सिरहाबजार । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बिउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ ।
यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बिउ भनेर रु ४५ प्रतिकिलोमा ४० किलो गहुँको बिउ ल्याई आठ कट्ठा खेतमा छर्नुभयो । छ दिनमा बिउ उम्रिएर नौ दिनमा दुई पात हुनुपर्ने गहुँ १५ दिन बित्दा पनि उम्रिएन ।
‘मलखाद्य, ट्र्याक्टरको जोताइ, ज्याला सबै खेर गयो, खेत बाँझै रह्यो, मेरो त बिल्लीबाठै भयो हजुर, कसरी जहान, बालबच्चा पाल्ने ?’ यादवले भन्नुभयो– ‘हामी माटोमा परिश्रम गर्ने किसानमाथि यस्तो अन्याय गर्न हुन्छ र ? कसले दिने क्षतिपूर्ति ? हाम्रो आवाज कसले सुन्छ ?’
सोही वडाकी देवकुमारी यादवको पनि पीडा उस्तै छ ।
‘भएको खेत पनि बाँझै रह्यो, धेरै फल्छ भनेर उन्नत बिउ सम्झेर ल्याएको, गहुँको बिउ नगरपालिकाले दियो तर नक्कली र पुरानो बिउ बाँडेछ, एउटा गेडो पनि उम्रिएन’ उहाँले भन्नुभयो– ‘नगरपालिकाले हामीलाई क्षतिपूर्ति दिनुपर्छ ।’
नगरपालिकाले किसानका लागि दुईपटक गरी अनुदानमा गहुँको बिउ वितरण गरेको थियो । अघिल्लो पटकमा साल्ट ट्रेडिङ कार्यालय लहानबाट बिउ खरिद गरी किसानलाई वितरण गरिएको थियो । उक्त बिउमा कुनै समस्या नभएको किसानले बताएका छन् । बिउको माग बढेपछि नगरपालिकाले नै सुनसरीको देवानगञ्जस्थित कुशवाहा बीज भण्डारबाट दोस्रोपटक गहुँको बिउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।
उक्त आदित्य जातको एक सय १० क्विन्टल गहुँको प्रतिकिलो रु ४५ मा किसानलाई वितरण गरिएको थियो । सो बिउ लैजाने करिब पाँच सय ५० किसानको गहुँको बिउ नउम्रेपछि खेत बाँझै भएको हो । गहुँ नउमे्रपछि किसानको ट्र्याक्टर जोताइ खर्च, डिएपी मल र पोटास छरेको खर्च, ड्याङ बनाउन लागेको मजदुर खर्च र बिउ किनेको खर्च पनि डुबेको छ ।
अब दोहोर्याएर छर्न पनि गहुँको समय ढिलो भइसकेको छ । ढिलोगरी छरेको गहुँ मौसम नमिलेर नफल्ने र फागुन, चैतको पश्चिमी तातो वायुले गहुँको बाला नै सुकाइदिने किसानको भनाइ छ । पाँच सय ५० किसानको करिब एक सय १० बिघा जग्गा बाँझो रहँदा गहुँको उत्पादन न्यूनतम पनि दुई हजार दुई सय क्विन्टल नोक्सानी हुने छ ।
कतिपय किसान दोहोर्याएर नयाँ बिउ खरिद गरी छर्ने तयारीमा छन् भने धेरैको खेत बाँझै हुने भएको छ ।
‘खेती गर्दागर्दै कपाल सेतै भयो तर यस्तो हत्ते कहिले आइलागेको थिएन’ ५७ वर्षीय किसान रासोभित यादवले भन्नुभयो– ‘सँगै छरेको जहुँ उम्रियो तर गहुँ उम्रिएन फेरि गाउँमै रु ६० किलोका दरले अर्को बिउ किनी दोहोरो खर्च लगाएर छरेको छु तर ढिलो लगाएको खेती उब्जनी होला भन्ने आशा कमै छ ।’
साल्ट ट्रेडिङको बिउ राम्रो भए तापनि पछिल्लोपटक सुनसरीबाट ल्याइएको बिउमा समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख अशोक पासवान बताउनुहुन्छ ।
‘साल्ट ट्रेडिङको बिउ लैजाने सबै किसानको गहुँ राम्रो उम्रिएको छ, गहुँको बिउ माग्ने किसानको चाप बढेपछि पुन: रु ११ लाख बराबरको एक सय १० क्विन्टल गहुँको बिउ मगाइयो तर पछिल्लोपटक आएको बिउमा धेरै सिकायत आयो, दैनिक दर्जनौँ किसान कृषि शाखा घेराउ गर्न आउँछन्, गहुँको बिउ उम्रिएन, क्षतिपूर्ति देउ भन्छन्, हामीले के गर्नु ? के नगर्नु ? अप्ठ्यारोमा परेका छौँ’ पासवानले भन्नुभयो ।
नगर प्रमुख शिवशङ्कर महतो भने बाहिर हल्ला गरिए जस्तो अवस्था नरहेको बताउनुहुन्छ । गहुँको बिउ नक्कली भएको भन्ने आशङ्का नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर बिउ खरिद गरिएको हो, दुईचार जना किसानको खेतमा चिस्यान नभएर गहुँ नउम्रिएको होला ।
खेत बाँझै हुने किसानको क्षतिपूर्ति सम्बन्धमा नगरप्रमुख महतोले क्षतिपूर्ति दिनैपरे बिउको पैसा मिनाहा गरिदिने बताउनुभयो । उहाँले आफू कामविशेषले काठमाडौँमा भएको र केही दिनमा फर्केपछि यस सम्बन्धमा थप अध्ययन गर्ने जानकारी दिनुभयो ।
किसानबाटै कर उठाउने जनताको नजिकको सरकारले किसानलाई राहत दिनुको सट्टा यसरी आहत दिनु दु:खद् भएको राष्ट्रिय कृषि समूह महासङ्द्ध मधेस प्रदेशका निवर्तमान अध्यक्ष मुक्ति यादवको भनाइ छ । पालिकाको बिउ खरिद प्रक्रियालगायतमा सरोकारवालाको ध्यान पुग्नुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सबैले खबरदारी गर्नु आवश्यक रहेको यादवको भनाइ छ । (रासस)