अबुजा । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईओटा आक्रमण विफल पारेको छ। त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध लडाकु मारिएको जनाएको हो ।
उत्तरपूर्वी क्षेत्रमा सञ्चालित अपरेसन हादिन काईका संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति र शुक्रबार बिहान बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा तथा योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको थियो । सेनाले दुवै आक्रमण विफल पारेको जनाएको छ ।
गोनीका अनुसार बोर्नोको बिट्टामा बिहीबार राति भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको जवाफी कारबाहीमार्फत विफल पारेको थियो ।
त्यस्तै, योबे राज्यको बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गर्ने लडाकु विरुद्ध सेनाले जबाफी कारबाही गरेको थियो ।
कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको गोनीले बताए । सेनाले लडाकुबाट ५२ थान हतियारसमेत बरामद गरेको जनाएको छ ।
नाइजेरियाली सेनाले सशस्त्र समूहको गतिविधि र परिचालन क्षमता कमजोर पार्न तथा उनीहरूको सदस्य भर्ती, प्रचारप्रसार र आक्रमणको समन्वय गर्ने क्षमतामा अङ्कुश लगाउन सुरक्षा कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।
आइएसडब्ल्युएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोकोहरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् । (रासस/सिन्ह्वा)





