काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। पार्टी औपचारिक रूपमा विभाजन भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमार्फत अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।
कार्कीले आफू सुरुदेखि नै पार्टीको कुनै कार्यकारी पदमा नरहेको उल्लेख गर्दै युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा आबद्ध भएर वैचारिक तथा अभियानमूलक काममा सीमित रहने बताएका छन्।
प्रलोपा निर्वाचनमुखी राजनीतिमा अल्झिँदा आफ्नो वैचारिक अडान कायम राख्न नसकेको कार्कीको निष्कर्ष छ। उनका अनुसार पुराना पार्टीबाट आएका अधिकांश नेताका लागि राजनीति निर्वाचनकेन्द्रित बन्न पुग्दा प्रलोपा छोटो समयमै वैचारिक र संगठनात्मक रूपमा विभाजित भयो।
यसअघि बुधबार प्रलोपा गठनमा सहभागी साविकको नयाँ शक्ति समूह सहमतिमै पार्टीबाट अलग भएको थियो। कार्कीले दुवै समूह सौहार्दपूर्ण रूपमा अलग भएको भन्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्।
गत फागुनको प्रतिनिधिसभा निर्वाचनअघि नेकपा माओवादी केन्द्रबाट अलग भएका कार्की बाबुराम भट्टराई संरक्षक रहेको नेसपा (नयाँ शक्ति) र रास्वपाबाट अलग भएको सन्तोष परियार समूहसँग मिलेर प्रलोपा गठनमा सहभागी भएका थिए ।