतिबिम्ब हो । धर्ममा लौकिक शक्तिलाई अलौकिक शक्तिका रूपमा मान्ने गरिन्छ । अज्ञानी कर्मबाट धर्म र धार्मिक क्रियाकलापको उदय भयो । वर्गविभाजनपछि शासक वर्गले धर्मलाई आफ्नो सत्तारक्षाका लागि वैचारिक हतियारको रूपमा प्रयोग गर्न थाले ।
प्राचीन धर्ममध्ये वैदिक धर्म पनि एउटा हो । दिन सक्नेबाट केही माग्ने देव हो । यज्ञ भनेको जीवननिर्वाहका साधन र स्वयम् जीवनको उत्पादन र उपभोग गर्ने सामूहिक कार्य हो । प्रारम्भिक खालको वैदिक धर्म बहुदेववादी र प्रकृतिपूजक चरित्रको थियो ।
धर्मका आधार वस्तुगत हुन्छन् तर धर्म चेतनागत पक्ष हो । समाजको वस्तुगत अवस्था परिवर्तन भएपछि धर्मको चरित्रमा पनि परिवर्तन हुन्छ । ऋग्वेदमा सबै देवताको वास्तविक सार एउटै हो भनिएको छ । विभिन्न जननेताको ठाउँमा एउटै राजा मान्ने थालेपछि एउटै ईश्वर मान्न थालिएको हो । अथर्ववेदकालीन वैदिक धर्म परमात्मा परमेश्वरवादी चरित्र भएको बयान छ । ऋग्वेद र अथर्ववेदकालमा स्वर्गमा हामी सपरिवार जान पाऔँ भन्ने प्रारम्भिक अवधारणा थिए । त्यसपछि स्वर्गसम्बन्धी अवधारणा विकास भएको हुन सक्छ । वेदकालीन समयमा नर्कसम्बन्धी कुनै अवधारणा विकास भएको पाइन्न ।
शरीरबाट आत्म अलग भएर गएकाले मृत्यु हुन्छ भन्ने अवधारणाका भु्रण ऋग्वेदकालमा विकास भएका थिए । अथर्ववेदमा आत्माको स्वतन्त्र अस्तित्व छ र त्यसले पुनर्जन्म लिइरहन्छ भन्ने धारणाको विकास भएको पाइन्छ । वैदिक साहित्यको वायु, प्राण, चित्त, चेतना आदि तत्त्वलाई आत्मा भनेको र उपनिषद्कालमा ब्रह्मतत्त्वको रूपमा परिभाषित गरेको पाइन्छ । मोक्षबारे कुनै धारणा बनिनसकेको भए पनि कर्म र कर्मफलसम्बन्धी अवधारणा वेद र ब्राह्मणको रचनाकालमा वर्णन पाइन्छ ।
उपनिषदकालमा आत्मज्ञानप्राप्तिलाई मोक्षप्राप्तिको मान्यता दिइएको थियो । हिन्दु धार्मिक व्यक्तिले गर्ने चारोटा मुख्य काममध्ये पहिलो धर्म हो । यसअन्तर्गत मान्छेका कर्तव्यको कुल योग पर्दछ । दोस्रो अर्थ हो– यसअन्तर्गत सांसारिक सुखप्राप्तिका साधन प्राप्त गरिन्छ । तेस्रो काम हो– त्यसमा यौनतृप्तिलगायत आनन्द र सन्तुष्टि पर्दछन् । चौथो मोक्ष हो । यसमा सांसारिक सुखदु:खबाट मुक्ति पाउने भनिन्छ । यसरी आफूले पूरा गर्नुपर्ने कर्तव्यको बारेमा सिक्ने र व्यक्तित्व निर्माण गर्ने आश्रमलाई ब्रह्मचार्य आश्रम भनिन्छ । यसलाई ज्ञान यज्ञस्थल भनेर पनि मानिन्छ ।
गुरुसँग बिदा भएर यो आश्रमबाट मान्छे गृहस्थाश्रममा फर्कन्छ । यस आश्रमलाई महŒवपूर्ण चरण र यज्ञ स्थान भनेर पनि मानिन्थ्यो । यसलाई कर्म गर्ने स्थल पनि भनिन्छ । २५ वर्षसम्म गृहस्थाश्रममा रहेर कर्मयज्ञ गरिसकेपछि वानप्रथाश्रमको चरण सुरु हुन्छ । गहन चिन्तनद्वारा आत्मा र परामात्मासम्बन्धी रहस्यको अनुसन्धान गर्नु र भक्तियज्ञ सम्पन्न गरी ज्ञानीभक्त बनेर मोक्ष प्राप्त गर्नु यस आश्रमको लक्ष्य हो । पहिलो यज्ञ अध्ययन र दान, दोस्रो वानप्रस्थ आश्रम र सन्यास आश्रमअन्तर्गत रहने गरी तप र तेस्रो ब्रह्मचार्य हुने गरी समाजलाई नियमन गर्ने प्रयत्न गरिएको थियो तर पछि त्यो मान्यता हराउँदै गयो ।
ऋग्वेदकालीन आर्यको ग्राम्य समाज वर्गमा विभाजित थिएन । जनलाई मिलाएर राज्य बनाइएको र त्यसको प्रमुखलाई राजा भनिएको थियो । आर्यजन ऋग्वेदकालमा नै विभिन्न ग्राम्य बस्तीमा विभाजित भएका हुन्थे । जनपतिले आआफ्नो जनपदमा राजनैतिक प्रशासनिक, व्यवस्थापकीय र सैनिक कार्यसमेतको नेतृत्व गर्दथे । सप्तसिन्धु क्षेत्रमा रहने समयका आर्यको पितृसत्ता कायम भइसकेको थियो तर वर्गभेद जन्मिसकेको थिएन ।
राज्य शब्दको प्रयोग ऋग्वेदमा भेटिन्न । अथर्ववेदमा एक शासनयन्त्रका रूपमा राज्यको चर्चा गरिएको छ । वैदिककालदेखि नै राजाको अस्तित्व थियो । त्यस बेलाका राजा निरङ्कुश नभई जनताप्रति उत्तरदायी थिए । राजामाथि जनताको नियन्त्रण थियो । पछि गएर कतै वंशानुगत कतै जननिर्वाचित गणतान्त्रिक शासनप्रणाली अस्तित्वमा आए । ऋग्वेदकालमा जनको नेतालाई राजा भन्ने, शासन राजा र समिति मिलेर गर्ने चलन थियो । ऋग्वेदकालदेखि इसापूर्व सातौँ शताब्दीसम्म समिति अस्तित्वमा थिए । उत्तरवैदिक कालमा राजनीतिक सभा र समितिको प्रभावशाली भूमिका रहन्थ्यो । वैदिककालमा एउटा वंशको बसोबास गाउँगाउँ मिलेर विश र विश मिलेर जन बन्दथे ।
ऐतिहासिक भौतिकवादको जन्म व्यवहारबाट भएको हो । अठारौँ शताब्दीमा पुँजीवादी युगले अध्ययन–अनुसन्धानमा खुकुलो र अनुकूल वातावरण बनायो । फ्रान्सेली भौतिकवादी दार्शनिकले मानिसका चिन्तन र व्यवहार सामाजिक परिवेशका उपज हुन् भन्ने धारणा अगाडि सारे ।
मोर्गनले जङ्गली र बर्बर युगलाई प्राग्एतिहासिक सभ्य युगलाई ऐतिहासिक युग भनेर विश्लेषण गरे । ‘प्राचीन समाज’ भन्ने किताबमा मोर्गनले जङ्गली युगको प्रारम्भिक चरणमा मान्छे जङ्गलमा बस्छ । फलफूल र कन्दमूल खाएर निर्वाह गर्छ । यो मानव समाजको शिशुकाल हो । मध्य चरणमा जलचर खाने र आगोको प्रयोग गर्छ । धनुर्वाणको आविष्कारपछि उन्नत चरण सुरु हुन्छ । माटाका भाँडा बनाउने कलाको आविष्कारपछि बर्बर युग सुरु हुन्छ । त्यसको मध्य चरण पूर्वी गोलार्धमा पशुपालन र पश्चिमी गोलार्धमा खेती गर्न लागेपछि सुरु हुन्छ ।
फलामको प्रयोगसँगै उन्नत चरण सुरु हुन्छ । लेखन, कला, लिपिको आविष्कार र अभिलेख राख्ने कार्यसँगै सभ्ययुग सुरु हुन्छ । सभ्ययुगमा समाज वर्गमा विभाजित हुन्छ ।
आर्यहरू सप्तसिन्धु क्षेत्रमा आउने बेलासम्म घुमन्ते अवस्थामा थिए । ऋग्वेदमा आर्यले प्रयोग गर्ने अधिकांश औजार तामा र फलाम धातुका थिए । ताम्रयुग इसापूर्व २५०० देखि १५०० सम्म रहेको थियो । उत्तरवैदिक कालमा फलामे युग सुरु भएको थियो । ऋग्वेदकालीन आर्य गाउँमा स्थायी घरबास बनाएर बस्दथे । तामाका औजार प्रयोग गर्दथे । उनीका कपडा बुनेर लगाउँथे । विभिन्न प्रकारका भाँडामा खाना पकाएर खान्थे र बर्बरयुगको उन्नत चरणमा थिए । निजी सम्पत्तिको जन्म भइसकेको थिएन । आर्य र अनार्यबाहेक अरू भेदभाव थिएन ।
ऋग्वैदिक वा पूर्ववैदिक कालको अन्त्यतिर मात्रै कामको आधारमा समाज चार वर्णमा विभाजित भएको थियो । उत्तरवैदिक कालमा मात्रै समाज दास र दासमालिकमा विभाजित भएको थियो । उत्तरवैदिक कालमा दासप्रथासहित समाज सभ्ययुगको प्रारम्भिक चरणमा प्रवेश गरेको थियो ।
वैदिक समाजको समयावधि करिब २००० वर्षको हो । त्यो अवधिमा सरल प्रकृतिवादी र प्रारम्भिक भौतिकवादी दर्शन, अथर्ववेद कालीन तन्त्रवादी वा रहस्यवादी दर्शन र उपनिषद् कालीन ब्रह्मवादी दर्शनको मूल अवस्था थियो ।
(यो लेख तयार पार्दा डा. वेदुराम भुसालद्वारा लिखित ‘वैदिक समाज र दर्शन’ तथा नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित पुस्तकको सहयोग लिइएको छ ।





