रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चा बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी
० राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलमा भाग लिन आउनुभएका राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।
:: धन्यवाद ।
० आरामै हुनुहुन्छ ?
:: हजुर, आरामै छु ।
० आज तपाईंहरूको कार्यक्रम समाप्त भयो ?
:: हजुर, आज समापन भयो ।
० १५ दिनको यो प्रशिक्षण कस्तो रह्यो ?
:: १५ दिनको प्रशिक्षण असाध्यै राम्रो रह्यो । गत वर्ष र त्यसअघिका वर्षमा जस्तै हरेक वर्ष यो प्रशिक्षण चलिरहन्छ । त्यसैले गर्दा यो पार्टीस्कुल यस वर्ष पनि असाध्यै राम्रो भयो र धेरै व्यवस्थित तरिकाले सञ्चालन गरियो ।
० यो प्रशिक्षण जिल्ला अध्यक्षको भनिएको थियो । सबै जिल्लाबाट सहभागी आउनुभयो ?
:: प्राय: सबै जिल्लाबाट सहभागिता थियो । पुराना, अनुभवी र जिल्ला अध्यक्ष तहका साथी तथा अध्यक्ष नै आउनुभएको थियो । प्रशिक्षण धेरै राम्रो भयो ।
० यस प्रशिक्षणमा मुख्यतया के के विषयमा छलफल भयो ?
:: मुख्यतया सैद्धान्तिक तथा व्यावहारिक विषय र माक्र्सवादी दर्शनबारे राम्रोसँग अध्ययन गरियो । १५ दिनको अध्ययनले कार्यकर्ताको वैचारिक सङ्घर्षलाई थप ऊर्जा दिएको छ । आआफ्नो क्षेत्रमा गएर काम गर्न यसले हाम्रो क्षमता अभिवृद्धि गर्न ठुलो सहयोग पुर्याएको छ ।
० यसपटकको प्रशिक्षणमा पहिलेको भन्दा फरक ‘व्यावहारिक प्रशिक्षण्ॉ’ पनि राखियो भन्ने सुनिएको थियो । त्यो व्यावहारिक प्रशिक्षण कस्तो थियो ?
:: व्यावहारिक प्रशिक्षण असाध्यै राम्रो भयो । हामी बारम्बार सैद्धान्तिक प्रशिक्षणमा त भाग लिइरहेकै हुन्छौँ तर सिद्धान्त र व्यवहारलाई जोड्नु मुख्य कुरा हो । सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यावहारिक रूपमा कसरी लागु गर्ने, कुन परिस्थितिमा कसरी काम गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामी द्वन्द्ववादी, भौतिकवादी वा कस्तो चिन्तनबाट निर्देशित हुने ? कार्यक्षेत्रमा जाँदा परिस्थितिजन्य काम कसरी गर्ने भन्ने विषयमा व्यावहारिक रूपबाट नै नयाँ ढङ्गले प्रशिक्षण भयो ।
० माओत्सेतुङको ‘व्यवहारबारे’ पुस्तक अध्ययन गरेर मात्रै नपुग्ने हो र ? यो अझै फरक विषय हो कि के हो ?
:: तपाईंले धेरै राम्रो प्रश्न सोध्नुभयो । पुस्तक अगाडि भएपछि विद्यार्थीले अध्ययन त गर्छन् तर शिक्षकले व्यावहारिक रूपमा पढाउनु र आफैँले मात्र अध्ययन गर्नुमा धेरै फरक हुन्छ । पढेर मात्र पुग्दैन, त्यसलाई यथार्थमा र व्यावहारिक रूपमा उतार्न मार्गदर्शन गर्ने प्रशिक्षकको आवश्यकता पर्छ । प्रशिक्षकले हामीलाई व्यावहारिक अनुभवसहित पढाउनुभएकाले यसले हाम्रो चेतनाको स्तर बढाउन ठुलो सहयोग पुर्याएको छ ।
० यो व्यावहारिक प्रशिक्षणमा दोहोरो संवाद भयो भन्ने सुनियो । यस्तो दोहोरो संवाद त बैठक वा कार्यशालामा पनि हुन्छ, यो प्रशिक्षण कुन अर्थमा फरक रह्यो ?
:: सामान्यतया प्रश्नोत्तर र छलफल त सधैँ भइरहन्थ्यो तर यसपटक अलि फरक तरिकाले अभ्यास गरियो । अध्ययन गरेका विषय र आफ्ना अनुभवलाई कसरी लागु गर्ने ? मैदानमा गएर जनतासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइयो । यसले अनभिज्ञ वा स्पष्ट नभएका प्रशिक्षार्थीलाई पनि धेरै कुरा छर्लङ्ग पारेको छ । यो एउटा दुर्लभ र महत्त्वपूर्ण अवसर थियो, जसलाई हामीले राम्रोसँग उपयोग गर्यौँ ।
० प्रशिक्षणका २६/२७ ओटा विषयमध्ये तपाईंलाई सबैभन्दा बढी स्पष्ट र मन परेको विषय कुन थियो ?
:: विशेष गरी द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र माक्र्सवादी दर्शनका विषय धेरै स्पष्ट भए । जल, जमिन र जीवनको सम्बन्ध, मानव उत्पत्तिको इतिहास, विभिन्न कालखण्डका घटना र तिनका समाधानका उपायबारे छलफल भयो, साथै वर्तमान राजनीतिक परिस्थितिमा हामीले कसरी काम गर्ने ? व्यक्तिगत स्वार्थ र व्यक्तिगत जीवनभन्दा माथि उठेर सामूहिक, राजनीतिक र देशको निम्ति कसरी निस्वार्थ रूपमा समर्पित हुने भन्ने कुरा व्यावहारिक रूपमा सिक्यौँ । निवार्थी भावनाले समाजसेवा गर्ने, फलको आशा नगरी मिहिनेत र परिश्रमका साथ अरूलाई सहयोग गर्ने विषय नै मुख्य रहे ।
० कम्युनिस्ट र खास गरी नेकपा (मसाल) अथवा राष्ट्रिय जनमोर्चाका साथीहरू धेरै पढ्छन्, पढाउँछन् भन्ने गरिन्छ तर सङ्गठनको आकार सानो छ । यो प्रशिक्षणपछि सङ्गठनको विकासमा योगदान पुग्छ भन्ने आशा छ ?
:: तपाईंले ठिक कुरा उठाउनुभयो । अन्य राजनीतिक दलले मसालमा अलि बढी अध्ययन–अध्यापन हुन्छ भन्छन् । वास्तवमा बुझ्ने हो भने मसालमा मात्र होइन, कङ्ग्रेस, एमाले, माओवादी र अन्य दलमा पनि अध्ययन आवश्यक हुन्छ । अध्ययन नगरी अघि बढ्दा विगतका कतिपय आन्दोलन असफलतातिर गएका इतिहास छन् । अध्ययन गरिसकेपछि सबै कुरा शत्प्रतिशत तुरुन्तै व्यावहारिक परिणाममा आउँछ भन्ने त होइन तर नयाँ पुस्तालाई अध्ययनको महत्त्व बुझाउन यसले ठुलो टेवा पुर्याउँछ ।
माक्र्सवादी वा द्वन्द्वात्मक भौतिकवादी अध्ययनले मानिसलाई वैचारिक रूपमा परिपक्व र निस्वार्थी बनाउँछ । राजनीतिक फाइदाघाटा वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र देशको सेवा गर्न यस्तै अध्ययनले प्रेरित गर्छ । त्यसैले यो अध्ययनले पक्कै पनि सङ्गठन निर्माण र सुदृढीकरणमा सकारात्मक प्रभाव पार्नेछ ।
० प्रशिक्षणमा सङ्गठन सुदृढीकरणसम्बन्धी विषय पनि समेटिएका थिए ?
:: हो, सङ्गठन सुदृढीकरणका विषय पनि थिए । अहिलेको समाज र राजनीतिमा धेरैजसो मानिस अवसर, नाफा र घाटा खोजिरहेका हुन्छन् तर राजनीति नाफाघाटाका लागि नभई निस्वार्थ सेवाका लागि हुनुपर्छ । मानिस जन्मजात स्वार्थी हुँदैन, उसले पाउने शिक्षा, परिवार र समाजले उसको दृष्टिकोण तय गर्छ । यदि सही कार्यदिशा, सही अध्ययन र वातावरण मिल्यो भने मानिस सही बाटोमा लाग्छ । सङ्गठन सुदृढीकरणका लागि यो चेतना फैलाउनु आवश्यक छ ।
० यस प्रशिक्षणबाट फर्किएपछि राष्ट्रिय जनमोर्चाको सङ्गठन र सङ्घर्षको स्वरूपमा परिवर्तन आउने आशा गर्न सकिन्छ ?
:: परिवर्तनको सुरुआत पहिलो कुरा आफूबाटै हुनुपर्छ । म सही भएँ र मेरो दृष्टिकोण सही भयो भने मात्रै पार्टी र सङ्गठन सही हुन्छ । भ्रष्टाचार, लोभ र व्यक्तिगत स्वार्थमा लिप्त भएर सङ्गठन बन्दैन । हामीले समाज, गाउँ र देशलाई कसरी क्रान्तिकारी रूपमा रूपान्तरण गर्ने भन्ने सोच्नुपर्छ । यो शिक्षा हामीले गाउँघर र जनतामाझ लैजानेछौँ । परिवर्तन रातारात हुने कुरा होइन, यो कठिन र लामो यात्रा हो तर यसले सकारात्मक फरक पक्कै पार्नेछ ।
० गुल्मी फर्किएपछि त्यहाँको सङ्गठन विकास र सङ्घर्षलाई उचाइमा पुर्याउन के कस्ता कार्ययोजना बनाउनुभएको छ ?
:: गुल्मी फर्किएपछि हामी पार्टीको बैठक बसेर व्यवस्थित योजना बनाउनेछौँ । राष्ट्रिय जनमोर्चाको विशेषता के हो भने हामी सबैलाई अपनत्व दिन्छौँ । कोही पनि मानिस जन्मँदै कुनै पार्टीको निधारमा टिको लगाएर आएको हुँदैन । त्यसैले हामी सबै जनतासँग सहकार्य गर्छौँ । जनमोर्चा सबैको साझा चौतारी बन्नुपर्छ ।
हामी जिल्लामा गएर साङ्गठनिक आधार तयार गर्ने, विकासका योजनामा सहयोग पुर्याउने र पालिका तथा वडामा रहेका समस्या समाधान गर्न नेतृत्वसँग संवाद गर्नेछौँ । कङ्ग्रेस, एमाले वा माओवादी नभनी सबैलाई जानेका कुरा सिकाउने र उनीहरूबाट पनि सिक्ने काम गर्नेछौँ । जनताको चेतनास्तर उठाउन र राम्रा काममा सहकार्य गर्न हामी निरन्तर लाग्नेछौँ ।
० यो प्रशिक्षणपछि तपाईंहरूलाई व्यक्तिगत रूपमा पनि केही खास जिम्मेवारी दिइएको छ ?
:: छ, हामीलाई मुख्य जिम्मेवारी अध्ययनकै दिइएको छ । पार्टीले तोकेका महत्त्वपूर्ण पुस्तक निरन्तर अध्ययन गर्नुपर्छ । सिद्धान्त र व्यवहार नङ र मासुजस्तै हुन् । पुस्तक अध्ययन गर्ने, ग्राउन्डमा गएर जनताको बिचमा काम गर्ने, उनीहरूलाई सिकाउने र उनीहरूका अनुभवबाट आफूले पनि सिक्ने जिम्मेवारी हामीलाई दिइएको छ ।
० अन्त्यमा, युगदर्शन मिडियामार्फत केही भन्न चाहनुहुन्छ ?
:: युगदर्शन मिडियाले कार्यकर्ताको अन्तर्वार्ता लिने मात्र नभई देशविदेशमा रहेका नेपालीका वास्तविक समस्या उजागर गर्ने काम गरेको छ । वैचारिक र चेतनाको स्तर उठाउन तथा दूरदराजका यथार्थ समाचार निष्पक्ष रूपमा सम्प्रेषण गर्न यसले खेलेको भूमिका प्रशंसनीय छ । युगदर्शनले कहिल्यै झुटो वा तथ्यहीन कुरा गर्दैन, सधैँ यथार्थ समाचार प्रकाशित गर्छ । भविष्यमा पनि यसले निष्पक्षता, सत्यता र लोकप्रियतालाई कायम राख्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।