हेटौँडा । बागमती प्रदेश दुग्ध विकास बोर्ड हेटौँडाले केही दिनअघिदेखि धुलो दुधको परीक्षण उत्पादन सुरु गरेको छ ।
बागमती प्रदेश सरकारको ५० करोड ५८ लाख रुपियाँको लागतमा हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीस्थित दुधको प्लान्ट र भवनको हालै निर्माण सम्पन्न गरिएको बागमती प्रदेश कृषि विकास तथा पशुपक्षी मन्त्रालय हेटौँडाले जनाएको छ ।
प्रदेश दुध विकास बोर्डले नियमित दुध प्लान्ट सञ्चालन गरिरहेको अवस्थामा मकवानपुर र चितवनका किसानबाट दैनिक ६० हजार लिटर दुध सङ्कलन गरी धुलो दुध उत्पादन गर्ने लक्ष्यसहित उद्योग स्थापना गरिएको बोर्डका प्रवक्ता डा मन्दीप पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार अहिले दैनिक २५ देखि ३० हजार लिटर दुध सङ्कलन गरी धुलो दुध र बटरको उत्पादन गर्ने गरिएको छ ।
दुध प्लान्टलाई केही हप्ताभित्रै नियमित सञ्चालनमा ल्याउने अधिकार बोर्डलाई प्रत्यायोजित भएपछि मात्र उक्त प्लान्टबाट उत्पादन गरिएका धुलो दुध र बटर विदेश तथा स्वदेशका विभिन्न सहरमा आपूर्ति गरिने प्रवक्ता डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार योसँगै बोर्डले दैनिक करिब छ सय मेट्र्रिक टन धुलो दुध र बटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर प्रदेश दुग्ध विकास बोर्डलाई थप अधिकार प्रत्यायोजित नगरेसम्म बोर्डले थप निर्णय र दुध प्लान्टलाई नियमित सञ्चालन गर्न नसक्ने उहाँको भनाइ छ । साथै अहिले उत्पादित धुलो दुध र बटरलाई बजारको व्यवस्थापन गर्नसमेत कठिनाइ उत्पन्न भइरहेको बोर्डका कार्यकारी निर्देशक प्रतिज्ञा ज्ञवालीले बताउनुभयो ।
उहाँले अब केही हप्ताभित्रै नियमित धुलो दुध उत्पादन गर्ने कार्यतालिका बनाई उत्पादित दुध र बटर काठमाडौँ, भरतपुर, पोखरा, भैरहवा तथा विराटनगरलगायत विभिन्न सहरमा आपूर्ति गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
हेटौँडामा सञ्चालित दुध प्लान्ट नियमित सञ्चालन हुँदा प्रशासन, लेखा प्राविधिक, मजदुर गरी ६० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गर्ने बोर्ड कार्यालयले जनाएको छ । (रासस)