काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अब तीन खालका राजनीतिक पार्टी मात्रै टिक्न सक्ने दाबी गरेका छन्।
महासचिव विप्लवले राज्यसत्तामा बसेर स्रोत–साधनको दुरुपयोग गर्ने, विदेशी सहयोग तथा आईएनजीओ/एनजीओको भरमा चल्ने र जनतासँग प्रत्यक्ष जोडिएर आफ्नै श्रममा आधारित भएर अघि बढ्ने पार्टी गरी तीन प्रकारका राजनीतिक शक्तिको मात्रै भविष्य रहेको बताएका हुन्।
उनले भने, “नेपालमा अब त्यो तीनटा पार्टी मात्रै चल्छ। नम्बर एक राज्यसत्तामा बसेर भरसार गर्नेहरूको पार्टी चल्छ, नम्बर दुई विदेशीहरूले डोनेसन गरे, आईएनजीओ, एनजीओले पालेका पार्टीहरू चल्छन्, नम्बर तीन जनतासँग जोडिएर आफैले श्रम गर्ने पार्टी मात्रै बाँच्छ, अरू सब मर्छ।”
विप्लवले आफूले राजनीतिक परिस्थितिलाई प्रत्यक्ष रूपमा अनुभव गरिरहेको र त्यसको परिणामसमेत देखिइसकेको दाबी गरे। उनका अनुसार अहिलेको राजनीतिक अवस्था र पार्टीहरूको भविष्यबारे आफूले गरेको निष्कर्ष केवल सैद्धान्तिक नभई व्यवहारमै देखिएको अनुभवमा आधारित छ।
उनले राजनीतिक दलहरूले अपनाउने नीति र त्यसको परिणामबारे पनि प्रश्न उठाउँदै भने, “यो कुरा मैले आँखाले देखिसक्या छु, परिणाम पनि भइसकेको छ। म आफैले फिल गरिरहेको छु। किन यो? यो नीति पनि त हामीले त्यसै बनायौँ हैन।”
विप्लवको अभिव्यक्तिले नेपालमा राजनीतिक दलहरूको स्रोत, जनतासँगको सम्बन्ध, विदेशी सहयोग तथा सत्तासँगको सम्बन्धबारे पुनः बहस आवश्यक रहेको संकेत गरेको छ।