कर्णबहादुर धामी, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
0 राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय प्रशिक्षणमा सहभागी हुन आउनुभएका राजमो बझाङका अध्यक्ष कर्णबहादुर धामीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ । आरामै हुनुहुन्छ ?
– हजुर, आरामै छु ।
0 यहाँ प्रशिक्षणमा तपाईं पछिल्लो साउन ११ गतेदेखि आउनुभएको छ, हैन ? अहिलेसम्म के के विषयमा प्रशिक्षण सुन्नुभयो र के के सिक्नुभयो ?
-अहिलेसम्म सङ्गठनको बारेमा र खबरदारीका विषयमा सिकेँ । पार्टीसङ्गठन कसरी अगाडि बढाउने र अन्तर्राष्ट्रिय परिवेश कस्तो छ भन्ने कुरा सिकेको छु । केही कुरा सिकेको छु, सबै त सिकिसकेको छैन । अलिअलि कुरा सिकेर नोट पनि गरेको छु । घर गएर अध्ययन पनि गर्नेछु ।
0 कति वर्षको हुनुभयो हजुर ?
-म अहिले ६७ वर्ष भएँ ।
0 ६७ वर्ष हुनुभयो । अनि यो उमेरमा आएर यसरी स्कुलमा प्रशिक्षण लिँदा तपाईंलाई अलि अप्ठ्यारो महसुस भएको छैन ?
– के अप्ठ्यारो हुनु ? जिल्ला परिषद्, स्थानीय तह र केन्द्रीय कार्यक्रममा पनि बस्दै आएकै हो । अप्ठ्यारो त केही हुँदैन तर धेरै बोल्न सकिँदैन । म धेरै बोल्दिनँ, अलि कम र ठोस कुरा गर्छु ।
0 अहिलेसम्म मुख्य रूपमा कुनकुन प्रशिक्षक आएर तपाईंलाई प्रशिक्षण दिनुभयो ?
– मलाई सङ्गठनको बारेमा, अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा, नेपालको राजनीतिका बारेमा र यहाँ भएका साथी तथा दाजुभाइको माझमा कसरी जाने र के गर्ने भन्ने विषयमा प्रशिक्षण र सल्लाह भएको छ ।
0 अहिलेसम्म पढाएका सबै विषय तपाईंले प्रस्ट बुझ्नुभएको छ ?
– बुझेको छु, अलिअलि बुझेको छु । सबै त बुझ्न सकिएन तर अलिअलि बुझेको छु ।
0 यो प्रशिक्षण लिइसकेपछि आफूमा ज्ञान वा जानकारीको कमी रहेछ भन्ने महसुस भयो कि भएन ?
– भयो हजुर, त्यो त धेरै महसुस भएको छ । आफूबाट पनि कमजोरी हुन्छ, नहुने कुरा होइन । हामी मानव हौँ, मानव भएपछि गल्तीकमजोरी हुन्छ तर हामीले स्वीकार्नुपर्छ । ‘मैले यो ठाउँमा गल्ती गरेँ’ भनेर स्वीकार्नु हाम्रो कर्तव्य हो ।
0– अहिलेको प्रशिक्षणमा ‘व्यावहारिक क्लास’ पनि भएको छ भनेर सुनेका छौँ । त्यो ‘व्यावहारिक क्लास’ भनेको कस्तो हो ?
– व्यावहारिक क्लास भनेको पार्टीभित्रका दाजुभाइ बसेर केन्द्रीयस्तरमा छलफल गर्ने, कुन जिल्लामा के भइरहेको छ र के गर्ने भन्नेबारे आपसमा सरसल्लाह र कार्यान्वयन गर्ने प्रक्रिया हो ।
0 अघि तपाईंले सङ्गठन निर्माणमा जोड दिने कुरा गर्नुभयो । यो प्रशिक्षणमा भाग लिइसकेपछि अब सङ्गठन यसरी विकास गर्नुपर्छ भन्ने केही विचार वा योजना आएको छ ?
– आएको छ हजुर ।
0 के विचार आएको छ ?
– यहाँबाट गाउँ फर्केपछि दुईचार जनाको सङ्गठन बनाएर अगाडि बढ्छु । म एक्लै भए पनि लाग्नेछु र मेरा दाजुभाइलाई सक्दो सहयोग गर्दै दिमागले भ्याएसम्म यो बाटोमा निरन्तर लागिरहनेछु । अहिलेसम्म अरू पार्टीका साथीहरूले ‘तपाईं जनमोर्चामा किन जाने ? छोडिदिनुस्’ भन्छन् । तर म भन्छु– मर्ने बेला अब अन्य ठाउँमा गएर काम छैन, सबैको खेल देखेको छु । म कुनै पार्टीमा जाँदिनँ, यसै पार्टीमा निरन्तर लाग्छु ।
0 राष्ट्रिय जनमोर्चा निष्कलङ्क पार्टी हो भन्ने मानिन्छ । अहिसम्म राष्ट्रिय जनमोर्चाका कुनै पनि सदस्यले भ्रष्टाचार वा अनियमितता गरेको सुनिएको छैन । फेरि पनि तपाईंहरूको पार्टीमा मान्छे धेरै नलाग्नुको कारण के होला ?
– अहिलेको जमाना स्वार्थी छ । पुँजीवादी व्यवस्था भएकाले मानिस स्वार्थी छन् । जहाँ स्वार्थ हुन्छ, मानिसहरू त्यहीँ जान खोज्छन् । हामी निस्वार्थी छौँ, त्यसैले निस्वार्थी ठाउँमा धेरै मान्छे लाग्दैनन् ।
0 तपाईंको बझाङ जिल्लामा भौतिक पूर्वाधार र सडक विकासको अवस्था कस्तो छ ?
– त्यहाँ विकास भएको छ तर अलिअलि । गाडी पुगेका छन्, यातायात र भौतिक सुविधा उपलब्ध भएको छ तर जति हुनुपर्ने हो, त्यति भएको छैन । मेरो बझाङ जिल्लामा चीनको सीमानामा रहेको साइपाल गाउँपालिकामा मात्र गाडी पुगेको छैन, अरू ठाउँमा पुगिसकेको छ । बझाङमा दुईटा नगरपालिका र आठ/नौओटा गाउँपालिका छन् । साइपालबाहेक अरू ठाउँमा गाडी पुगिसकेको छ ।
0 बझाङका जनताको मुख्य समस्या के हो भन्ने लाग्छ तपाईंलाई ?
– बझाङमा खानेपानीको समस्या छ । केन्द्रबाट बिजुली गएको छ तर त्यो बिजुली पनि कति बेला बन्द हुन्छ, ठेगान हुँदैन । साँझ खाना खाने समयमा नै बिजुली बन्द भइरहेको हुन्छ । जनताले काम पाउन सकेका छैनन् । विद्यालयमा शिक्षक नआउने समस्या छ । खेतीपातीको सन्दर्भमा समयमा कुलो र पानीको व्यवस्था हुँदैन । यावत् समस्या छन् ।
0 भनेपछि शिक्षा, स्वास्थ्य, रोजगारी सबै क्षेत्रमा समस्या छ ?
– सबै क्षेत्रमा समस्या छ हजुर । मेरो आफ्नै गाउँको कुरा गर्दा मैले २०५७ सालमा सर्वदलीय समितिबाट ४५ लाखको योजना लिएको थिएँ । त्यति बेला म राष्ट्रिय जनमोर्चाको अध्यक्ष थिएँ । जयपृथ्वी नगरपालिका वडा नं . ९ को देवल भन्ने ठाउँमा खानेपानीको एउटा मात्र धारा थियो । मैले १० वर्षसम्म चलाउने गरी योजना बनाएर घरघरमा धारा जडान गरिदिएँ । बिचमा विमानस्थलका प्रहरीलाई पनि पानीको सुविधा मिलाइदिएँ तर पछि मानिसहरूले ममाथि नै पैसा खाएको आरोप लगाए । मैले छाडेपछि अहिले त्यहाँ बिजोग छ । पहिले सहुलियत दिएर काम गर्दा पनि जस पाइएन तैपनि मैले गाउँका लागि खानेपानी, सिँचाइ र शिक्षामा सहयोग पुर्याएकै हो ।
0 बझाङमा विकास नहुनुको मुख्य कारण बजेट माथिबाट नगएर हो कि बजेट गएर पनि भ्रष्टाचार हुने र सही समयमा निकास नहुने समस्याले गर्दा हो ?
कर्णबहादुर– बजेट जान्छ हजुर तर आफ्नै च्यानलबाट हाल्छन् । जेठअसारमा बजेट पास हुन्छ तर बझाङजस्तो दुर्गम ठाउँमा रातो किताब पुग्दा असोज भइसक्छ । त्यसपछि काम सुरु हुँदा चैत–वैशाख पुग्छ । चैत, वैशाख, जेठ, असार गरी तीनचार महिनामा कति नै काम हुन्छ ? हतारहतार अलिअलि काम गर्यो, कमिसन खायो र बजेट सिध्याउने काम मात्र हुन्छ ।
0 नयाँ सरकार आएपछि केही फरक वा सकारात्मक सङ्केत देख्नुभएको छ ?
– ६५ वर्षमै सामाजिक सुरक्षाभत्ता दिने भन्ने कुरा मोबाइलमा सुनेको थिएँ, दिन्छन् कि दिँदैनन् थाहा छैन । अरू विकासका काम त केही भएकोजस्तो लाग्दैन ।
0 प्रशिक्षणबाट फर्केर गइसकेपछि यहाँ सिकेका कुरालाई कसरी व्यवहारमा लैजाने योजना बनाउनुभएको छ ?
– केही योजना बनाएको छु, बाँकी घर गएर बनाउँछु । नोट गरेको छु, कापी र कलम छ । केही किताब पनि यहाँबाट लिएको छु । घर गएर अध्ययन गर्छु र अध्ययन गरेपछि पार्टी काममा लाग्नेछु ।
0 फर्किँदा स्कुलले तपाईंलाई केही निश्चित जिम्मेवारी वा काम दिन्छ कि ?
कर्णबहादुर– त्यो त थाहा छैन हजुर । म अधिवेशनमा आएको भए पनि यो प्रशिक्षण स्कुलमा पहिलोपटक हो । त्यसैले जिम्मेवारी दिन्छन् कि दिँदैनन् थाहा छैन ।
0 जिम्मेवारी दिए पनि/नदिए पनि आफ्नो ढङ्गले त काम गर्नुहुन्छ नि ?
– म काम गरिरहेको छु र गर्ने पनि छु । जति समय मिल्छ, त्यति समय दिनेछु ।
0 अन्तमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने केही कुरा छुटेका छन् कि ?
– मेरो लागि यो धेरै ठुलो गौरवको कुरा हो । तपाईंहरूले समय दिनुभयो, त्यसका लागि म आभारी छु । मेरो सुदूरपश्चिम र सबभन्दा पिछडिएको जिल्ला बझाङमा विकासको नाममा केही भएको छैन, खालि नाराको भरमा मात्र काम भइरहेको छ । म बझाङमा सर्वदलीय बैठकमा बस्दा पनि साना पार्टीलाई बोल्नै दिँदैनन् । जे होस्, तपाईंहरूलाई धन्यवाद, आभारी छु र मेरो शुभकामना ।