काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा विरोध गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८३ साउन २८ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।
साउन २७ गते राति जनआस्थाका प्रधान सम्पादक रहनुभएका किशोर श्रेष्ठलाई साइबर अपराधको आरोपमा गिरफ्तार गरिएपछि प्रगतिशीलले त्यसको विरोध गरेको छ ।
समाचार सामग्रीबारे चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने कानुनी व्यवस्थामा सरकार, प्रशासन र प्रहरीसमेत कायम रहनुपर्नेमा प्रगतिशीलले जोड दिएको छ ।
पत्रकार श्रेष्ठको तत्कालै रिहाइ गर्न माग गरिएको सो प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
“जनआस्था सञ्चारमाध्यमका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिजो राति पक्राउ गरिएकोमा प्रगतिशील पत्रकार सङ्घको ध्यानाकर्षण भएको छ ।
कुनै पनि समाचार सामग्रीमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था छ । काउन्सिलले यस खालका काम लगातार गरिरहेको पनि छ । यस्तो अवस्थामा समाचारसित सम्बन्धित विषयलाई लिएर साइबर ब्युरो वा फौजदारी आरोप लगाइनु, त्यस सम्बन्धमा गिरफ्तारीसमेत गरिनु गलत हुन्छ ।
हाम्रो सङ्गठन समाचारसित सम्बन्धित विषयमा प्रेस काउन्सिलमै उजुरी दिने कानुनी व्यवस्थालाई लागु गर्न सरकार, प्रशासन वा प्रहरीसमेतको ध्यानाकर्षण गराउँछ । अन्तमा हामी सम्पादक श्रेष्ठलाई तत्कालै रिहाइ गर्न माग गर्दछौँ ।”