काठमाडौं । दक्षिण कोरियाले अब नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने भएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले यो वर्ष (सन् २०२४)देखि थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो ।
परीक्षा पास भएकाहरुलाई लैजान ढिलाइ हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिक रुपमा पत्रमार्फत नै जानकारी दिएको उनले बताए । यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने कोरियाली सरकारले बताएको पनि घिमिरेले जानकारी दिए ।
उनका अनुसार रुट इन्डस्ट्रीमा श्रमिक लैजान कोरियाले छनोट भएकालाई ‘स्क्राफोल्डिङ’को तालिम समेत दिइरहेको छ । मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङ, सर्फेस र हिट ट्रिटमेन्ट जस्ता प्रक्रिया प्रविधिहरू प्रयोग गरी व्यापार क्षेत्रको कामलाई ‘रुट इन्डस्ट्री’ भनिन्छ ।
सन् २०२३सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिप विल्डिङ क्षेत्रबाट मात्र कामदार लाँदै गरेकोमा सन २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत वर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको छ ।