नन्दलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा सहभागी हुन आउनुभएका नन्दलाल सापकोटाजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?
– आरामै छु ।
0 यो प्रशिक्षणमा भाग लिन आएको भन्नुभयो । यो कस्तो प्रशिक्षण हो र यसमा के के हुन्छ ?
– यसमा हाम्रो पार्टीका नीति र सिद्धान्तलाई सही ढङ्गले जनतामा कसरी लैजाने भन्ने विषयमा नै मुख्य रूपमा केन्द्रित भइन्छ । यही प्रशिक्षणका लागि म नवलपुरबाट यहाँ उपस्थित भएको हुँ ।
0 यो प्रशिक्षणमा अहिलेसम्म के कस्ता विषयको प्रशिक्षण लिनुभयो ?
– अहिलेसम्म आदिम साम्यवाद, सामन्तवाद र वर्तमान साम्राज्यवादका विषयमा प्रशिक्षण लियौँ । अहिलेको व्यवस्था र अवस्था कुन ढङ्गबाट अगाडि बढेको छ । यो साम्राज्यवादी तत्त्वको फाइदाका लागि बढेको छ कि आम सर्वहारा वर्गका लागि—यिनै विषयमा छलफल भयो । सर्वहारा वर्गकै पक्षमा अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो प्रशिक्षणको मुख्य ध्येय हो । यसका साथै संशोधनवाद विरुद्ध जनचेतना, पदार्थ र चेतना, नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म कुन बाटो (ट्रयाक) बाट जनतालाई पुर्याउन सकिन्छ र सर्वहारा वर्गको नेतृत्वको सरकार कसरी क्रियाशील बनाएर चलाउन सकिन्छ भन्ने विषयमा हामीले अध्ययन गर्यौँ ।
अहिलेसम्म यिनै विषयमा पढ्यौँ । जनतामा जाँदा व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्छ भन्ने बुझ्यौँ । संसार बिग्रिएको नै व्यक्तिगत स्वार्थका कारणले हो । हाम्रो मनले ‘मैले मात्रै खाऊँ, म मात्रै सुखसुविधामा रमाऊँ’ भन्छ तर हाम्रो मस्तिष्क वा चेतना कस्तो हुनुपर्छ भने, मैले मात्र खाएर हुँदैन, मेरा घरपरिवार, समाज, जिल्ला, क्षेत्र र सिङ्गै देश छ । देश मात्र नभई संसारका सम्पूर्ण श्रमजीवी र गरिब वर्गले समान रूपमा उपभोग गर्न पाउनुपर्छ । मैले प्रशिक्षणबाट यही कुरा बुझेको छु र जनतामा जाँदा पनि उहाँहरूलाई यहीअनुसार सचेत गराउँदै जाने दृढ विचार लिएको छु ।
युगदर्शन– अहिलेसम्म कुनकुन प्रशिक्षक (नेता) ले प्रशिक्षण दिनुभयो ?
– हामीलाई मोहनविक्रम सिंह, दुर्गानाथ खरेल, रामप्रकाश पुरी र मनोज भट्टलगायतका नेताहरूले प्रशिक्षण दिनुभयो । उहाँहरूले राजनीति, सिद्धान्त, वर्ग, पुँजीपति वर्ग, शोषित र शोषक वर्ग, सामन्तवाद, साम्राज्यवाद, पदार्थ र चेतना, नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति, साम्यवादी क्रान्ति, पुँजीवादी युग र दासयुगका विषयमा प्रशिक्षण दिनुभयो । यिनै सिद्धान्त र ज्ञानलाई जनतामा लैजानुपर्छ । प्रशिक्षण, कक्षा र अध्ययनबाट जनताको चेतनास्तर र मनोबल उठाउन सक्यौँ भने मात्र सर्वहारा वर्ग र संसारभरका मजदुरको हकहित सुनिश्चित हुन्छ भन्ने मैले महसुस गरेको छु ।
0 यो प्रशिक्षणमा ‘व्यावहारिक प्रशिक्षण’ पनि थियो भन्ने जानकारी पाएका थियौँ । यो व्यावहारिक प्रशिक्षण भनेको कस्तो हो ?
– व्यावहारिक भनेको जग (ग्रास लेभल) का जनतासम्म कसरी पुग्ने भन्ने हो । जनताको चेतनास्तर जुन तहमा छ, त्यहीअनुसारको राजनीति लिएर त्यहाँ पुग्नुपर्छ । उदाहरणका लागि कक्षा १ मा पढ्ने विद्यार्थीलाई कक्षा १० को पाठ्यपुस्तक पढाएर चाँडै बुझाउन सकिँदैन, उसलाई कक्षा १ कै स्तरअनुसार पढाउनुपर्छ । त्यस्तै, पढेलेखेका वा माथिल्लो वर्गलाई उनीहरूकै चेतनाअनुसारको कक्षा दिनुपर्छ । जनतामा केवल सदस्यता वितरण गर्ने मात्र नभई उहाँहरूको सुखदु:ख र गाउँमा घट्ने परिघटनामा सहभागी हुनुपर्छ । अन्याय भएको ठाउँमा विरोध गर्न सिक्नुपर्छ र गलत कुराको प्रतिवाद गर्दै न्यायको बाटोमा डोर्याउनुपर्छ । तल्लो तहदेखि जनताको सुखदु:खमा साथ दिएर मात्र हाम्रो राजनीतिक व्यवहार र सङ्गठनलाई माथि उठाउन सकिन्छ भन्ने मैले बुझेको छु ।
0 नेपालदेखि भारत र पुन: नेपाल फर्किएर लामो राजनीतिक जीवन बिताउनुभयो । ११ गतेदेखि अहिलेसम्म लिएको यो प्रशिक्षण र तपाईंको व्यावहारिक अनुभवलाई तुलना गर्दा ‘मैले यो कुरा सिकेको रहेनछु’ भन्ने त्यस्तो केही महसुस भयो ?
– म विद्यार्थीकालदेखि नै भारतमा छँदा सन् १९९० मा संस्थापन पक्षबाट राजनीतिमा प्रवेश गरेको हुँ । यस अवधिमा पार्टीमा धेरै उतारचढाव (भुइँचालो) आए तर म सङ्घर्ष गर्दै दृढ भएर तन, मन, धन र नैतिक–भौतिक रूपमा अगाडि बढिरहेको छु । अहिलेको सरकार साम्राज्यवादी शक्तिको इसारामा चलिरहेको छ । चुनावपछि हाम्रो राजनीतिमा अलिकति शिथिलता आएको र सिट सङ्ख्या कम भएको भए पनि हाम्रा कार्यकर्ताको एकता र मत घटेको छैन ।
0 प्रशिक्षण सकेर फर्केपछि नवलपुरमा कसरी सङ्घर्ष र काम गर्ने भन्नेबारे केही कार्ययोजना बनाउनुभएको छ ?
नन्दलाल– यहाँबाट सिकेर गएपछि सर्वप्रथम जिल्ला, नगर र टोल समितिका बैठक राख्नेछौँ । प्रशिक्षणमा सिकेका विषय कार्यकर्तामाझ प्रस्तुत गर्नेछौँ । अन्य राजनीतिक दलको भण्डाफोर गर्दै वर्तमान सरकारको नीतिका सीमा उजागर गर्नेछौँ । हाम्रा कार्यकर्तालाई तत्कालीन राजनीतिक परिस्थिति, विरोधीका नीति र हाम्रा आफ्ना नीतिबारे प्रस्ट पार्दै सङ्गठनात्मक कामलाई अगाडि बढाउनेछौँ ।
0अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने कुरा केही छुटेका छन् ?
0– युगदर्शन मिडियाले हाम्रा जुलुस, सभा, लेख, पुस्तक, सांस्कृतिक कार्यक्रम र पार्टीका नीतिसिद्धान्तलाई देशविदेशमा पुर्याउने काम गरिरहेको छ । यसका लागि युगदर्शन मिडियालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।





