काठमाडौं । नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान कार्यसमितिको वैधानिकता समाप्त भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ।
५६ पृष्ठ लामो प्रतिवेदनमा विशेष महाधिवेशनमार्फत नेतृत्व, संगठन र विचारधाराको पुनर्गठन गर्नुपर्ने सुझाव दिइएको स्रोतले जनाएको छ। प्रतिवेदनमा ओलीको नेतृत्वशैली र संगठन सञ्चालनप्रति आलोचना गरिएको तथा वर्तमान नेतृत्वमा पार्टी अघि बढ्न कठिन हुने उल्लेख गरिएको बताइएको छ।
कार्यदलले जेठ ३० देखि असार २३ सम्म देशभरका पार्टी कमिटी, जनसंगठन तथा विभिन्न निकायबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको हो। महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी कार्यदल संयोजक रामबहादुर थापा र अध्यक्ष ओलीलाई बुझाएको जनाइएको छ।
यद्यपि, प्रतिवेदन कार्यदलमा औपचारिक छलफल नगरी अध्यक्षसमक्ष पुगेको भन्दै केही सदस्यहरूले असन्तुष्टि जनाएका छन्। कार्यदलका सदस्यहरूले प्रतिवेदनमाथि बैठकमा छलफल हुन बाँकी रहेको बताएका छन्।
उता एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले कार्यदलले प्रतिवेदन तयार पारेको पुष्टि गर्दै अब कार्यदलभित्र छलफलपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताएका छन्।