टोकियो । गल्कोट नगरपालिका–११ रिघाखेरादीका बाबुराम नेपालीको उपचारका लागि सञ्चालन गरिएको आर्थिक सहयोग अभियान बन्द गरिएको छ ।
हालसम्म कुल एक लाख ११ हजार सात सय २८ रुपैयाँ नेपाल पठाइएसँगै सो जानकारी गराइएको हो ।
आवश्यक सहयोग रकम सङ्कलन भइसकेकाले आजदेखि जापानको आर्थिक सहयोग अभियान औपचारिक रूपमा बन्द गरिएको जापानबाट अभियानकर्ता मेघराज सापकोटा (रिष्मेली) ले युगदर्शनलाई जानकारी दिनुभयो ।
त्यस क्रममा बिरामी नेपालीको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै सहयोगी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
उपचारका क्रममा आर्थिक अभाव भएपछि सुरु गरिएको अभियानमा देश तथा विदेशमा रहेका नेपालीले उत्साहजनक सहयोग गरेका थिए । नेपाली हाल काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचारत छन् ।
अभियानका क्रममा जापानमा रहेका ३९ जना सहयोगीबाट सङ्कलित एक लाख १६ हजार ५० येन बिरामीका बुबा चन्द्रबहादुर नेपालीको खातामा जम्मा गरिएको छ ।
त्यस्तै, बेलायतबाट प्राप्त दुई हजार पाँच सय रुपियाँ रकम यसअघि नै बिरामी नेपालीको खातामा जम्मा भइसकेको छ ।
अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै, खाता विवरणसँगै प्रत्यक्ष रूपमा रकम उपलब्ध गराएर सहयोग गर्नुहुने गिरिराज सापकोटाप्रति विशेष आभार व्यक्त गरिएको छ ।
सहयोगी मनको साथ र सद्भावले उपचारमा रहेका बाबुरामका लागि ठुलो हौसला मिलेको भन्दै अभियानमा जोडिएका अभियन्ताले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उपचाररत नेपाली केही वर्षअघि रोजगारीको सिलसिलामा भारत जानुभएको थियो । कामका क्रममा दाया खुट्टामा लागेको चोट समय क्रममा गम्भीर बन्दै गएपछि उहाँ नेपाल फर्किएर टिचिङ अस्पतालमा उपचार गराइरहनु भएको छ ।
चिकित्सकको सल्लाहअनुसार खुट्टाको घुडातलको भाग काटेर फाल्नुपर्ने अवस्था आएपछि उपचार खर्च जुटाउन सहयोग अभियान थालिएको जापानबाट रिस्मेलीले जानकारी दिनुभयो ।
