खिमराज चालिसे
लुधियाना, भारत। भारतको पञ्जाब राज्यको लुधियानास्थित फोकल प्वाइन्टमा एक कम्पनीमा कार्यरत नेपाली श्रमिक कृष्णबहादुर लुङ्गेलीको कार्यस्थलमा करेन्ट लागेर दुःखद निधन भएको छ। सन् २०२६ अक्टोबर २३ मा काम गर्ने क्रममा उनको मृत्यु भएको हो।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका–७ निवासी लुङ्गेली आफ्ना छोरासँगै एउटै कारखानामा काम गर्दै आएका थिए। परिवारका अनुसार मेसिन सफा गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो, जसका कारण उनको मृत्यु भयो।
लुङ्गेलीको निधनबारे मूल प्रवाहको नगर समितिलाई जानकारी प्राप्त भएपछि समितिका नेताहरू राजकुमार शाही, अर्जुन कार्की, रामचन्द्र पौडेल, धनबहादुर घर्तीमगर, लोकनाथ शर्मा र सन्तोष बराल तथा समाजसेवी मोनिका शर्मा र टेकबहादुर शाही घटनास्थल पुगेका थिए। उनीहरूले स्थानीय प्रहरीलाई बोलाएर कम्पनीका मालिकसँग वार्ता गरेका थिए।
वार्तापछि मृतकका परिवारको सहमतिमा कम्पनीका मालिकले प्रारम्भिक क्षतिपूर्तिस्वरूप चार लाख नेपाली रुपैयाँ दिने सहमति भएको मूल प्रवाहका नेता अर्जुन कार्कीले जानकारी दिनुभयो।
क्षतिपूर्ति रकम उपलब्ध गराइएपछि परिवारले समाजका सदस्यहरूको उपस्थितिमा सन् २०२६ अक्टोबर २४ मा मृतकको दाहसंस्कार गरेको थियो। दाहसंस्कारपछि परिवारले मूल प्रवाहलाई पत्र पठाएर सहयोग र पहलका लागि धन्यवाद ज्ञापन गरेको छ।





