हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य–दक्षिण क्षेत्रीय समितिको आयोजनामा मध्य–दक्षिण क्षेत्रीय सचिवालय सदस्य वीरबहादुर बिकको सम्मानपूर्वक विदाइ गरिएको छ । नोकरीबाट अवकाश लिएर सदाका लागि स्वदेश फर्किन लाग्नुभएका बिकले संगठनमा पुर्याउनुभएको लामो समयको योगदानको उच्च सम्मान गर्दै विदाइ कार्यक्रम आयोजना गरिएको हो ।
कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भूपाल ठाडा रानाले गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्यहरू फूलबीना पौडेल र रतनसिंह कर्माले वीरबहादुर बिक तथा उहाँकी धर्मपत्नी फूलमाया बिकलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्यहरू फूलबीना पौडेल, रतनसिंह कर्मा र भीमबहादुर थापा, केन्द्रीय सदस्य तथा मध्य–दक्षिण क्षेत्रीय अध्यक्ष कृष्णबहादुर थापा, मध्य–दक्षिण क्षेत्रीय उपाध्यक्ष गगनसिंह बिक, मध्य–दक्षिण क्षेत्रीय सचिव तिलक राना, उत्तर नगर समिति अध्यक्ष सूर्यबहादुर पुन, रक्तिम सांस्कृतिक क्षेत्रीय विभागकी माया थामा, मध्य–दक्षिण क्षेत्रीय महिला विभाग संयोजक सोबिता पौडेल तथा मध्य नगर महिला विभाग संयोजक ईश्वरा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले वीरबहादुर बिकले सन् १९९० देखि हालसम्म ३६ वर्षको अवधिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तह र तप्कामा रहेर संगठनलाई निरन्तर योगदान पुर्याउँदै आउनुभएको स्मरण गर्नुभयो। संगठनभित्रका आरोह–अवरोह तथा विभिन्न चुनौतीका बीच पनि उहाँ अविचलित र अडिग रूपमा संगठनप्रति समर्पित रहँदै आएको बताउँदै वक्ताहरूले उहाँलाई संगठनको एक मजबुत खम्बाका रूपमा चित्रण गर्नुभयो ।
भारतमा रहेका नेपालीहरूका समस्या समाधानका लागि अग्रपंक्तिमा रहेर निरन्तर काम गर्दै आउनुभएका बिकले संगठनको विस्तार, सुदृढीकरण र नेपाली समुदायका समस्याको समाधानमा महत्वपूर्ण योगदान पुर्याउनुभएको वक्ताहरूले उल्लेख गर्नुभयो। साथै, उहाँको स्वदेशको आगामी बसाइ सुखद, सहज र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो ।
विदाइ मन्तव्य व्यक्त गर्दै वीरबहादुर बिकले भारतमा रहँदा संगठनप्रति जुन रूपमा योगदान पुर्याउँदै आएको भए पनि स्वदेश फर्किएपछि पनि देश र जनताको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमले लामो समयदेखि संगठनमा सक्रिय रही योगदान पुर्याउनुभएका वीरबहादुर बिकप्रति सम्मान व्यक्त गर्दै उहाँको आगामी जीवनका लागि सुख, शान्ति र सफलताको शुभकामना व्यक्त गरेको छ ।