कञ्चनपुर । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध ‘मेची–महाकाली’ अभियान सुरु गरेको छ । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको सुरुवात गरिएको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
कार्यक्रमको औपचारिक उद्घाटन स्थानीय मदनचोकमा एक समारोह गरी गर्ने तयारी छ । यस्तै, बागलुङबाट पनि अर्को टोलीले कार्यक्रम सुरुवात गर्दैछ ।
सोमबार महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव भट्टले नेपालमा अमेरिकाको बढ्दो प्रवाभलाई रोक्न यो अभियान गर्न लागिएको बताउनुभयो ।
सञ्चारकर्मीहरुको जिज्ञासामा भट्टले अहिले नेपालमा अमेरिकी साम्राज्यवाद पत्यक्ष रुपमा आएको उल्लेख गर्दै यसलाई समयमै रोक्न नसक्ने हो भने देश युक्रेन बन्ने खतरा रहेको औँल्याउनुभयो ।
‘यो अमेरिकी साम्राज्यवादविरुद्धको अभियान हो । यसले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्छ’ भट्टले भन्नुभयो, ‘नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवादको प्रभाव बढेर गएको हुनाले र अमेरिकी साम्राज्यावादले जसरी अरु मुलुकलाई नष्ट गर्ने गरेको छ, ध्वस्त गर्ने गरेको छ, त्यो नियत हामीले भोग्न नपरोस् भन्नाका लागि यो अभियान गर्न परेको हो ।’
यस्तै, सञ्चारकर्मीहरुले भुटानी शरणार्थी प्रकरणमा अमेरिकाको दबाबबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा नेता भट्टले सो प्रकरणमा अमेरिकाको चासो हुनसक्ने स्पष्ट पार्नुभयो ।
‘संयुक्त राष्ट्रसंघले समेत यसमा चासो राखेको छ भने शरणार्थी पकरणमा अमेरिका पनि जोडिएको हुनाले चासो राखेको हुनसक्छ’ भट्टले भन्नुभयो, ‘नेपालमा भ्रष्टाचार कति डरलाग्दो रुपमा संस्थागत भएको छ भन्ने प्रमाण हो यो । एकातिर राज्य सञ्चालन गर्नेहरु नै सर्वसाधारणमाथि लुट मच्चाइरहेका छन् भने अर्कोतर्फ देशका अनागरिकलाई शरणार्थी बनाएर तेस्रो देशमा पठाउँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर झुकेको छ ।’
उहाँले शरणार्थी प्रकरणमा सरकारले कुनै सम्झौता नगरी दोषीउपर कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्ट, प्रदेश सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष रामबहादुर कार्की, सचिव लालबहादुर कुँवरलगायत नेताहरुले सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।
राजमोले आज (जेठ १) देखि १५ गतेसम्म कञ्चनपुर र बागलुङबाट मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको हो । अभियानको समापन १५ गते बुटवल र काठमाडौंमा गर्ने कार्यक्रम छ ।
मेची–महाकाली अभियानको सन्दर्भमा धनगढीमा पत्रकार सम्मेलन
अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानको अपिल