काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमा प्राविधिक समस्या आउँदा ग्राउन्डेड भएको छ ।
जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नुपरेको हो ।
ग्राउन्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई माघ २ गते साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उहाँले जानकारी दिनुभयो ।
‘हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुलाई आज साँझ ७:४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ’ प्रवक्ता पौडेलले भन्नुभयो ।
निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि नेवानिसँग दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौँबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो ।





