काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको भन्दै इतर समूहले आपत्ति जनाएको हो।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले कानून तथा विधान समितिमार्फत अदालतमा निवेदन दिने तयारी भइरहेको बताए। उनका अनुसार अदालत जाने मिति भने तय भइसकेको छैन।
यसअघि राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक शशांक कोइरालाले पनि निर्वाचन आयोग र कांग्रेसलाई पत्र पठाउँदै अदालतको अन्तिम फैसला नआएसम्म महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी गतिविधि तथा दीर्घकालीन निर्णय स्थगित गर्न आग्रह गरेका थिए।
सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि अनुमति दिएपछि विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइ हुने प्रक्रियामा छ।