शम्भुप्रसाद थारू, गुलरिया ।
वर्षभरि जहाँ भए पनि बडादसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष बडादसैँको खुसी आएन । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो ।
विगतका वर्षमा बडादसैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो तर यस वर्ष बडादसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दु:ख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै बडादसैँको खुसी पनि खोसियो ।
गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारूका लागि यस वर्षको बडादसैँ विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारू बेपत्ता भएपछि उनको परिवार शोकमा छ । बडादसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो ।
‘दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस वर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो तर बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो’ उनले भने ।
डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई बडादसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उहाँको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ ।
राजापुर–९ तिनघरवाका सिर्जना थारूको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारू बेपत्ता भएपछि उनको परिवारमा पनि बडादसैँको रौनक हराएको हो । हरेक वर्ष बडादसैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उहाँ यस वर्ष श्रीमान्को अनुपस्थितिमा निकै निराशामा बडादसैँ बित्ने भएको छ ।
‘दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?’ उनले भनिन् ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारू, मनोज थारू, सुरेन्द्र थारू र सर्वेस थारू गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारू, अमिस थारू, सिसन थारू, प्रदीप थारू र राजु थारू गरी पाँच जना बेपत्ता भएका थिए ।
उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् ।
गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस वर्ष बडादसैँको खुसी छाउन सकेन ।
‘बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । बडादसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकुन् र ?’ उनले भने ।
भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि बडादसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो ।
अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दैछन् । बडादसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो ।
उनीहरूका घरमा पनि चाडपर्व त आएको छ तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको बडादसैँ टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबिच बितेको छ । (रासस)





