कृष्ण बराल, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुललाई सघाउनको लागि प्युठानबाट आउनुभएका कृष्ण बरालजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
– धन्यवाद ।
0 आरामै हुनुहुन्छ ?
– एकदम सर, आरामै छौँ ।
0 के कामको लागि आउनुभएको थियो यहाँ काठमाडौँमा ?
– सर, म काठमाडौँमा अहिले मात्र आइपुगेको होइन । गत वर्ष पनि राष्ट्रिय जनमोर्चाले यहाँ प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यो बेलामा हामी दुई जना साथी मेसको काम सम्हाल्नका लागि आएका थियौँ । यतिखेर पनि हाम्रा सुरेश थापा हुनुहुन्छ, उहाँले मलाई २० दिन पहिले भन्नुभएको थियो– बरालजी, राष्ट्रिय जनमोर्चाले उच्चस्तरको क्लासको आयोजना गरेको छ । तपाईंलाई खाना पकाउने निम्तो आएको छ, जानुपर्छ ।’
यसलाई म सौभाग्य नै ठान्छु । पार्टीस्कुलमा अध्ययन गर्ने कमरेडको सेवा गर्न र उहाँहरूलाई सुविधा दिन यो बाइसौँ प्रशिक्षण कार्यक्रममा मेसको काम सम्हाल्ने र समयसमयमा क्लासमा पनि बस्ने काम गरेको छु । बेलुकीको समयमा प्रगतिशील र मौलिक गीत गाएर रमाइलो गर्ने, खाना पकाउने र खुवाउने—यस्तै सिलसिलामा आएको हुँ सर ।
0 यो खाना पकाउने काममा आउँदाखेरि ‘म त नेता मान्छे, यो खाना पकाउने काम अलि मलाई सुहाउँदो भएन’ भन्ने त्यस्तो केही लागेन तपाईंलाई ?
– नाइँ सर, मलाई त्यस्तो लागेन । मलाई के गर्व लाग्छ भने कम्युनिस्ट पार्टीमा काम गर्ने जुन हामी कार्यकर्ता हौँ, हामी त डाक्टर बन्ने हो, वकिल बन्ने हो, इन्जिनियर बन्ने हो र आवश्यकता परे पाइलट पनि बन्ने हो । भोलि बिहान सशस्त्र सङ्घर्ष छेड्नुपर्यो भने बमगोला र बारुद पनि बोक्ने हो । नखाईकन त कुनै काम गर्न सकिँदैन । पकाउने, खाने, खुवाउने र बस्ने गरेर नै अगाडि बढ्न सकिन्छ । मलाई यो काममा सानोठुलो भन्ने कुनै भेदभाव लाग्दैन । बाँकी साथीहरूले कुन दृष्टिकोणले हेर्छन्, त्यो उनीहरूमाथि भर पर्ने कुरा हो ।
0 तपाईं आफैँ पनि सुगर र प्रेसरको औषधी खाइराख्नुहुन्छ । तपाईंको आफ्नै केही स्वास्थ्य समस्या छन् । त्यो स्वास्थ्य समस्याले तपाईंलाई यो जिम्मेवारी पूरा गर्न केही अप्ठ्यारो वा गाह्रो भएन ?
– सर यस्तो हो । मैले सुगरको औषधी आज मात्र होइन, २० वर्षदेखि खाँदै आइरहेको छु । भारतमा छँदा भारतीय डाक्टरले लेखेको खाइयो । नेपाल आएपछि नेपालका डाक्टरले लेखेको खाइयो । बिमारीको कुरा गर्नुहुन्छ भने त बताएर साध्य छैन तर म बोल्दा साथीहरूले पत्याउनुहुन्न कि म रोगी हुँ । टाउकोमा पनि चिलाउने, हुर्किनेजस्तो हुन्छ र कतिपय कुरा उतिखेरै भुल्ने हुन्छ, सायद सुगरकै कारणले होला ।
खानपिनमा पान, बिँडी, चुरोट, तम्बाखु, जर्दा इत्यादि म केही खाँदिनँ । बाँच्नका लागि ढिँडोपिठो, सुकासाग, खोलेसाग त खानैपर्यो । धेरै चिल्लो पदार्थ खानुहुँदैन । एकातिर, घरपरिवारको जिम्मेवारी छ । अर्कोतिर, कम्युनिस्ट पार्टीको जिम्मेवारी छ । यी जिम्मेवारी पूरा गर्नका लागि निरन्तर औषधी खाएर भए पनि बाँच्नुपर्छ । अप्ठ्यारो महसुस भयो भने घरमा एक/दुई दिन आराम गर्छु अनि फेरि निरन्तर काममा लाग्छु । सानादेखि कुटोकोदालो खन्ने बानी भएन, परदेशमा अफिसमा पिएन र चौकिदारीको काम गरियो तर पार्टी सङ्गठनको काम निरन्तर गरिरहेको छु र गर्दा खुसी लाग्छ ।
0 खाना पकाउने मेसको काममा प्राय: केही मान्छेले दोष लगाउँछन् नि, ‘खाना यस्तो भएन, उस्तो भएन’ भनेर । तपाईंलाई त्यस्तो प्रतिक्रिया सुन्नुपर्यो कि परेन ?
– मैले साथीहरूलाई सोधेको पनि छु । कसैले अलिनो खानुहुन्छ, कसैले चर्को खानुहुन्छ, कसैले खुर्सानी कम खानुहुन्छ ।
मान्छेअनुसार स्वाद फरक हुन्छ तर मलाई व्यवस्थापन समितिबाट जस्तो निर्देशन आएको छ, ‘मसला धेरै प्रयोग नगर्नू, सामान्य खाना बनाउनू—मैले त्यहीअनुसार बनाएर खुवाएको छु ।
यहाँ कतिपय सुगरका बिरामी साथी पनि हुनुहुन्छ । अहिलेसम्म साथीहरूले मलाई केही नकारात्मक भन्नुभएको छैन । मैले पनि साथीहरूलाई भनेको छु, ‘म अलि टाठो र छिटो बोल्ने मान्छे हुँ । केही गल्ती भए वा सुधार्नुपर्ने भए एकान्तमा बोलाएर भन्नुहोला तर मनमा चिसो नराख्नुहोला ।’ अहिलेसम्म कसैले चित्त दुखाउनुभएको माइन्ड गर्नुभएको छैन ।
0 तपाईंले खाना पकाउने काम गर्दागर्दै पनि भ्याएसम्म बिहानको समयमा प्रशिक्षणमा भाग लिनुभयो । थोरै भए पनि प्रशिक्षण लिँदा तपाईंलाई कस्तो लाग्यो ?
– बुढापाकाले ‘भित्ताका पनि कान हुन्छन्’ भन्छन् । म पनि ५४–५५ वर्षको भएँ । काठमाडौँमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको उच्चस्तरीय क्लास हो भन्ने सुनेरै मलाई गौरव लागेको थियो । म १० गते बेलुकी आएको हुँ । मेसको काम सम्हाल्दै बेलाबेलामा तल झरेर क्लास सुन्ने गर्थेँ ।
हामीलाई थाहा छ, कम्युनिस्ट पार्टीभित्र एमाले, माले, माओवादीलगायत नक्कली कम्युनिस्ट धेरै छन् तर सच्चा वामपन्थी कम्युनिस्ट पार्टी भनेको नेकपा (मसाल) हो र मसालले दिने प्रशिक्षण कहिल्यै नराम्रो हुँदैन । मसालका शिक्षक तथा नेताहरूले अति सरल भाषामा क्लास दिनुहुन्छ, सुन्न अति मजा आउँछ । समापनको क्रममा मलाई दुई शब्द बोल्न लगाउँदा पनि मैले भनेको थिएँ, ‘आगामी दिनमा पनि राष्ट्रिय जनमोर्चाले भात पकाउने काममै बोलाए पनि म आउँछु र समय मिलेसम्म क्लासमा भाग लिन्छु ।’ मलाई क्लास एकदमै राम्रो लाग्यो ।
0 प्रत्येक दिनजसो हुने मनोरञ्जन कार्यक्रममा तपाईंको उपस्थिति देखियो । मनोरञ्जन कार्यक्रमलाई तपाईंले कसरी लिनुभयो ?
– मनोरञ्जन र कलाको क्षेत्रमा म अलि भुक्तभोगी पनि हुँ । पहिले भारततिर छँदा पनि नाच्ने, गाउने र बजाउने गर्थें । कलाको क्षेत्रमा सबैको चित्त बुझाउन सकिन्न । हामीले जनवादी तथा मौलिक गीत गायौँ । हाम्रा पुराना राम्रा संस्कारलाई मेटाउनु हुँदैन । छाडा र रूढिवादी संस्कारलाई परास्त गर्न हामीले जनवादी गीतसङ्गीतमार्फत नै रमाइलो गर्नुपर्छ । आगामी दिनमा पनि यस्ता कलालाई अझ निखार्दै लैजानुपर्छ भन्ने लाग्छ ।
0 अब अन्तमा युगदर्शनमार्फत भन्नुपर्ने कुरा केही छन् ?
– सर्वप्रथम त म युगदर्शन पत्रिकाको ग्राहक बन्नुछ र अरूलाई पनि बनाउनुछ । पहिले हाम्रो ‘हाँक’ पत्रिका थियो, पछि साथीहरूले गद्दारी गरेर त्यो सम्पत्ति खोसेर लगे तर हामीले फेरि थोपाथोपा जोडेर ‘युगदर्शन’ तयार पार्यौँ ।
अहिलेका युवाहरू मोबाइल हेरेर संसार बुझिहाल्छौँ, पत्रिका पढ्नुपर्दैन भन्छन् तर मोबाइलमा उनीहरूले पुँजीवादी र साम्राज्यवादी संस्कारका कुरा अध्ययन गर्छन् । हाम्रो युगदर्शन भनेको मजदुर वर्गको रगतपसिनाबाट बनेको पत्रिका हो । त्यसैले हामीले युगदर्शन पढ्नुपर्छ र यसलाई फलाएर, फुलाएर अगाडि बढाउनुपर्छ । यही मेरो विचार छ ।