नयाँ दिल्ली, १३ अगस्ट । भारतमा कार्यरत तीन नेपाली संगठनका नेताहरूबीच भारतस्थित नेपालीहरूका साझा समस्या तथा नेपालको समसामयिक राजनीतिक अवस्थाबारे महत्वपूर्ण छलफल भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय सरोज भवन, नयाँ दिल्लीमा सम्पन्न भेटघाटमा प्रवासी नेपालीका समस्या समाधानका लागि कार्यगत एकता गर्दै संघर्षलाई अगाडि बढाउने सहमति भएको युगदर्शनलाई ठाकुर खनालले जानकारी दिनुभएको छ ।
भेटवार्तामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ, भारत र नेपाली समाज भारतका प्रतिनिधिहरू सहभागी थिए । खनालका अनुसार छलफलपछि प्रवासी नेपालीहरूका साझा समस्या समाधानका लागि संयुक्त रूपमा पहल तथा संघर्ष अघि बढाउने र यस अभियानमा सहमत हुने अन्य पक्षहरूलाई समेत सहभागी गराउन प्रयत्न गर्ने सहमति भएको छ।
छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको थियो । सहभागी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउने, विद्यार्थी तथा कर्मचारीहरूलाई आफ्ना पेशागत मागका पक्षमा संगठित हुने अधिकारमा रोक लगाउने प्रयास गर्ने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने तथा सरकारविरुद्ध समाचार प्रकाशित गरेको आरोपमा पत्रकारहरूलाई गिरफ्तार गर्ने जस्ता गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारका गतिविधिले फासीवादी दिशातर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै सहभागीहरूले जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्ने समझदारीसमेत गरेका छन् ।
भेटघाटमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेल, निवर्तमान अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण हुमागाईं र नेपाली समाज भारतका सहसंयोजक आर.बी. खड्का सहभागी थिए । सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माको समेत सहभागिता रहेको थियो ।
भेटघाटलाई भारतस्थित नेपाली समुदायका साझा सवालमा सहकार्य विस्तार गर्ने तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, संविधान र धर्मनिरपेक्षताको पक्षमा संयुक्त राजनीतिक पहललाई अघि बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।