आनन्द शर्मा ##
हालै ब्राजिलमा सम्पन्न निर्वाचनमा अमेरिकी कठपुतली राष्ट्रपतिका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई हराउँदै लुइज इनासियो लुला दा सिल्भा पुन: विजयी भएका छन् । अमेरिकाको ट्रम्प प्रशासन जसरी पनि लुलालाई निर्वाचनमा हराउन चाहन्थ्यो । त्यसका लागि बोल्सोनारोलाई अमेरिकाले अगाडि सारेको थियो ।
वामपन्थी भनिने लुइज इनासियो लुला दा सिल्भा चौथोपटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् भने लगातार दोस्रोपटक निर्वाचित भएका हुन् । अघिल्लो कार्यकालका लागि लुला निर्वाचित हुनुभन्दा अगाडि जायर बोल्सोनारो ब्राजिलमा राष्ट्रपति थिए । जायर बोल्सोनारो अमेरीकी राष्ट्रपति ट्रम्पका समर्थक थिए । उनलाई दक्षिण अमेरिकाको ट्रम्प पनि भन्ने गरिन्थ्यो ।
बोल्सोनारो आफैले गराएको चुनावमा पराजित भई लुला निर्वाचित भएपछि चुनावमा धाँधली भएको भन्दै ट्रम्प शैलीमा नै ब्राजिलको संसद् भवन कब्जा गर्ने प्रयत्न गरेका थिए । प्रशासनले उनलाई पक्राउ गरेको थियो । हाल उनी आफ्नै निवासमा नजरबन्दमा छन् । हालैको निर्वाचनमा पराजित राष्ट्रपतिका उम्मेदवार फ्लाभियो बोल्सोनारो उनका जेठा छोरा हुन् ।
राष्ट्रपति लुला ब्राजिल, रुस, चीन, दक्षिण अफ्रिका र भारतसँगै ब्रिक्सको संस्थापक पनि हुन् । ब्रिक्सलाई अमेरिकाले स्थापनाकालदेखि नै आफ्नो चुनौतीको रूपमा लिँदै आएको छ । आफ्नो नाकैमुनिका दक्षिण अमेरिकी देश ब्राजिलमाथि अमेरिकाको सधैँभरि कुदृष्टि पार्दैै आएको छ । हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पनि राष्ट्रवादी नेता लुलालाई पराजित गरी आफ्नै पपेट उम्मेदवार बोल्सोनारोलाई निर्वाचित गराउन अमेरिकाले पूरा जोड लगाएको कुरा स्वयम् लुलाले चुनावी कार्यक्रममा भन्ने गरेका थिए भने अन्तर्राष्ट्रिय मिडियामा समेत व्यापक रूपमा चर्चा भएको थियो । अमेरिकाको अनेक प्रयासका बाबजुद निर्वाचनमा पराजित भएलगत्तै उनी भागेर अमेरिका पुगेका छन् ।
निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै अक्टोबर २६, २०२६ का दिन पत्रकार सम्मेलन गरेर निर्वाचनमा धाँधली गरेर आफूलाई हराइएको बयान दिएका बोल्सोनारोले अक्टोबर २७ का दिन आफूलाई सरकारले पासपोर्ट बुझाउन भनेको र देशबाहिर जान रोक लगाएको भनेर ट्विटरमार्फत् सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । अक्टोबर २९ मा आफू नै ब्राजिलको वास्तविक राष्ट्रपति भएको र लुला फर्जी राष्ट्रपति भएको भिडियो रेकर्ड सार्वजनिक गरे । भिडियो रेकर्डको छानबिन गरेपछि थाहा लाग्यो, उक्त भिडियो अमेरिकाको मियामीमा रेकर्ड गरिएको थियो ।
ब्राजिलका सर्वसाधारणले अमेरिका भागिसकेको थाहा पाएपछि बोल्सोनारोले सो भिडियो हटाएर आफूलाई अमेरिका आउन मदत गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्जेन्टिकाका राष्ट्रपति हाभियर मिलेईलाई धन्यवाद दिँदै एक वक्तव्य जारी गरे । उनलाई ब्राजिलबाट भगाउन सबै प्रबन्ध अमेरिकी प्रशासनले नै गरेको कुरा पछि खुल्यो । बोल्सोनारोका भाइ अमेरिकामै भएको र गत वर्ष मात्रै अमेरिकाले ग्रिनकार्ड प्रदान गरेको समेत मिडियामा सार्वजनिक भएको छ ।
बोल्सोनारो जमिनी सीमाबाट अर्जेन्टिना प्रवेश गरे । त्यसको लागि इटलीको पासपोर्ट प्रयोग गरेको बताइएको छ । गज्जबको कुरा के छ भने अमेरिकाले तयार पारेका पपेट नेताहरूसित दुईचार देशका पासपोर्ट हुने गरेको देखिएको छ । बोल्सोनारोको पनि ब्राजिलका अतिरिक्त इटली, स्पेनको समेत पासपोर्ट रहेको बताइएको छ । नेपालमा पनि रवि लामिछानेले एयरपोर्टमा कहिले नेपाली पासपोर्ट त कहिले अमेरिकी पासपोर्ट प्रयोग गर्ने गरेको चर्चा चल्ने गर्दथ्यो ।
बोल्सोनारो अर्जेन्टिना प्रवेश गर्दा अर्जेन्टिना सरकारले उनको लागि प्राइभेट जेट तयारी अवस्थामा राखेको थियो । उक्त जेटले इक्वेडरमा तेल भरेर अमेरिकाको मियामी पुर्याएको थियो । इमिग्रेसनको मुद्दा उठाएर युरोपलाई समेत इमिग्रेसन नीतिमा कडाइ गर्न दबाब दिने ट्रम्प सरकारले नक्कली पासपोर्टको आधारमा आफ्नो देशको इमिग्रेसन मात्र खुला गरेन, अर्जेन्टिनाको अमेरिकीपरस्त सरकार र इक्वेडरलाई समेत दबाब दिएर यो सबै प्रबन्ध मिलाएको थियो ।
बोल्सोनारोको यो घटनाले साम्राज्यवादका कठपुतलीहरू जतिसुकै चुरिफुरी देखाए पनि जनताले यथार्थ बुझेपछि उनीहरू अन्तत: भागेर प्रभुकै शरणमा पुग्नुपर्ने यथार्थतालाई पुष्टि गरेको छ । नेपालमा पनि अहिले अमेरिकी साम्राज्यवादका कठपुतलीको गतिविधि अस्थायी हो । जनताले कङ्ग्रेस, एमाले, माओवादीको भ्रष्ट र कुशासनको अन्त्य हुनेछ भनेर कथित ‘नयाँ’ लाई मतदान गरेका थिए, त्यसको उद्देश्य पवित्र छ; देशबाट भ्रष्टाचारको अन्त्य हुनेछ; देश आर्थिक रूपले सम्पन्न बन्नेछ; राष्ट्र बलियो बन्नेछ भन्ने जुन भ्रम छ, त्यो विस्तारै हट्दै जानेछ र हट्दै गइरहेको पनि छ । जनताले जब साम्राज्यवादका कठपुतलीको वास्तविकता बुझ्नेछन्, त्यो दिन उनीहरू पनि देश छोडेर भाग्ने दिन नआउला भन्न सकिन्न । फिलिपिन्सको मार्कोस, बङ्गलादेशको युनुसजस्तै नेपालका कठपुतलीको पनि हालत त्यस्तै हुनेछ ।
ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादद्वारा बारम्बार हस्तक्षेप हुँदै आएको छ । त्यही कारणले ल्याटिन अमेरिकाका आम जनता अमेरिकी साम्राज्यवादका विरुद्धमा रहँदै आएका छन् । अमेरिकाले बारम्बार हस्तक्षेप गरेर आफूअनुकूलको सरकार निर्माण गर्न अनेक हतकण्डा अपनाउने गरेको छ । त्यसको ताजा उदाहरण भेनेजुयला हो । भेनेजुयलामा निर्वाचनमार्फत् आफूअनुकूल राष्ट्रपति बनाउने प्रयासलाई त्यहाँका जनताले बारम्बार असफल बनाइदिएपछि गत साल भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले अपहरण गरेर अमेरिकामा लगेर थुनेको छ । त्यसका लागि भेनेजुयलाको सेना र उपराष्ट्रपति समेतलाई हात लिएर राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरिएको थियो । अहिले भेनेजुयलाको विशाल तेलभण्डारमा अमेरिकी कम्पनीको नियन्त्रण कायम भएको छ । क्युबामा त्यहाँको सत्ता हटाएर आफूअनुकूल सरकार बनाउन गरिएको कोसिस अहिलेसम्म असफल हुँदै आएको छ । अर्जेन्टिनामा आफूअनुकूल राष्ट्रपति निर्वाचनमार्फत् ल्याउन अमेरिका सफल भएको छ । अर्जेन्टिनाका वर्तमान राष्ट्रपति मिलेई अमेरिकी सहयोगमा निर्वाचित भएको मानिन्छ । ब्राजिलमा यसपटकको निर्वाचनमा पनि अमेरिका असफल भएको छ । यी केही उदाहरणबाट ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादले कसरी हस्तक्षेप गरेको छ भन्ने बुझ्न सकिन्छ ।
पछिल्लो समय दक्षिण एसियामा अमेरिकाले आफ्नो भूमिका बढाउँदै लगेको छ । चीनसँगको प्रतिस्पर्धामा डराएको अमेरिकाले चीनलाई घेर्ने योजनाअनुसार काम गरिरहेको छ । पाकिस्तान सुरुदेखि नै अमेरिकी प्रभावमा रहँदै आएको छ । श्रीलङ्का, बङ्गलादेशमा भ्रष्टाचारका नाममा विभिन्न आन्दोलनका माध्यमबाट प्रवेश गरेको छ । भारतको अमेरिकाका विषयमा प्रष्ट नीतिको अभाव देखिन्छ । पछिल्लो समय अमेरिकाको पिछलग्गु बन्दै गए पनि रक्षाक्षेत्रमा अझै पनि रुससँगको अधिक निर्भरता, ब्रिक्समा संलग्नता, पाकिस्तान अमेरिकाको निकटताजस्ता कारणले अझै पनि भारत अमेरिकाको पूर्ण पिछलग्गु बन्न मुस्किल भइरहेको छ ।
नेपालमा गत भदौ २३ र २४ को जेनजी आन्दोलनलाई षड्यन्त्रपूर्ण ढङ्गले अपहरण गरेपछि निर्वाचनमार्फत् आफ्नो कठपुतली सरकार बनाउन सफल भएको छ । यसका लागि अमेरिकाले लामो समयदेखि विभिन्न प्रकारले काम गर्दै आएको थियो । काठमाडौँस्थित अमेरिकी दूताबासमार्फत् प्रत्यक्ष रूपमा नै अमेरिकी युथ काउन्सिल नेपाल गठन, परिचालन र नियमित तालिम आदि गर्दै आएको थियो । विभिन्न संस्थामार्फत् पनि छद्म प्रकारले कैयन् गतिविधि गरिएको थियो । फ्री तिब्बत मुभमेन्ट, बार्बरा फाउन्डेसन, समता फाउन्डेसन, तिब्बतियन ओरिजिनल ब्लड, हामी नेपाललगायतका संस्थामा अर्बौं रुपियाँ लगानी गरेर अमेरिकी स्वार्थअनुरूपका कार्य गरिएको थियो । कङ्ग्रेस, एमाले, माओवादीलगायतका संसद्वादी दलहरू अमेरिकापरस्त भएता पनि चीनका विरुद्ध प्रत्यक्ष रूपमा जान तयार नहुनु, एसपिीी सम्झौता गर्न अस्वीकार गर्नुजस्ता कारणले ती दललाई हटाउन भदौ २३ र २४ गतेको आन्दोलनलाई अपहरण गर्न सफल भयो । त्यसको परिणामस्वरूप वर्तमान अमेरिकी कठपुतली सरकार बनेको छ ।
देशमा कुशासनको अन्त्य, भ्रष्टचारको अन्त्य र अर्थतन्त्रको विकास भई देशमा नै रोजगारी सृजना हुनेछ भन्ने आशामा जनताले घण्टीमा मतदान गरे । कठपुतली सरकारले त्यो कार्य गर्न सक्ने छैन । भ्रष्ट व्यक्तिको सरकारले भ्रष्टाचार अन्त्य गर्न सक्दैन, न त देशमा विकास गर्ने नै सम्भावना छ । राष्ट्रियताको आन्दोलनको युग सक्किएको भन्ने अर्थमन्त्रीको अभिव्यक्ति, प्याकसिलिकन सम्झौतामा सामेल भई मुस्ताङको युरेनियम अमेरिकी र अस्ट्रेलियन कम्पनीलाई जिम्मा दिने कार्य, नेपालले पनि भारतको जमिन कब्जा गरेको छ भन्नेजस्ता प्रधानमन्त्रीको अभिव्यक्ति, स्ववियु खरेजी, ट्रेड युनियनमाथिको प्रतिबन्ध, न्यायालयमाथिको हस्तक्षेप, सञ्चारगृहमा प्रवेश गरी पत्रकारको गिरफ्तारीजस्ता सरकारका गतिविधिले सरकारको नकाब खुल्दै गएको छ । जब जनताले यथार्थ बुझ्नेछन्, तब नेपालका कठपुतली पनि अमेरिका भाग्ने दिन नआउला भन्न सकिँदैन ।
२०८३ कात्तिक १४ गते





