प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बहालवाला बालेन्द्र शाहको सरकारलाई सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी प्रकृतिको भएको बताउनुभएको छ ।
२०८३ साउन २८ गते युगदर्शन मिडियालाई भिडियो अन्तर्वार्ता दिँदै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘हामीले सुरुदेखि नै यो सरकारको आलोचना गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘यो सरकार कुनै दर्शन, सिद्धान्त, नीति र कार्यक्रम नभएको स्वेच्छाचारी सरकार हो ।’
वर्तमान सरकारको उद्देश्य अमेरिकाको नीति तथा उद्देश्यलाई नेपालमा लागु गर्नु रहेको उहाँको आरोप थियो ।
फासिष्ट दिशा
अर्कोतर्फ वर्तमान सरकार फासिष्ट दिशातर्फ गइरहेको दाबी पनि उहाँको छ ।
‘हामीले देखिरहेका छौँ, वर्तमान सरकार फासिवादी दिशातर्फ गइरहेको छ’ उहाँले भन्नुभयो– ‘सुकुम्वासीमाथिको दमन, विद्यार्थी सङ्गठन र ट्रेड युनियनमाथि प्रतिबन्ध, प्रेस स्वतन्त्रतामाथि नियन्त्रणजस्ता विषयले सरकार त्यो दिशातर्फ गइरहेको स्पष्ट हुन्छ ।’
सरकारको लोकतन्त्रलाई कुण्ठित गर्ने गतिविधिबारे देशमा आवाज उठ्दै जाने उहाँको विश्वास थियो ।
राष्ट्रियतामाथि खतरा
त्यस्तै यो सरकारबाट राष्ट्रियतामाथि पनि खतरा भएको जिकिर उहाँले गर्नुभयो । मुख्यत: अमेरिकी साम्राज्यवादको हितको पक्षमा काम गर्ने क्रममा यो सरकार नेपालको राष्ट्रियता विरुद्ध जान सक्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो– ‘केही समयपहिला प्रधानमन्त्रीले संसद्मै आएर नेपालले भारतको सीमा मिचेको भने तर त्यसको पक्षमा कुनै प्रमाण प्रस्तुत गर्न सकेनन् ।’
अर्कोतर्फ संसारभरिका बहुमूल्य खनिज भएको देशमा अमेरिकाले कब्जा गर्न खोज्ने नीतिका कारण पनि नेपालको राष्ट्रियता खतरामा परेको उहाँले बताउनुभयो ।
ग्रिनल्यान्ड, भेनेजुयला, इरानजस्ता देशमाथि अमेरिकी हमलाको त्यही उद्देश्य रहेको उहाँको भनाइ थियो ।
सहकार्य गर्ने प्रयास
वर्तमान सरकारबाट राष्ट्रियतासँगै गणतन्त्र र धर्मनिरपेक्षतामाथि समेत खतरा उत्पन्न भएको स्पष्ट पार्दै उहाँले त्यसको विकल्पमा सहकार्य गर्ने प्रयास भइरहेको बताउनुभयो ।
‘सरकारको गलत नीतिका विरुद्ध हामीले गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर पार्टीहरूसित कुराकानी गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘साउन २७ गते भएको सहमति पनि त्यसै दिशाको एउटा कदम हो ।’
महामन्त्री सिंहले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिमाझ सहकार्यको प्रयास भइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ‘२०६२–६३ सालको जनआन्दोलनको उपलब्धिको रक्षाका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिमाझ सहकार्य गर्न चाहान्छौँ ।’
सिंहले नेपाली कङ्ग्रेसमा भने वर्तमान राजनीतिक परिस्थितिबारे स्पष्ट दृष्टिकोण कायम भइनसकेको बताउनुभयो ।
लुम्बिनीमा सरकारमा नजाने
अन्तर्वार्ताको क्रममा उहाँले लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्टसित सहकार्य गर्ने तर सरकारमा नजाने आफूहरूको नीति भएको बताउनुभयो ।
राजनीतिक कारणसँगै लुम्बिनी प्रदेशको विकास निर्माणमा सहकार्य गर्ने गरी एमाले र नेकपासित साउन २७ गते सहमतिमा हस्ताक्षर भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो– ‘वर्तमान परिस्थितिमा लुम्बिनी प्रदेशको सरकारमा जाने हाम्रो नीति छैन ।’
सिद्धान्तत: सरकारमा जान सकिने नीति यथावत रहे पनि अहिले सरकारमा नजाने नीति रहेको उहाँले जानकारी दिनुभयो ।
तत्काल वामपन्थी पार्टीमाझ एकता हुँदैन
अन्तर्वार्ताको क्रममा महामन्त्री सिंहले तत्कालै वामपन्थी पार्टीहरूमाझ एकताको सम्भावना देखा नपरेको विश्लेषण अगाडि सार्नुभयो ।
उहाँले भन्नुभयो– ‘तीन पार्टीमाझ एउटा साझा सहमति निर्माण भएको छ । त्यो हो– तत्काल पार्टीएकताको सम्भावना हामीले देखेका छैनौँ ।’
पार्टीएकता नभए पनि सहकार्यको सवालमा आफूहरू स्पष्ट भएको बताउनुभयो ।
तीव्र मतभेद भएका पार्टीहरूमाझ पनि समान समझदारीमा कुनै खास विषयमा सहकार्य हुन सक्ने नीतिअन्तर्गत अहिले तीन दलमाझ सहमति भएको उहाँको भनाइ थियो ।
आगामी वर्षको प्रदेश र स्थानीय तहको चुनावमा तालमेलको विषयमा उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीको नवौँ महाधिवेशनले केन्द्रीयस्तरमा तालमेल नगर्ने तर स्थानीय आवश्यकताअनुसार तालमेल गर्न सकिने विकल्प दिएको छ । सोहीअनुसार परिस्थितिको मूल्याङ्कन गरेर हामीले निर्णय लिनेछौँ ।’
लोकप्रियतावाद
अन्तर्वार्ताको क्रममा उहाँले अहिले देशमा लोकप्रियतावाद हाबी भएको बताउनुभयो ।
कुनै दर्शन, नीति र सिद्धान्तको पक्षमा नरहेर आफू लोकप्रिय हुन खोज्ने प्रवृत्तिका विरुद्ध आफूहरूले सङ्घर्ष गरिरहेको उहाँले दाबी गर्नुभयो ।
देशमा लोकप्रियतावादी लहर चलेकै कारण नीति, सिद्धान्त, त्याग, बलिदान गर्ने दलहरू पृष्ठभूमिमा परेको विचार उहाँको थियो ।
(अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल अवलोकन गर्न अनुरोध गर्दछौँ)