• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ७. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ८. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

अमेरिका र युरोपका छ देशमा महँगी विरुद्ध युवाविद्यार्थीको प्रदर्शन


  •   बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिका र युरोपका छ देशमा महँगीका विरुद्ध युवाविद्यार्थीको प्रदर्शन भइरहेको छ । युरोपका विभिन्न देशमा बढ्दो महँगी, महँगो घरभाडा, बेरोजगारी र शिक्षामा अपर्याप्त सरकारी लगानी विरुद्ध विद्यार्थी तथा युवाको आन्दोलन चर्किएको हो ।

    Advertisement

    फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा फैलिएको विरोध प्रदर्शनमा शिक्षा प्रणाली सुधार, सस्तो आवास, छात्रावासको व्यवस्था र सरकारको जवाफदेहितालगायतका माग उठाइएका छन् । आन्दोलनको क्रममा शान्तिपूर्ण र्‍यालीदेखि विद्यालय कब्जा, संसद् भवनअगाडि धर्ना र प्रहरीसँगको झडपसम्मका घटना भएका छन् । केही स्थानमा तोडफोड, आगजनी र लुटपाटसमेत भएका छन् भने सुरक्षाकर्मीले प्रदर्शनकारीलाई पक्राउ गरेका छन् ।

    फ्रान्सको अवस्था गम्भीर
    देशभरि फैलिएको हिंसात्मक प्रदर्शनपछि फ्रान्सले राजधानी पेरिससहित विभिन्न प्रमुख सहरमा कफ्र्यु लगाइएको छ । सार्वजनिक सुरक्षा कायम गर्न, व्यवसायको संरक्षण गर्न र पुन: हिंसा फैलिन नदिन कफ्र्यु लगाएको सरकारले बताएको हो ।

    फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार क्षेत्रीय प्रशासनका अधिकारीलाई केही सहरमा आंशिक र स्थानीयस्तरमा केन्द्रित कफ्र्यु लागु गर्न निर्देशन दिए । विद्यार्थीको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि पछिल्ला केही वर्षयताकै गम्भीर सडकहिंसामध्ये एक घटना भएको बताइएको छ ।

    पेरिसको प्लास द ला रिपुब्लिक क्षेत्र र लेस आल्स किनमेल क्षेत्र आसपासका सडकमा सोमबार राति ११ बजेदेखि मङ्गलवार बिहान ६ बजेसम्म कफ्र्यु लागु गरिएको थियो । प्रहरीका अनुसार पेरिसभर सोमबार राति ८ बजेदेखि सभा तथा प्रदर्शन गर्नसमेत प्रतिबन्ध लगाइएको थियो ।
    लियोँ, निस र क्युलेन सहरमा पनि सोमबार रातिका लागि यस्तै प्रतिबन्ध घोषणा गरिएको थियो । तीमध्ये केही स्थानमा नाबालिगलाई मात्र लक्षित गरी कफ्र्यु लगाइयो । फ्रान्सको उत्तरपूर्वी सहर लिल र त्यस आसपासका तीन नगरपालिकामा सोमबार तथा मङ्गलबार रातिका लागि कफ्र्यु घोषणा गरियो ।

    हिंसात्मक घटनापछि फ्रान्सका गृहमन्त्री लोरा नुनेजले राजीनामा दिने प्रस्ताव गरे पनि राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार बिहान त्यसलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालय एलिजेले जनाएको छ । प्रहरी तथा सुरक्षा निकायमा आदेशको शृङ्खला कायम राख्न नुनेजलाई पदमै रहन म्याक्रोनले आग्रह गरेका थिए, साथै लुटपाट नियन्त्रणका लागि नयाँ उपाय अपनाउन र हिंसा निम्त्याउने सुरक्षा योजनासम्बन्धी कमजोरी तथा सूचनाको विश्लेषणमा भएका त्रुटिबारे पारदर्शिता सुनिश्चित गर्न आवश्यक कदम चाल्न पनि उनले निर्देशन दिएका छन् ।

    आवश्यक परे देशमा सङ्कटकाल घोषणा गर्न सकिने भए पनि अहिलेको अवस्थामा आंशिक कफ्र्यु बढी उपयुक्त देखिएको बताइएको छ । लेकोर्नुले मानिससँगै सम्पत्ति र व्यवसायको सुरक्षा गर्नु पनि सरकारको प्राथमिकता भएको उल्लेख गरे ।

    फ्रान्समा विद्यालयको कमजोर भौतिक अवस्था, शिक्षक अभाव र बढ्दो जीवनयापन खर्चको विरोधमा असोज ३१ गतेयता एक सय ४० सहरमा प्रदर्शन भएको छ । विद्यार्थी सङ्गठन, ट्रेड युनियन र विभिन्न क्षेत्रका कर्मचारीसमेत सहभागी प्रदर्शनमा करिब आठ लाख मानिस सडकमा उत्रिएका छन् ।

    पेरिस, मार्सेई र बोर्डोजस्ता सहरमा प्रदर्शनका क्रममा तोडफोड र लुटपाटका घटना भएका छन् । लिमोजमा एक सय ४३ वर्ष पुरानो ऐतिहासिक सिटीहलमा आगजनी भएको तथा विभिन्न स्थानमा सवारीसाधन जलाइएको छ । हालसम्म करिब दुई जना पक्राउ परेको र पाँच सयभन्दा बढी प्रहरी, सुरक्षाकर्मी तथा दमकलकर्मी घाइते भएका छन् । हिंसात्मक घटनापछि प्रधानमन्त्री लेकोर्नु र राष्ट्रपति म्याक्रोंले हिंसाको निन्दा गरेका छन् । सरकारले शान्तिपूर्ण प्रदर्शनबिच हिंसात्मक समूहले अराजक गतिविधि गरेको जनाएको छ ।

    इटाली

    इटालीमा शिक्षामा सरकारी लगानी कम भएको, विद्यालयका भवन जीर्ण रहेको र पढाइको खर्च बढेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । रोम र ट्युरिनसहित विभिन्न सहरका विद्यालयमा विद्यार्थीले कब्जा जमाए ।

    असोज ३० गते हजारौँ विद्यार्थी रोमस्थित शिक्षामन्त्रालयसम्म मार्च गर्दै पुगेका थिए । उनीहरूले शिक्षामन्त्री ज्युसेप्पे भाल्दिताराका निर्णयको विरोध गर्दै विद्यालयको अवस्था सुधार गर्न र शिक्षामा सरकारी खर्च बढाउन माग गरे । यसअघिका प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो ।

    आन्दोलनकारीले असोज १३ गते राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन् । उनीहरूका प्रमुख मागमा विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक खर्च घटाउने, सस्तो छात्रावास उपलब्ध गराउने र शिक्षामा सार्वजनिक लगानी बढाउने विषय छन् ।

    स्पेन

    स्पेनमा बढ्दो घरभाडा र आवासको अभाव विरुद्ध आन्दोलन चर्किएको छ । राजधानी म्याड्रिडको सोलचोकमा प्रदर्शनकारीले टेन्ट टाँगेर धर्ना दिएका छन् । अन्य सहरमा पनि आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै र्‍याली निकालिएको छ ।

    भाडा बढेपछि ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएको घटनापछि आन्दोलन थप चर्किएको बताइएको छ । प्रदर्शनकारीले घरभाडा नियन्त्रण गर्न, भाडामा बस्ने व्यक्तिलाई मनपरी निष्काशन गर्नबाट रोक लगाउन र सस्तो सरकारी आवास निर्माण गर्न माग गरिरहेका छन् ।

    भाडामा बस्नेहरूको सङ्गठन र आवास अधिकारका लागि काम गर्ने समूहले आन्दोलनको नेतृत्व गरिरहेका छन् । उनीहरूका अनुसार आवासको बढ्दो मूल्यले न्यून तथा मध्यम आय भएका परिवार र युवालाई विशेष रूपमा प्रभावित पारेको छ । यता, प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले आवास सङ्कट समाधान गर्न कदम चाल्ने बताएको छ ।

    ग्रिस

    ग्रिसको राजधानी एथेन्समा विद्यार्थीले संसद् भवनअगाडि टेन्ट टाँगेर महँगो आवास र छात्रावासको अभाव विरुद्ध प्रदर्शन गरेका छन् । उच्च भाडा, पढाइको खर्च र सीमित छात्रावास सुविधाका कारण अध्ययन जारी राख्न कठिन भएको उनीहरूको भनाइ छ ।

    प्रदर्शनकारी विद्यार्थी सङ्गठनका अनुसार करिब ९६ प्रतिशत विद्यार्थीले छात्रावास सुविधा पाउँदैनन् । पछिल्लो एक दशकमा कोठाको भाडा तीन गुणासम्म बढेको र केही साना कोठाको मासिक भाडा छ सय युरोसम्म पुगेको छ । विद्यार्थीले घरभाडाको सीमा तोक्न, सरकारी छात्रावास निर्माण गर्न, छात्रवृत्ति बढाउन र विश्वविद्यालयको बजेट वृद्धि गर्न माग गरेका छन् ।

    आन्दोलनमा उच्च शिक्षामा भर्ना पाउनु मात्र पर्याप्त नहुने, आवास र दैनिक खर्च धान्न सक्ने अवस्था पनि आवश्यक हुने माग उठाइएको छ । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि छात्रावासको अभावले शिक्षामा पहुँच सीमित गर्न सक्ने उनीहरूको तर्क छ ।

    बेल्जियम

    बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौती र प्रस्तावित सुधारको विरोधमा विद्यार्थीले मार्च निकालेका छन् । प्रदर्शनका क्रममा केही सहभागीले तोडफोड गर्नुका साथै प्रहरीमाथि प्रहार गरेका छन् ।

    प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । कात्तिक १ गतेको घटनामा एक सय ५० जना पक्राउ परेका छन् भने केही प्रहरी सामान्य घाइते भएका छन् ।

    विद्यार्थी सङ्गठनले शिक्षामा सरकारी लगानी घटाउने नीतिको विरोध गर्दै विद्यालय तथा विश्वविद्यालयको अवस्था सुधार गर्न माग गरेका छन् । सरकारले भने हिंसात्मक गतिविधिको निन्दा गर्दै सार्वजनिक सुरक्षा र कानुनी व्यवस्था कायम राख्ने दाबी गरेको छ ।

    अल्बानिया

    अल्बानियाको राजधानी तिरानामा विद्यार्थी तथा युवाले महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयको कमजोर भौतिक अवस्था विरुद्ध प्रदर्शन गरेका छन् ।

    असोज २९ गते हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भएर प्रधानमन्त्री एडी रामाको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा केही सहभागीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए भने सरकारी भवन तथा बैङ्कमा आगजनी भएको छ ।

    हप्तादिन अििघदेखि जारी आन्दोलनमा करिब दुई सय जना पक्राउ परेको र प्रहरी तथा प्रदर्शनकारी दुवैतर्फ घाइते भएको बताइएको छ । विद्यार्थी सङ्गठनबाहेक सरकारप्रति असन्तुष्ट अन्य नागरिकसमेत आन्दोलनमा सहभागी भएका छन् ।

    प्रधानमन्त्री रामाले राजीनामा दिन अस्वीकार गर्दै विद्यार्थीसँग वार्ता गर्न चाहेका छन् । अर्कोतर्फ उनले तोडफोड र हिंसामा संलग्न व्यक्तिमाथि कारबाही गरिने पनि बताए ।

    अमेरिका

    अमेरिकामा आगामी असोज १७ गते मध्यावधि निर्वाचन प्रस्ताव गरिएकै समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सत्ता विरुद्ध असन्तोष चुलिएको छ । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले महँगी र जनताको खर्च घटाउने वाचा गरेका थिए तर अहिले बढ्दो मूल्यवृद्धि उनको पार्टीका लागि ठुलो टाउकोदुखाइ बनेको छ ।

    अमेरिकामा अन्डा, दुध, पाउरोटी, मासु र तरकारीजस्ता आधारभूत वस्तुको मूल्य २० देखि ३० प्रतिशतसम्म बढेको छ । घरभाडा औसतमा करिब दुई लाख ५६ हजार नेपाली रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । तेल र ग्यासको मूल्य करिब २० प्रतिशतले बढेको छ । तलबमा सामान्य वृद्धि भए पनि महँगीका कारण त्यसको राहत महसुस हुन सकेको छैन ।

    रोयटर्स–इप्सोसको सर्वेक्षणमा ७८ प्रतिशत मानिसले आफ्नो आम्दानीभन्दा उपभोग्य वस्तुको मूल्य तीव्र गतिमा बढिरहेको बताएका थिए ।

    एपीको रिपोर्टअनुसार ६५ प्रतिशत अमेरिकी महँगीको दोष ट्रम्पका नीतिलाई दिन्छन् । राष्ट्रिय सर्वेक्षणले देखाएअनुसार ३७ प्रतिशतभन्दा बढी अमेरिकी महँगी र मूल्यवृद्धिलाई देशको सबैभन्दा गम्भीर समस्या मान्छन् । यस्तो अवस्थामा महँगी नियन्त्रण गर्नु ट्रम्पका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क ७, २०८३ कात्तिक ४ गते बुधबारको ब्यानर न्युज)

    बुधबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा
    रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ
    नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:
    क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड
    भारत–अमेरिका व्यापार सम्झौता हुँदै
    ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.