गोपालप्रसाद भट्टराई / टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘कर्मशील जनशक्ति परिचालन कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।
बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी हुने र कर्मशील उद्यमीले तयार पारेका हस्तकलाका सामग्री विदेशमा निर्यात हुन थालेपछि उक्त कार्यक्रमको महत्त्व बढेर गएको हो ।
पालिकाका अनुसार स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम ल्याएको भूमिकास्थानले मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ बाट भूमिकास्थान नगरपालिकाले सुरु गरेको सो कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट १० जनाका दरले एक सय जना कर्मशील महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी र झोला निर्माण गर्न थालेपछि यसलाई व्यवसायिक रूपमै अगाडि बढाउन थालिएको छ ।
सो कार्यका निम्ति भूमिकास्थान नगरपालिकाका एक सय जना उद्यमी, नगरपालिका र बजारीकरणको जिम्मा लिएको ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँबिच गुणस्तरीय उत्पादन र बजारीकरणमा इमानदारितापूर्वक जिम्मेवारी पूरा गर्ने त्रिपक्षीय प्रतिबद्धता भएको छ ।
तालिमप्राप्त एक सय जना उद्यमी, नगरपालिका र तालिम तथा बजारीकरणमा सहजीकरण गर्दै आएको ओम राजश्रीका प्रतिनिधिबिच २०८० फागुन १७ गतृ बिहिबार पोखेडाँडामा बृहत् अन्तरक्रिया गरी यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।
गत कात्तिक १२ गतेदेखि पहिलो चरणमा ३० दिने, दोस्रो र तेस्रो चरणमा १५ र ५ दिने तालिमपश्चात् अहिले भूमिकास्थानका १० ओटै वडाहरूमा एक सय जना महिला उद्यमीले झोला र टोपी निर्माण गर्दै आएका छन् ।

नगरपालिकामा कर्मशील जनशक्ति परिचालन कार्यक्रम सञ्चालनमा ल्याएपछि भूमिकास्थानमा अहिले मकैभन्दा पोस्करको मूल्य बढी पर्ने भएको छ । घरको काम सकाएर अतिरिक्त समयमा महिला उद्यमीले मकैको पोस्कर र थाकलको पातबाट टोपी र झोला बनाउन सक्ने भएपछि भूमिकास्थानका नागरिकको अतिरिक्त आम्दानीसमेत थपिन थालेको छ । आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मूल्यवान हस्तकला सामानबाट नसोँचेको अतिरिक्त आम्दानी हुन थालेपछि स्थानीय बासिन्दा पनि दङ्ग छन् ।
गाईभैँसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्करबाट टोपी र झोला जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान ओम राजश्री मल्टिएग्रोले खरिद गरिदिने भएपछि भूमिकास्थानका किसानमा अर्को खुसी थपिएको हो ।
भूमिकास्थानका १० ओटै वडाबाट प्रतिनिधित्व गर्दै अहिले एक सय जनाले तालिम लिएर कर्मशील जनशक्तिको रूपमा काम गर्नयोग्य भएको नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ ।
‘खेर जाने पोस्करबाट आम्दानी दिने सामग्री बनाउन हामीले अभियान चलाएका छौँ’ नगरप्रमुख थापाले भन्नुभयो– ‘यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।’

उहाँले अगाडि थप्नुभयो– ‘सबैलाई उत्पादनमा जोडेर भूमिकास्थानलाई समृद्ध बनाउने लक्ष्य लिएका छौँ ।’
सुकेको पोस्करकै प्रतिकिलो एक सय ५० रुपैया, पोस्करबाट बनेको टोपी प्रतिथान छ सय रुपैया र झोला प्रतिथान पाँच सय रुपैयामा बिक्री हुन थालेपछि स्वरोजगारको अवसर सिर्जना भएको नगरप्रमुख थापाको तर्क छ ।
कर्मशील जनशक्ति परिचालनबाट तयार हुने सामग्री तथा उपजको बजारीकरणको ग्यारेन्टी भएसँगै भूमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइँसराइ रोकिने आँकलन गरिएको नगरउपप्रमुख बालकृष्ण बन्जाडेको धारणा छ ।
३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामग्रीसमेत नगरपालिकामार्फत ओम राजश्री मल्टिएग्रोले खरिद गरी पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भूमिकास्थानका किसानको रहर जागेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यको भनाइ छ ।
तालिम अवधिमा एक सय जना उद्यमीले तयार पारेका हस्तकला सामाग्री टोपी र झोला विक्रीबाट तीन लाख १२ हजार रुपैया उद्यमीले आम्दानी गरिसकेको भूमिकास्थानका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिकास्थानका १० ओटै वडामा पोस्कर र थाकलबाट तयार भएका सामग्रीलाई सङ्कलन र बजारीकरण गर्न भूमिकास्थानले कोशेलीघर स्थापना गर्ने योजनासमेत बनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ओम राजश्री मल्टिएग्रोका प्रबन्ध निर्देशक युवराज गैरे, नेपाल पत्रकार महासङ्घका जिल्ला सदस्य गोपालप्रसाद भट्टराई र कर्मशील उद्यमीका प्रतिनिधिले आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरूले कर्मशील जनशक्ति परिचालन अभियान निकै प्रभावकारी रहेको भन्दै यसलाई सफल पार्न सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।
भूमिकास्थानका जनप्रतिनिधि, कर्मचारी, बजारीकरणको जिम्मा पाएको ओम राजश्रीका प्रतिनिधि, कर्मशील महिला उद्यमी र सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न बृहत् अन्तरक्रिया कार्यक्रममार्फत् कर्मशील जनशक्ति परिचालन कार्यक्रमलाई सफल पार्न सबैले हातेमालो उद्घोष गरिएको भूमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले बताउनुभयो ।
