भरतपुर । चितवन र नवलपरासी जोड्ने ‘सिग्नेचर ब्रिज’को शिलान्यास भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमाथि बन्ने पुलको सोमबार शिलान्यास गरेका हुन्।
पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।
यो पुल सिग्नेचर पुलहरुमध्येकै लामो हुनेछ। अर्थात् ४२० मिटर लामो पुल अहिलेको पुलको छेउमा निर्माण हुनेछ। भरतपुरकी मेयर रेणु दाहालका अनुसार यो एडभान्स टेक्नोलोजी ब्रिज हो।
सडक विभागका पुल महाशाखा प्रमुख ललितजंग खनालले पुलमा डबल लेनको सडक बन्ने जानकारी दिए।
उनले भने, ‘पुलको लम्बाइ ४२० मिटर हुनेछ। यसको चौडाइ १२ मिटर हुन्छ। जसमा डबल लेन हुन्छ।’
यसको ठेक्का समेत लागिसकेको छ। यसअनुसार तुँदी कन्स्ट्रक्सनले यो पुलनको डिजाइन र निर्माण गर्नेछ। यसको लागत १ अर्ब ६८ करोड रुपैयाँ छ।
पुलको शिलान्यासका क्रममा प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए।





