काठमाडौँ । अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी गरेसँगै अर्को बलियो बहुराष्ट्रिय कम्पनी बन्ने देखिएको छ ।
मङ्गलवार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पेसएक्सबिचको सम्भावित एकीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्
उनले कम्पनी गाभ्ने निर्णय भइसकेको अर्थमा बुझ्न नहुने स्पष्ट पारे पनि त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन भएका छन् ।
मस्कका अनुसार यस्तो सम्झौता अघि बढाउन दुवै कम्पनीका सेयरधनीको समर्थन आवश्यक पर्नेछ । दुवै कम्पनीमा गठन गरिएका विशेष समितिले अहिलेसम्म एकीकरणको सर्तबारे सहमति जुटाइनसकेको र सम्झौता हुने निश्चितता पनि नरहेको उनले बताए ।
‘के मलाई यी दुई कम्पनी गाभ्नु राम्रो विचार हो जस्तो लाग्छ ? हो’ मस्कले भने– ‘दुवै कम्पनी गाभ्नुमा पर्याप्त सम्भावना र फाइदा छन् भन्ने मलाई लाग्छ ।’
संयुक्त कम्पनीको मूल्य ३५ खर्ब डलर
टेस्लाको बजार मूल्य करिब १.५ ट्रिलियन डलर र स्पेसएक्सको मूल्य करिब दुई ट्रिलियन डलर रहेको बताइएको छ । यी दुई कम्पनी गाभिएमा संयुक्त कम्पनीको मूल्य करिब ३.५ ट्रिलियन डलर पुग्नेछ । यस्तो एकीकरण विश्वकै ठुला कर्पोरेट मर्जरमध्ये एक बन्न सक्नेछ ।
सम्भावित एकीकरणसम्बन्धी समाचार सार्वजनिक भएपछि कारोबारपछिको समयमा स्पेसएक्सको सेयर मूल्य ८ प्रतिशतले बढेको थियो । यसैबिच टेस्लाको सेयर मूल्य पनि दुई प्रतिशतले उकालो लागेको थियो ।
चिप्स, एआई र अन्तरिक्ष प्रविधिमा सहकार्य
रकेट निर्माण र स्टारलिङ्कमार्फत स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्दै आएको स्पेसएक्स पछिल्लो समय क्लाउड कम्प्युटिङ सेवामा पनि विस्तार भइरहेको छ । कम्पनीले एन्थ्रोपिक र गुगलजस्ता प्रविधि कम्पनीलाई कम्प्युटिङ क्षमता उपलब्ध गराउन थालेको छ ।
स्पेसएक्सको पछिल्लो त्रैमासिक नतिजाअनुसार क्लाउड कम्प्युटिङ व्यवसायबाट सात अर्ब ५० करोड डलर आम्दानी भएको छ भने स्टारलिङ्कले पाँच अर्ब २० करोड डलर आम्दानी गरेको छ तर कम्पनीले चालु वर्षमा हालसम्म एक अर्ब १० करोड डलर घाटा बेहोरेको विवरणमा उल्लेख छ ।
मस्कका अनुसार टेस्ला र स्पेसएक्सबिच एकीकरण भएमा चिप निर्माण, कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर र अन्य प्रविधिसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन सकिनेछ ।
हालै टेस्ला र स्पेसएक्सले संयुक्त रूपमा चिप निर्माण गर्ने उद्देश्यसहित ‘टेराफ्याब’ परियोजना अघि बढाएका छन् । यसले मस्क आफ्ना विभिन्न कम्पनीबिच सहकार्य विस्तार गर्न चाहिरहेको सङ्केत गरेको छ ।
पछिल्लो एक वर्षमा मस्कले आफ्ना विभिन्न व्यवसायलाई कम सङ्ख्याका कर्पोरेट संरचनाभित्र समेट्ने प्रयास गर्दै आएका छन् । यसअघि सार्वजनिक सेयर निष्काशन गर्नुअघि स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनी एक्सएआई र सामाजिक सञ्जाल एक्सलाई अधिग्रहण गरेको थियो । एक्स यसअघि ट्विटरका नामले चिनिन्थ्यो ।
टेस्ला र स्पेसएक्सलाई गाभ्ने प्रस्ताव अघि बढेमा मस्कका विद्युतीय सवारीसाधन, अन्तरिक्ष प्रविधि, स्याटेलाइट इन्टरनेट, चिप निर्माण र एआईसम्बन्धी व्यवसायबिच थप संस्थागत एकीकरण हुनेछ तर दुवै कम्पनीका विशेष समितिबिच सम्झौताका सर्तमा सहमति भइनसकेको र सेयरधनीको समर्थन आवश्यक रहेकाले सम्भावित मर्जरको अन्तिम स्वरूप र समयसीमा भने अझै स्पष्ट भइसकेको छैन ।





