नयाँ दिल्ली, साउन ३० । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कार्यालयको आयोजनामा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । दिल्लीको बदरपुरस्थित सरोज भवनमा आयोजित श्रद्धाञ्जली सभा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको अध्यक्षता तथा उपाध्यक्ष कपिल खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले शकुन्तला रानाको साङ्गठनिक इतिहास र पार्टी तथा संगठनमा उहाँले पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभयो । उहाँले रानाको निधनले महिला आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
त्यसैगरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार ठाकुर खनालले रानाको उपचारका लागि सक्दो राम्रो उपचारको व्यवस्था गर्न प्रयास गरिएको बताउनुभयो । उहाँले उपचारका क्रममा सङ्गठनका नेता–कार्यकर्ताहरू प्रत्यक्ष रूपमा सहयोगमा जुटेको र पार्टी, सङ्गठन तथा परिवारलगायत सबै क्षेत्रबाट आर्थिक तथा अन्य सहयोग पुर्याइएको जानकारी दिनुभयो ।
उहाँले आर्थिक अभावका कारण उपचारमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले सबै पक्षबाट निरन्तर पहल गरिएको बताउँदै उपचारका लागि खटिनुभएका नेता–कार्यकर्ता, चिकित्सक, नर्स तथा आर्थिक सहयोग पुर्याउने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभामा उपस्थित वक्ताहरूले स्वर्गीय शकुन्तला रानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी, सङ्गठन तथा महिला आन्दोलनमा पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए।