काठमाडौँ । करिब दुईतिहाइ जनमत क्यानडामै रहने जनमत सङ्ग्रहको प्रारम्भिक नतिजाअनुसार अल्बर्टा क्यानडामै रहने भउको छ । क्यानडाबाट छुट्टिने कि क्यानडामै रहने भनेर अल्बर्टा प्रान्तमा सोमबार जनमत सङ्ग्रह गरिएको थियो ।
अल्बर्टा प्रान्तलाई देशबाट अलग गर्ने प्रस्तावको विपक्षमा दुईतिहाइभन्दा बढी मतदाता उभिएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई राष्ट्रिय एकता कायम राख्ने अभियानमा राजनीतिक बल मिलेको बताइएको छ ।
बिबिसीका अनुसार अमेरिकासँग चर्किएको व्यापारयुद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि दिइरहेको दबाबका बिच आएको यो नतिजालाई क्यानडाको सङ्घीय एकताका लागि महत्त्वपूर्ण सन्देशको रूपमा हेरिएको छ ।
देशको सबैभन्दा धनी प्रान्त मानिने अल्बर्टामा क्यानडाको प्रमाणित तेलभण्डारको ठुलो हिस्सा छ । प्राकृतिक ग्यास र अन्य खनिज सम्पदामा समेत धनी यो प्रान्तको राजनीतिक निर्णयले क्यानडाको आर्थिक भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने बताइन्छ ।
प्रधानमन्त्री कार्नीले गत साता क्यालगरीमा आयोजित सभामा ‘क्यानडाको अस्तित्व नै दाउमा भएजसरी मतदान गर्नुहोस्’ भन्दै मतदातालाई राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरेका थिए । ‘फरएभर क्यानेडियन’ अर्थात् ‘सधैँ क्यानडेली’ नारासहित आयोजित अभियानले मतदातामाझ राष्ट्रिय एकताको भावना बलियो बनाउन भूमिका खेलेको देखिएको छ ।
सोमबारको मतदानमा क्यानडामै रहने पक्षको अग्रता स्पष्ट भएपछि कार्नीले भने– ‘उनीहरूले एकता रोजेका छन्, सँगै निर्माण गर्ने र एकअर्काको हेरचाह गर्ने बाटो रोजेका छन् ।’
अल्बर्टालाई क्यानडाबाट अलग हुन नदिन सक्रिय अभियान चलाएका पूर्वसांसद थोमस लुकासजुकले पनि यस नतिजाले अन्तर्राष्ट्रिय समुदायलाई बलियो सन्देश दिने बताए ।
प्रान्तीय राजधानी एडमन्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले भने– ‘यो मतदानले विश्वका बाँकी देशलाई निकै बलियो सन्देश दिनेछ ।’ लुकासजुकको भनाइको सङ्केत अमेरिकातर्फ लक्षित थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक क्यानडालाई अमेरिकाको एकाउन्नौँ राज्य बनाउने अभिव्यक्ति दिँदै आएका छन् । क्यानडाको सार्वभौमसत्ता र राष्ट्रिय पहिचानमाथि चुनौतीका रूपमा लिइएका उनका अभिव्यक्तिले दुई देशबिचको सम्बन्धमा तनाव थपेको छ ।
अल्बर्टामा क्यानडामै रहने पक्षको जित भए पनि त्यहाँको राजनीतिक असन्तुष्टि पूर्ण रूपमा समाप्त भएको छैन । जनमत सङ्ग्रहसँग सम्बन्धित अन्य नौओटा प्रश्नको अन्तिम नतिजाले पनि क्यानडाको सङ्घीय राजनीतिमा प्रभाव पार्न सक्नेछ । ती प्रश्नमा प्रान्तीय सरकारको अधिकार विस्तार, आप्रवासनको लागत तथा सम्भावित संवैधानिक परिवर्तनजस्ता विषय समेटिएका थिए ।
यी विषयले क्यानडाका अन्य नौ प्रान्त र तीनोटा क्षेत्रसँगको सम्बन्धमा समेत बहस निम्त्याउन सक्ने बिबिसीले उल्लेख छ । क्यानडाका विभिन्न प्रान्त र क्षेत्रमा सङ्घीय सरकारप्रति आआफ्नै असन्तुष्टि छन् । त्यसैले अल्बर्टाको नतिजाले राष्ट्रिय एकताको पक्षलाई बलियो बनाए पनि सङ्घीय संरचनासँग सम्बन्धित सबै विवाद समाधान भएको अर्थमा लिन नसकिने विश्लेषकको बुझाइ छ ।
अल्बर्टाको जनमत सङ्ग्रहलाई क्यानडाको राष्ट्रिय एकताको महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । यसले देशको सङ्घीय संरचनाप्रति जनसमर्थन देखाए पनि भविष्यमा राजनीतिक र आर्थिक असन्तुष्टिले कस्तो रूप लिन्छ भन्ने प्रश्न बाँकी नै छ ।
अहिलेलाई अल्बर्टाका मतदाताले क्यानडामै रहने पक्षमा दिएको समर्थन कार्नीका लागि राजनीतिक विजय हो तर राष्ट्रिय एकता दीर्घकालसम्म कायम राख्न अमेरिकासँगको व्यापार युद्ध, प्रान्तीय असन्तुष्टि र आर्थिक रूपान्तरणका चुनौतीलाई कसरी सम्बोधन गरिन्छ भन्ने कुराले निर्णायक भूमिका खेल्नेछ । (एजेन्सी)





