एजेन्सी : भारतले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानलाई आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ। यसअघि पनि भारतले उनलाई दिल्ली भ्रमणको निम्तो दिएको थियो, तर रहमानले पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र चीन रोजेका थिए।
भारतमा पूर्वप्रधानमन्त्री शेख हसिना अझै शरण लिएर बसेकाले दिल्ली भ्रमण गर्दा घरेलु राजनीतिमा आलोचना हुने डर रहमानलाई छ। बंगलादेशमा भारतविरोधी जनमत बढ्दै गएकाले पनि उनी दबाबमा छन्।
तर, ब्रिक्सजस्तो बहुपक्षीय मञ्चको निम्तो अस्वीकार गर्दा बंगलादेशको अन्तर्राष्ट्रिय छविमा असर पर्न सक्ने भएकाले रहमानका लागि निर्णय कठिन बनेको छ। भारतसँग भौगोलिक तथा ऐतिहासिक सम्बन्धका कारण सम्बन्ध पूर्णतः बेवास्ता गर्न पनि बंगलादेशलाई सहज छैन।
कूटनीतिक जानकारहरूका अनुसार रहमान स्वयं दिल्ली जानुको सट्टा विदेशमन्त्री वा विशेष प्रतिनिधिलाई पठाएर भारतसँग सम्बन्ध सन्तुलित राख्ने सम्भावना बढी देखिन्छ।