काठमाडौँ । राष्ट्रिय जनमोर्चा गुल्मीका नेता हीरा तरामुमगरको असामयिक निधन भएको छ । सत्यवती गाउँपालिका–३ कुटडाँडामा २०८३ साउन २६ गते उहाँको असामयिक निधन भएको हो ।
५५ वर्षीय तरामुमगर गत केही वर्षअघि देखि नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । बारीमा घाँस काट्न गएका बेला लडेको, त्यस क्रममा सहयोग नपाएर उहाँको निधन भएको राजमो गुल्मीका सचिव छविलाल सर्तुङ्गीले युगदर्शनलाई जानकारी दिनुभयो ।
तरामुमगरको साउन २७ गते बुधबार कालीगण्डकी किनार ठुलाबगरमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारपूर्व उहाँको पार्थिव शरीरमा नेकपा (मसाल) गुल्मीका पूर्व प्रवक्ता ओमेन्द्र कुँवरले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
प्रवक्ता कुँवरले उहाँ मसालको पालिका समितिको सेक्रेटरी रहेको र पार्टीमा उहाँको टेकनताम हिक्मत रहेको जानकारी दिनुभयो । उहाँ राजमो सत्यवती गाउँपालिका समितिको सदस्य पनि हुनुहुन्थ्यो ।
उहाँको परिवारमा दुई छोरी र एक छोरी हुनुहुन्छ । मिर्गौला रोडपीडित उहाँकी श्रीमतीको केही वर्षअघि उपचारकै क्रममा काठमाडौँमा निधन भइसकेको छ ।